लुम्बिनी प्रदेशमा घुम्न लायक यी हुन् पाँच प्रमुख गन्तव्य
बुटवल । दसैँमा अलि लामो बिदा हुने र घुम्ने मौसम भएकाले साथीभाइ तथा परिवार मिलेर यो अवसरमा घुम्ने चाहना धेरैलाई हुन्छ । दसैँका अवसरमा घुम्न जाने सोच बनाएकाहरूका लागि लुम्बिनी प्रदेशका केही ठाउँ उपयुक्त गन्तव्य हुन सक्छन् ।
लुम्बिनी प्रदेश पर्यटन बोर्डका निर्देशक रामु जोशीले लुम्बिनी प्रदेशमा धार्मिक तथा पर्यटकीय क्षेत्र धेरै रहेको बताउँछन् । उनले प्रदेशमा तराईका समथर भूभागमा रहेका धार्मिक र ऐतिहासिक स्थल हुन् वा पहाडको काखमा रहेका मनोरम दृश्य, सहज गन्तव्य र धेरैको ध्यान तान्न सक्ने ठाउँ धेरै रहेको बताए । प्रदेश पर्यटन बोर्डले १०० नयाँ गतव्यहरुको खोजी गरिरहेको समेत उनले रातोपाटीलाई बताए ।
संस्कृतिविद् प्राध्यापक डा जितु गिरीले बुद्ध जन्मेको लुम्बिनी, हुर्केको तिलौराकोटदेखि प्युठानको स्वर्गद्वारी, गुल्मी रेगुङ्गा लगायतका ठाउँमा घुम्न उपयुक्त हुने बताए । उनले बाँके–बर्दिया राष्ट्रिय निकुञ्ज, पाल्पाको रानी महल, बाँकेको बागेश्वरी मन्दिर पनि लुम्बिनी प्रदेशका प्रमुख पर्यटकीय क्षेत्र रहेको बताए ।
लुम्बिनी : धार्मिक पर्यटन स्थल

लुम्बिनी प्रदेशको सबैभन्दा महत्त्वपूर्ण धार्मिक पर्यटक स्थलको रूपमा लुम्बिनी प्रख्यात छ ।
रुपन्देहीको लुम्बिनी सांस्कृतिक नगरपालिकामा पर्ने यो ठाउँमा जान भैरहवा विमानस्थलबाट २२ किलोमिटर र बुटवलबाट ४० किलोमिटर यात्रा गर्नुपर्छ ।
लुम्बिनी शान्तिका अग्रदूत गौतम बुद्धको जन्मभूमि हो । ईसा पूर्व ६२३ मा यहाँको बगैँचामा मायादेवीको कोखबाट बौद्ध प्रणेता गौतमबुद्धको जन्म भएको हो । सन् १९९७ देखि यो स्थल विश्व सम्पदा सूचीमा समावेश छ ।
यो भूमि संसारभरका बौद्ध मार्गी र शान्तिप्रेमीहरूका लागि विश्व शान्तिको रूपमा प्रसिद्ध छ । लुम्बिनी विकास कोषका सूचना अधिकारी डा हरिध्वज राईका अनुसार दसैँमा नेपालीसँगै अन्य देशका नागरिक पनि तुलनात्मक रूपमा यहाँ धेरै आउने गरेका छन् ।
पाल्पाको रानी महल : नेपालको ताजमहल

लुम्बिनी पर्यटन बोर्डले पाल्पाको रानी महललाई पनि पर्यटकीय गन्तव्यका रुपमा राखेको छ ।
पाल्पाको तानसेन बजारबाट ८ किलोमिटर उत्तर कालीगण्डकीको किनारमा रहेको रानी महललाई नेपालको ताज महल पनि भनिन्छ ।
यो महल तत्कालीन पाल्पा राज्यका राजा खड्ग शमशेरले आफ्नी दिवङ्गत पत्नी तेजकुमारीको सम्झनामा बनाएका हुन् । पछिल्लो समय यो महल हेर्नका लागि जाने पर्यटकको संख्या उल्लेख्य रहने गरेको छ ।
पछिल्ला वष हिल स्टेसनको रूपमा प्रचार गरिएपछि यहाँ भारतीय पर्यटक पनि उल्लेख्य संख्यामा आउने गरेका छन् । प्रदेश सरकारले रानी महलसम्म जाने सडक निर्माण गरेसँगै यहाँ जान सहज भएको छ । खान र बस्न होमस्टे तथा होटल पनि उपलब्ध छन् ।
प्युठानको स्वर्गद्वारी मन्दिर

प्युठान जिल्लाको सदरमुकाम खलङ्गाबाट करिब २६ किलोमिटर पश्चिममा रहेको धार्मिक पर्यटकीय स्थल स्वर्गद्वारीमा पौराणिक कालमा पाण्डवहरू स्वर्ग जाँदा यही बाटो भएर गएको जनविश्वास छ । त्यसैले यो स्थानको नाम स्वर्गद्वारी रहेको स्थानीय बताउँछन् ।
संस्कृतिविद् प्राडा जितु गिरीले स्वर्गद्वारीमा पुगेपछि मनले चिताएको पूरा हुने जनविश्वास रहेको बताए । उनले यो स्थान पौराणिक कालखण्डको कथासँग जोडिएको बताए । यहाँ स्वदेशी र भारतीय पर्यटक धेरै आउने गरेका छन् ।
गुल्मीको रेसुङ्गा

विशेष सांस्कृतिक तथा प्राकृतिक सम्पदा मानिने रेसुङ्गा भृगु ऋषिको तपो भूमि, रुरुको शिरोभाग, पुलस्त्य पुलह ऋषिको तपो भूमि, महर्षि, राजर्षि, देवर्षि स्थल रहेको संस्कृतिविद् प्राध्यापक डा जितु गिरीले बताए ।
तम्घास माथिको डाँडो रहेको रेसुङ्गामा धार्मिक महत्त्वसँगै रमणीय हरियाली दृश्य देखिने भएकाले पर्यटक आकर्षित हुने गरेका छन् । यहाँबाट तराईका फाँटदेखि भारतको भूभागसमेत देख्न सकिन्छ ।
गुल्मी रेसुङ्गा नगरपालिकाले अहिले ‘जाऊ हिँड रेसुङ्गा’ भन्ने अभियान चलाएको छ । नगरपालिका मेयर खिलध्वज पन्थीले रेसुङ्गाको आफ्नै महत्त्व र इतिहास रहेको भन्दै बाह्य पर्यटक भित्र्याउन अभियान नै थालेको बताए ।
अर्घाखाँचीको सुपा देउराली मन्दिर

लुम्बिनी प्रदेशमा आस्थासँग जोडिएको गन्तव्य अर्घाखाँचीको सुपा देउराली मन्दिर हो ।
कपिलवस्तुको गोरुसिङ्गे–सन्धिखर्क सडक खण्डको सुपा खोलाको पश्चिम क्षेत्रमा नरपानी र फलामे दुई अग्ला महाभारत पर्वत शृङ्खलाको बिचमा झन्डै ४ हजार ५ सय फिटको उचाइको खोँचमा यो मन्दिर अवस्थित छ ।
यहाँ भाकल र दर्शन गरेपछि आँटेको काम सफल हुने जनविश्वास छ । अहिले पनि यहाँ भाकल गर्ने र भाकल चढाउन जानेहरू धेरै भेटिन्छन् ।
यहाँ भाकल गरेपछि मनोकामना पूरा हुने र भाकल गरेर चढाउँछु भनेको कुरा नचढाएमा देवी रिसाउँछिन् भन्ने मान्यता छ ।
खास गरी यहाँ एकादशी, औँसी, कृष्ण जन्माष्टमी, ऋषि पञ्चमी, शिवरात्रि, राम नवमी लगायतका पर्वमा पूजा गर्ने र भेटी चढाउनेको भिड हुने गर्दछ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
बझाङ केन्द्रबिन्दु भएर भूकम्पको धक्का
-
देशभर मनसुनी वायुको प्रभाव, आज यी चार प्रदेशमा भारी वर्षाको सम्भावना
-
कस्तो रहला तपाईँको आजको दिन ? हेर्नुहोस् राशिफल
-
धान रोपाइँमा हराए गोरु र राँगा, बढ्यो ट्याक्टर र पावर टिलरको प्रयोग
-
सुदूरपश्चिम चलचित्रकर्मी सङ्घ गठन
-
काठमाडौँ उपत्यकामा दुर्घटना १९ प्रतिशतले घट्यो
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण