शुक्रबार, २१ वैशाख २०८१
ताजा लोकप्रिय
दसैँ विशेष

लुम्बिनी प्रदेशमा घुम्न लायक यी हुन् पाँच प्रमुख गन्तव्य

शनिबार, ०४ कात्तिक २०८०, १२ : ४०
शनिबार, ०४ कात्तिक २०८०

बुटवल । दसैँमा अलि लामो बिदा हुने र घुम्ने मौसम भएकाले साथीभाइ तथा परिवार मिलेर यो अवसरमा घुम्ने चाहना धेरैलाई हुन्छ । दसैँका अवसरमा घुम्न जाने सोच बनाएकाहरूका लागि लुम्बिनी प्रदेशका केही ठाउँ उपयुक्त गन्तव्य हुन सक्छन् ।

लुम्बिनी प्रदेश पर्यटन बोर्डका निर्देशक रामु जोशीले लुम्बिनी प्रदेशमा धार्मिक तथा पर्यटकीय क्षेत्र धेरै रहेको बताउँछन् । उनले प्रदेशमा तराईका समथर भूभागमा रहेका धार्मिक र ऐतिहासिक स्थल हुन् वा पहाडको काखमा रहेका मनोरम दृश्य, सहज गन्तव्य र धेरैको ध्यान तान्न सक्ने ठाउँ धेरै रहेको बताए । प्रदेश पर्यटन बोर्डले १०० नयाँ गतव्यहरुको खोजी गरिरहेको समेत उनले रातोपाटीलाई बताए ।  

संस्कृतिविद् प्राध्यापक डा जितु गिरीले बुद्ध जन्मेको लुम्बिनी, हुर्केको तिलौराकोटदेखि  प्युठानको स्वर्गद्वारी, गुल्मी रेगुङ्गा लगायतका ठाउँमा घुम्न उपयुक्त हुने बताए । उनले बाँके–बर्दिया राष्ट्रिय निकुञ्ज, पाल्पाको रानी महल, बाँकेको बागेश्वरी मन्दिर पनि लुम्बिनी प्रदेशका प्रमुख पर्यटकीय क्षेत्र रहेको बताए ।

लुम्बिनी : धार्मिक पर्यटन स्थल

3333333333

लुम्बिनी प्रदेशको सबैभन्दा महत्त्वपूर्ण धार्मिक पर्यटक स्थलको रूपमा लुम्बिनी प्रख्यात छ ।

रुपन्देहीको लुम्बिनी सांस्कृतिक नगरपालिकामा पर्ने यो ठाउँमा जान भैरहवा विमानस्थलबाट २२ किलोमिटर र बुटवलबाट ४० किलोमिटर यात्रा गर्नुपर्छ ।

लुम्बिनी शान्तिका अग्रदूत गौतम बुद्धको जन्मभूमि हो । ईसा पूर्व ६२३ मा यहाँको बगैँचामा मायादेवीको कोखबाट बौद्ध प्रणेता गौतमबुद्धको जन्म भएको हो । सन् १९९७ देखि यो स्थल विश्व सम्पदा सूचीमा समावेश छ ।

यो भूमि संसारभरका बौद्ध मार्गी र शान्तिप्रेमीहरूका लागि विश्व शान्तिको रूपमा प्रसिद्ध छ । लुम्बिनी विकास कोषका सूचना अधिकारी डा हरिध्वज राईका अनुसार दसैँमा नेपालीसँगै अन्य देशका नागरिक पनि तुलनात्मक रूपमा यहाँ धेरै आउने गरेका छन् ।

पाल्पाको रानी महल : नेपालको ताजमहल

लुम्बिनी पर्यटन बोर्डले पाल्पाको रानी महललाई पनि पर्यटकीय गन्तव्यका रुपमा राखेको छ ।

पाल्पाको तानसेन बजारबाट ८ किलोमिटर उत्तर कालीगण्डकीको किनारमा रहेको रानी महललाई नेपालको ताज महल पनि भनिन्छ ।

यो महल तत्कालीन पाल्पा राज्यका राजा खड्ग शमशेरले आफ्नी दिवङ्गत पत्नी तेजकुमारीको सम्झनामा बनाएका हुन् । पछिल्लो समय यो महल हेर्नका लागि जाने पर्यटकको संख्या उल्लेख्य रहने गरेको छ ।

पछिल्ला वष हिल स्टेसनको रूपमा प्रचार गरिएपछि यहाँ भारतीय पर्यटक पनि उल्लेख्य संख्यामा आउने गरेका छन् । प्रदेश सरकारले रानी महलसम्म जाने सडक निर्माण गरेसँगै यहाँ जान सहज भएको छ । खान र बस्न होमस्टे तथा होटल पनि उपलब्ध छन् ।

प्युठानको स्वर्गद्वारी मन्दिर

प्युठान जिल्लाको सदरमुकाम खलङ्गाबाट करिब २६ किलोमिटर पश्चिममा रहेको धार्मिक पर्यटकीय स्थल स्वर्गद्वारीमा पौराणिक कालमा पाण्डवहरू स्वर्ग जाँदा यही बाटो भएर गएको जनविश्वास छ । त्यसैले यो स्थानको नाम स्वर्गद्वारी रहेको स्थानीय बताउँछन् ।

संस्कृतिविद् प्राडा जितु गिरीले स्वर्गद्वारीमा पुगेपछि मनले चिताएको पूरा हुने जनविश्वास रहेको बताए । उनले यो स्थान पौराणिक कालखण्डको कथासँग जोडिएको बताए । यहाँ स्वदेशी र भारतीय पर्यटक धेरै आउने गरेका छन् ।

गुल्मीको रेसुङ्गा 

Resunga-Temple

विशेष सांस्कृतिक तथा प्राकृतिक सम्पदा मानिने रेसुङ्गा भृगु ऋषिको तपो भूमि, रुरुको शिरोभाग, पुलस्त्य पुलह ऋषिको तपो भूमि, महर्षि, राजर्षि, देवर्षि स्थल रहेको संस्कृतिविद् प्राध्यापक डा जितु गिरीले बताए ।

तम्घास माथिको डाँडो रहेको रेसुङ्गामा धार्मिक महत्त्वसँगै रमणीय हरियाली दृश्य देखिने भएकाले पर्यटक आकर्षित हुने गरेका छन् । यहाँबाट तराईका फाँटदेखि भारतको भूभागसमेत देख्न सकिन्छ ।

गुल्मी रेसुङ्गा नगरपालिकाले अहिले ‘जाऊ हिँड रेसुङ्गा’ भन्ने अभियान चलाएको छ । नगरपालिका मेयर खिलध्वज पन्थीले रेसुङ्गाको आफ्नै महत्त्व र इतिहास रहेको भन्दै बाह्य पर्यटक भित्र्याउन अभियान नै थालेको बताए ।

अर्घाखाँचीको सुपा देउराली मन्दिर

Supa-Deurali-Arghakhanchi

लुम्बिनी प्रदेशमा आस्थासँग जोडिएको गन्तव्य अर्घाखाँचीको सुपा देउराली मन्दिर हो ।

कपिलवस्तुको गोरुसिङ्गे–सन्धिखर्क सडक खण्डको सुपा खोलाको पश्चिम क्षेत्रमा नरपानी र फलामे दुई अग्ला महाभारत पर्वत शृङ्खलाको बिचमा झन्डै ४ हजार ५ सय फिटको उचाइको खोँचमा यो मन्दिर अवस्थित छ ।

यहाँ भाकल र दर्शन गरेपछि आँटेको काम सफल हुने जनविश्वास छ । अहिले पनि यहाँ भाकल गर्ने र भाकल चढाउन जानेहरू धेरै भेटिन्छन् ।

यहाँ भाकल गरेपछि मनोकामना पूरा हुने र भाकल गरेर चढाउँछु भनेको कुरा नचढाएमा देवी रिसाउँछिन् भन्ने मान्यता छ ।

खास गरी यहाँ एकादशी, औँसी, कृष्ण जन्माष्टमी, ऋषि पञ्चमी, शिवरात्रि, राम नवमी लगायतका पर्वमा पूजा गर्ने र भेटी चढाउनेको भिड हुने गर्दछ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

तेजेन्द्र के.सी.
तेजेन्द्र के.सी.

केसी रातोपाटीका प्रदेश नम्बर ५ का संयोजक हुन् । 

लेखकबाट थप