सोमबार, १७ वैशाख २०८१
ताजा लोकप्रिय

सम्झनामा मात्र रह्यो गाउँघरको त्यो दशैँ

बुधबार, ०१ कात्तिक २०८०, १० : ३३
बुधबार, ०१ कात्तिक २०८०

बीस वर्षअगाडि अन्तिम पटक गाउँको घरमा दसैँ मनाएको थिएँ । क्षितिज पारि देखिने बादलका धर्सा जस्तै ती क्षणका धमिला धर्सा यस मानसपटलबाट मेटिइहाल्न सकेको छैन । यो बीचमा घरदेश र परदेश आउजाउका क्रममा विभिन्न आरोह अवरोह भए । 

समय बित्यो । मान्छे फेरिए । बच्चा तन्नेरी भए । तन्नेरी विदेश या सहर बजार लागे । प्रौढहरू वृद्ध भए र वृद्ध वृद्धाहरूमध्ये पनि कतिपय यस धर्तीबाट बिदा लिए । गाउँठाउँ फेरियो, आफू खेल्ने घुम्ने ती खोला, बगर, जङ्गल खेतबारी अब बिराना भए । बाल्यकालमा सँगै खेलेपढेका साथीभाइ पनि बिरलै भेटिन्छन् । यसबीचमा निस्दी खोलामा धेरै पानि बगिसकेको छ र त्यो क्षण फेरि नदेखिने गरी अतितको पर्दाभित्र लुकिसकेको छ । 

स्मृतिको धरातलमा अवतरण गरेर नियाल्दा अब त ती पलको याद गर्न पनि मुस्किल हुन लागिसक्यो । त्यतिबेला समय अर्कै थियो । अहिलेको जस्तो एक्लै आफू आफैँमा हराउने भर्चुअल दुनिया थिएन । बरु रेडियोमा बज्ने मङ्गल धुनले पनि दसैँ पक्कै आएछ भन्ने लाग्थ्यो । दसैँ आउन लागेपछि वर्षायाममा बिग्रेका र झाडीले ढाकेका गोरेटो बाटा चौडा पार्ने मर्मत गर्ने, दसैँका लागि भनेर सोज सङ्ग्रह र किनमेल गर्नेको लर्काे, अनि गाउँघरमा स्वदेशी सहर या विदेशमा गएकाहरू फलानो आयो, ढिस्कानो आउंदै छ, फलानो त यसपालि आउँदैन रे भन्ने चर्चा परिचर्चा चल्थ्यो । लेकालीहरू घर लिपपोत गर्नका लागि अलिक छिट्टै रातोमाटो लिन डोको बोकेर लस्करै लागेर आउँथे । हामी वरपरका या फाँटमै हुनेहरूलाई रातोमाटोको समस्या नभए पनि सेतो माटो चाहिँ रातको समय पारेर खोला पारिको पहिरोमा चोर्न जानु पथ्र्याे । दिउँसो गएर कमेरो ल्याउँला भन्नु पर्दैनथ्यो । दसैँको बेला आमाहरू अलिक व्यस्त हुने हुनाले अरू दिन आमाले गर्ने कामसमेत हामीले गर्नुपथ्र्याे । 

दसैँको बेला हामी आफैँ घरका भित्तामा कमेरो र झ्याल ढोकामा कालो रङ लगाउँथ्यौँ । आमा भाउजुहरू दसैँको दुनाटपरीका लागि भनेर डोको बोकेर सालको पात टिप्न जानुहुन्थ्यो । हामी भने दसैँ छुट्टीभरीलाई स्कुलबाट दिएको होमवर्क रातदिन गरेर एक दुई दिनमै सकेर पढाइको टेन्सनबाट मुक्त भएर बस्थ्यौँ । दसैँको छुट्टीभरी नै दिउँसो गाई गोठालो जान्थ्यौँ । घरको अँध्यारो कुनामा छरेको जमरा केही दिनमै उम्रिन्थे । कसको घरमा कत्तिको जमरा उम्रेको छ भनेर एक अर्काे घरको हेर्ने र दाँज्ने गथ्र्यौं । 

दसैँमा बिहान उठेदेखि रातिसम्म पिङमै झुन्डिन मन लाग्थ्यो । जति खेले पनि धोको नपुग्ने उमेर थियो । दसैँ आउनुभन्दा अगाडिदेखि नै गाउँघरमा रोटे र लिङ्गे पिङ हाल्ने या मर्मत गर्ने चर्चा हुन्थ्यो । लिङ्गे पिङका लागि प्रायः गाउँका भाइसाथीले ठुली एकादशीमा केलादीमा तारेको तोरण बेलुकी बजार सकिने बेलातिर अर्काे सालको दसैँमा पिङ हाल्न भनेर ल्याउँथे । त्यसैले काम चल्थ्यो । लिङ्गो गाड्नु पनि पर्दैनथ्यो । आँप या पिपलका ठुला रुख नै हुन्थे । दसैँबाहेक अरू दिन भने प्रायः बेलुकी घरका सबै काम सकेपछि मात्रै रोटे पिङ खेल्न जान्थ्यौँ । 

दसैँमा कहाँ जाने भन्ने सबैका योजना हुन्थ्यो । तर हाम्रो मामाघर अलिक टाढा भएकोले हामी बिरलै जान्थ्यौँ । अरू मामाघर गएको देख्दा नरमाइलो चाहिँ अवश्य हुन्थ्यो । हाम्रो बुबा छुट्टिए पनि दसैँको कारोबार सबै सगोलमै हुन्थ्यो । त्यसको खटनपटन हजुरआमाले गर्नुहुन्थ्यो । हाम्रो दुई परिवारलाई एकताको सूत्रमा बाँध्ने धरोहर हुनुहुन्थ्यो हजुरआमा । अहिले भने त्यो ठूलो परिवार छिन्नभिन्न भएर पृथ्वीको वल्लो ध्रुवदेखि पल्लो ध्रुवसम्म बाँडिएको छ । त्यसरी जमघट हुन चाहेर पनि सकिन्न अब । नेपालमै हुनेहरू पनि कोही कता कोही कता छरिएर रहेकाले वर्ष दिनको दसैँमा मात्रै भेट हुन पनि मुस्किल हुन लागिसक्यो । 

हाम्रो घरमा प्रायः सबै जसो शाकाहारी भएकाले खसी काट्ने चलन थिएन । त्यसैले घरमा चाहिँ दूध, घिउको बढी प्रयोग हुन्थ्यो । अरू खालका शाकाहारी परिकार बन्थे । तैपनि मासु नखानेलाई त दसैँको के नै रमाइलो पो होला र भन्थे । हामीलाई भने त्यस्तो लाग्दैनथ्यो । घरमा मासु नखानेभन्दा मासु खाने सदस्य निकै कम भएकाले खानेहरूले चाहिँ खसीको मासु बाहिरबाट ल्याएर पकाउनुपथ्र्याे । राति तीन चार बजेदेखि नै मट्टीतेलको बत्ति बालेर आमासानिमा दिदीबहिनी भाउजुहरू ढिकीमा पिठो कुट्न व्यस्त हुनुहुन्थ्यो । उज्यालो हुँदा रोटी पकाउने पिठो तयार भइसक्थ्यो । 

पहिले बुबाले दसैँको शुभ साइतमा बन्दुक पड्काउनु हुन्थ्यो । पछि पछि कोट घरमा बन्दुक पड्केपछि टीकाको साइत सुरु हुन्थ्यो । साइत सुरु हुनुभन्दा पहिल्यै सबै जना मन्दिरमा जम्मा हुन्थ्यौँ । टीका लगाउन दुई घरका हामी जम्मा हुँदा मन्दिरमा बस्ने गरालीसमेत खाली हुँदैनथ्यो । हाम्रो घरमा जेठो रोलबाट टीका लगाइदिने हुनाले सबैभन्दा पहिले बुबाको पालो हुन्थ्यो । हजुरआमाले बुबालाई टीका लगाइदिएपछि बुबा र हजुरआमाले अङ्कललाई । त्यसै गरी हरेक चोटि जति कान्छो रोलतिर गयो उति उति एक एक जना टीका लगाइदिने सदस्य थपिँदै जान्थे । प्रत्येक जनालाई गोडामा ढोग्नुपर्ने हुनाले झनै घुइँचो हुन्थ्यो । टीका लगाइदिँदा खासगरी हजुरआमाले सुरुमा भगवती देवीको आशीर्वाद दिँदै आयु पूरा होस्, रोगव्याध नलागोस्, सबैको गन्यमान्य होस् भन्दै आशीर्वाद दिनुहुन्थ्यो । 

टीका सकिएपछि हजुरआमाबाहेक सबैजना वरपरका हजुरबा, काका, ठुलाबाका घरमा टीका थाप्न जान्थ्यौँ । नजिक हुँदी सबै सकिएपछि घर आएर खाना खान्थ्यौँ । अनि मात्रै मावली, माइती ससुराली जाने तयारी हुन्थ्यो । 

त्यो समय यातायातको सुविधा थिएन । टाढा जानेहरू रात साँझ पुग्ने गरी भए पनि दिनभरी घाममा हिँडेरै जानुपर्ने हुन्थ्यो । माइत, मावल, ससुराली कतै नजानेहरूको दिन भने नरमाइलो हुन्थ्यो । घर बस्नेले घरको काम सबै गर्नुपथ्र्याे । गाउँघरमा सञ्चारको मध्यम रेडियो मात्रै भएको जमानामा मोबाइल हुन्छ भन्नेसमेत थाहा नभएकाले अहिले जस्तो दसैँको टीकाको महत्त्वभन्दा पनि विभिन्न पोजमा टीका लगाएको फोटो कतिखेर फेसबुकमा हाल्ने भन्ने चलन थिएन । 

हिजो आज त खै गाउँघर कस्तो छ कुन्नि । पहिले जस्तो रौनक त पक्कै छैन होला । पहिले जस्तो रोटे पिङ, लिङ्गेपिङ मच्चिँदैनन्, बाटोघाटो खन्ने चटारो छैन, मोटर गुड्ने हुनाले बाटो घाटो त्यसै चौडा छन् । रातोमाटो र कमेरोले लिपेको घरहरू देख्नसमेत दुर्लभ हुन लागिसक्यो । युवाहरू गाउँमा छैनन् । भएका पनि सुविधा खोज्दै सहर बजार पसिसके । लेकलीहरू पनि पहिले जस्तो डोको बोकेर माटो लिन फाँटतिर झर्न छाडे । भाउजूबुहरीहरू सालको पात टिप्न डोको बोकेर पहिले जस्तो जङ्गल जाँदैनन् । कोटघरमा पहिले जस्तो बन्दुक पड्किँदैन, बाजा बज्दैनन्, जन्ती झैँ लर्काे लागेर बाजा बजाउँदै नाच्दै र गाउँदै पञ्चबलि दिन जानेको हुल देखिँदैन ।

समय फेरिए पनि विकासक्रमले जति ठूलो फट्को मारे पनि हामी त्यही संस्कृति र रीतिरिवाजमा जन्मे हुर्केका हौँ । हामीले आफ्नो संस्कृति र रीतिरिवाजको जगेर्ना र संरक्षण नगरे कसले गर्ने ? अहिले त झन् गणतन्त्र आएपछि विभिन्न धर्म समुदाय, सम्प्रदाय र संस्कृतिका मान्छेहरूले आफ्नो गुमेको पहिचान खोज्दै संरक्षण गर्न लागिपरेका छन् । यो अवस्थामा हिन्दु धर्ममा चारैतिरबाट आक्रमण हुन लागेको आभास भइरहेको छ । भित्रभित्र यसलाई मेटाउने प्रपञ्च रचिन थालिएको छ । त्यसैले आफ्नो सांस्कृति बचाइराख्न हामीले आआफ्नो ठाउँबाट अझै सशक्त रूपमा मनाउनु जरुरी छ । जो जहाँ जस्तो अवस्थामा छौँ सकेसम्म सम्पूर्ण विधि, श्रद्धा र भक्तिपूर्वक यो चाड मनाऔँ । देखावटी र भड्काउको पछि नलागौँ । देवीलाई खुसी पार्न भन्दै आफ्नै स्वार्थसिद्धीको लागि सकभर अरू प्राणीको ज्यान लिने काम बन्द गरौँ । आपसमा सहृदयता र भाइचारा बढाऔँ ।

हाम्रो घरआँगनमा दसैँले विधिवत रूपमा पदार्पण गरिसकेको छ । यसलाई सबैले हर्साेल्लास र उमङ्गपूर्वक मनाऔँ । आपसमा खुसी बाडौँ । सबैलाई दुर्गा भवानीले सबैको रक्षा गरून्, शुभकामना ।

बुटवल

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

भगवान घिमिरे
भगवान घिमिरे
लेखकबाट थप