सोमबार, १७ वैशाख २०८१
ताजा लोकप्रिय
पूर्वराजाको सन्देश

जनताले खोजेको र रोजेको सही पात्रबाट काम अघि बढाउन पाउनुपर्छ : ज्ञानेन्द्र शाह

शुक्रबार, ०३ कात्तिक २०८०, १८ : १२
शुक्रबार, ०३ कात्तिक २०८०

काठमाडौँ । पूर्वराजा ज्ञानेन्द्र शाहले जनताले खोजेको र रोजेको सही पात्रबाट जनहितमा गतिलो काम अघि बढाउन पाउनुपर्ने बताएका छन् ।  विजया दशमी २०८० को उपलक्ष्यमा सन्देश जारी गर्दै शाहले  देश र जनता माथि अब कुनै प्रकारको घात हुन नहुने चाहना व्यक्त गरेका हुन् ।

व्यक्तिगत स्वार्थ, दलीय भागबण्डा, आपसी राजनीतिक द्वन्द्व, चरम भ्रष्टाचार र बेथितिबाट जनता आजित भएको शाहले बताएका छन् ।  यस्तो अवस्थामा जनताले उत्साह, उल्लास र उमङ्गका साथ चाडबाड मनाउन पाउनु त कता कता साँझ बिहानको जीवन यापन पनि कष्टकर बन्दै गएको त छैन ? भनेर प्रश्न समेत गरेका छन् । ‘ डेढ दशक यताका अवधिमा नेपाली उतिविधी उत्साहमा छैनन्, हर्षित छैनन् । हाम्रो एक तिहाइ जनसङ्ख्या देश बाहिर छ । विदेशिएका र देशमै रहे बसेका दुबै थरीमा बिछोडको पीडा छ । महँगी, रोग, शोक, र भोकको ताप छ । हामीले नजिकबाट नियालेर हेर्दा र बुझ्दा जनता अति नै निराश र हताशमा छन् । हामी निरन्तर परनिर्भर हुँदै जानुले हाम्रो आर्थिक अवस्था जर्जर बन्दै गएको छ । लोकहित र अग्र गतिको नाममा भनेर आएको परिवर्तनले न राम्रो गयो, न सुधार आयो । हाम्रो देश झन् झन् खराबी तिर गयो भन्ने आम जनगुनासो हाम्रा गाउँ, सहर, लेक, बेसी, कुना कन्दरा सबैतिर सुनिन्छ,’ शाहले विज्ञप्तिमा भनेका छन् ।

यस्तो छ शाहको शुभकामना सन्देश :

प्यारा नेपाली दिदी बहिनी तथा दाजु भाइहरू,

नेपालीहरूको महान् राष्ट्रिय पर्व बडा दसैँ हाम्रा घर आँगनमा आइपुगेको छ । असत् माथि सत्को विजय दर्साउने यो पर्वले हामीलाई सही, सत्य देवी शक्तिको संवर्द्धन गर्न प्रेरणा प्रदान गर्दछ । देश तथा विदेशमा रहे बसेका सबै नेपालीहरूमा हामी मंगलमय शुभकामना व्यक्त गर्दछौँ ।

हिमाल, पहाड र तराइमा बसोबास गर्ने जो विविध वर्ग, समुदाय र विभिन्न सनातनी संस्कृति जे जुन भित्र रहे पनि अन्ततः हामी सबै नेपाली हौँ । यो साझा फूलबारीलाई सजाउनु, सिंगार्नु अनि यसको माली बनेर यो सुन्दर बगैँचाको संरक्षण गर्नु हाम्रो साझा दायित्व हो । हामी सबै स्वतन्त्र सार्वभौम नेपाल राष्ट्रका होनहार सन्तति हौँ भन्ने हेक्का हामीमा रहनै पर्दछ । कसैले कसैप्रति निषेध र निन्दा नगर्ने सबैले सबैको आस्था उपर उदारभाव राख्न हाम्रो प्रयत्न हुनै पर्दछ ।

धर्ममा नम्रता, संसारमा जस्तै महिमाको बाटो हो । अभाव र भेदभाव नेपालीपन होइन । सद्भाव विनाको राष्ट्र परिकल्पना पनि गर्न सकिँदैन ।

डेढ दशक यताका अवधिमा नेपाली उतिविधी उत्साहमा छैनन्, हर्षित छैनन् । हाम्रो एक तिहाइ जनसङ्ख्या देश बाहिर छ । विदेशिएका र देशमै रहे बसेका दुवै थरीमा बिछोडको पीडा छ । महँगी, रोग, शोक, र भोकको ताप छ । हामीले नजिकबाट नियालेर हेर्दा र बुझ्दा जनता अति नै निराश र हताशमा छन् । हामी निरन्तर परनिर्भर हुँदै जानुले हाम्रो आर्थिक अवस्था जर्जर बन्दै गएको छ । लोकहित र अग्र गतिको नाममा भनेर आएको परिवर्तनले न राम्रो गयो, न सुधार आयो । हाम्रो देश झन् झन् खराबी तिर गयो भन्ने आम जनगुनासो हाम्रा गाउँ, सहर, लेक, बेसी, कुना कन्दरा सबैतिर सुनिन्छ ।

व्यक्तिगत स्वार्थ, दलीय भागबण्डा, आपसी राजनीतिक द्वन्द्व, चरम भ्रष्टाचार र बेथितिबाट जनता आजित छन् । यस्तो अवस्थामा जनताले उत्साह, उल्लास र उमङ्गका साथ चाडबाड मनाउन पाउनु त कता कता साँझ बिहानको जीवन यापन पनि कष्टकर बन्दै गएको त छैन ?

जनताले खोजेको र रोजेको सही पात्रबाट जनहितमा गतिलो काम अघि बढ्न पाउनु पर्दछ । देश र जनता माथि अब कुनै प्रकारको घात हुनु हुँदैन - हाम्रो यही चाहना हो ।

श्री नवदुर्गा भवानीले हामी सबैलाई राष्ट्र र राष्ट्रवासीको हित चिन्तन गर्ने सद्बुद्धि प्रदान गरून् ।

जय नेपाल ।

मिति २०८० कार्तिक ३ गते

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप