शुक्रबार, २१ वैशाख २०८१
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट
चीन भ्रमण

नेपालबाट चीनतिर उच्चस्तरीय भ्रमणको लर्को

बिहीबार, ०९ कात्तिक २०८०, १७ : १७
बिहीबार, ०९ कात्तिक २०८०

–एस.के. यादव

काठमाडौँ । कोभिड नियन्त्रणमा आएपछि चीनको निमन्त्रणमा नेपालबाट उच्चस्तरीय भ्रमणले तीब्रता पाएको छ । उपराष्ट्रपति रामसहाय यादव, प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’, पूर्व प्रधानमन्त्री झलनाथ खनाल, उपप्रधान तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठलगायत विभिन्न दलका शीर्ष नेता, युवा, विद्यार्थी, पत्रकार, बुद्धिजीवीहरुलाई चीनले भ्रमण गराइसकेको छ ।

उपप्रधानमन्त्री श्रेष्ठ बुधबार चीन भ्रमणबाट नेपाल फर्केका छन् । तेस्रो ‘बेल्ट एन्ड रोड फोरम फर इन्टरनेसनल कोअपरेसन’मा सहभागी हुन असोज २९ गते उनी चीन प्रस्थान गरेका थिए । हृदयघातका कारण निर्धारित समयभन्दा केही ढिला उनी फर्केका हुन् ।

सोही कार्यक्रममा भाग लिन नेकपा एकीकृत समाजवादी पार्टी सम्माननीय नेता तथा पूर्व प्रधानमन्त्री झलनाथ खनाल पनि चीन गएका थिए । उनी कात्तिक ६ गते स्वदेश फर्किसकेका छन् ।

यता, प्रधान सेनापति प्रभुराम शर्मा पनि चीन भ्रमणमा जान लागेका छन् । कात्तिक १२ गतेदेखि बेइजिङमा सुरु हुने १० औँ बेइजिङ स्याङ्गसन फोरमको उद्घाटन समारोहमा भाग लिन उनी कात्तिक १० गते त्यता जान लागेका हुन् ।

चीनको कुनमिङमा आयोजना हुने ‘सातौँ चीन दक्षिण एसिया प्रदर्शनी’ तथा ‘२७ औँ चीन कुनमिङ्ग आयात–निर्यात मेला’ मा विशेष अतिथिको रूपमा उनी चीन भ्रमणमा गएका थिए । उनी भदौ ३ गते नेपाल फर्केका थिए ।

प्रधानमन्त्री प्रचण्ड अमेरिका हुँदै असोज ५ गते चीन भ्रमणमा गएका थिए । चिनियाँ प्रधानमन्त्री ली छ्याङको निमन्त्रणमा चीन पुगेका प्रधानमन्त्री प्रचण्ड हाङ्जाओमा सम्पन्न १९औँ एसियाली खेलकुदको उदघाटन समारोहमा सहभागी भएका थिए । उनी असोज १३ गते स्वदेश फर्केका थिए ।

यसरी चीनका लािग नेपालबाट एकपछि अर्को उच्चस्तरीय भ्रमण भइरहेका छन् । प्रत्येक दलका शीर्ष नेता तथा कार्यकर्ताहरुलाई कुनै न कुनै कार्यक्रमको बहानामा चीनले आफ्नो देशको भ्रमण गराइरहेको छ । नेपालबाट चीनमात्र होइन, चीनबाट पनि त्यहाँका सरकारका प्रतिनिधि एवं चिनियाँ कम्युनिस्ट पार्टीका विभिन्न तहका नेता नेपाल भ्रमणमा आइरहेका हुन्छन् ।

दुई देशको सम्बन्ध अझ मजबुत होस् भन्ने उद्देश्यले यी भ्रमण भइरहेको कतिपयको तर्क छ भने कतिपयले नेपालमा भारतको बर्चश्व कम गर्नका लागि चीनले उच्चस्तरीय भ्रमण गराइरहेको तर्क पनि गरेका छन् ।

दलका प्रतिनिधिहरुलाई चिनियाँ कम्युनिीस्ट पार्टीले निमन्त्रणा दिएर भ्रमणहरु गराइरहेको छ भने सरकारी प्रतिनिधिलाई त्यहाँको सरकारले निमन्त्रण गरेर बोलाइरहेको हुन्छ । चिनियाँ कम्युनिस्ट पार्टीको निमन्त्रणामा माओवादी केन्द्रका उपाध्यक्ष अग्नि सापकोटाको नेतृत्वमा २० जनाको टोली जेठ ५ गते चीन भ्रमणमा गएको थियो ।

त्यस्तै, एमालेका महासचिव शंकर पोखरेलको नेतृत्वमा २१ सदस्यीय टोली भदौ १७ गतेदेखि २९ गतेसम्म चीनको भ्रमणमा थियो ।

भदौमा चीन भ्रमणबाट फर्केका एमालेका विदेश विभाग प्रमुख राजन भट्टराईले नेपाल र चीनबिच बहुआयामिक सम्बन्ध रहेको र त्यो सम्बन्धलाई अझ बलियो बनाउनका लागि दुई पक्षीय भ्रमण भइरहेको बताए । उनले भने, ‘चीन हाम्रो छिमेकी मित्र राष्ट्र हो, चीनसँग हाम्रो सामाजिक, आर्थिक, सांस्कृतिक सम्बन्ध छ, त्यसलाई अझ विश्वस्त र बलियो बनाउन यस्ता भ्रमण भइरहनु पर्छ ।’

नेपाल र चीनबिच सरकार–सरकारबिच, राज्य–राज्यबिच, जनता–जनताको बिचमा सम्बन्ध रहेका कारण यस्ता भ्रमण भइरहेको बताउँदै भट्टराईले कोरोनाअघि पनि यस्ता भ्रमण भएको स्मरण गराए । बिचमा कोरोनाका कारण दुई पक्षीय भ्रमण रोकिएकोमा अहिले फेरि सुरु भएको र यो दुई देशका लागि राम्रो कुरा रहेको उनले बताए ।

‘एक अर्काको देशमा जति आवतजावत, भेटघाट हुन्छन्, त्यति नै सम्बन्ध विश्वासिलो हुन्छ,’ भट्टराईले भने, ‘भ्रमण गर्दा त्यहाँ हुने विकास निर्माणका कामहरु हेर्न पाइन्छ, त्यो अनुसार थप योजना बनाउन सकिन्छ, यसले आर्थिक विकासको क्षेत्रमा राम्रो गर्दछ ।’

चीनले नेपालसँग विशेष सम्बन्ध बनाउन चाहेको छ । नेपालसँग चीनले राम्रो सम्बन्ध बनाउनुको तीन स्वार्थ छन् । मुख्य स्वार्थ सुरक्षा नै हो । चीनले आफूमा गाभेको तिब्बतको सीमाना नेपालसँग जोडिएको छ । त्यसका लागि चीन निकै गम्भीर छ । तिब्बतका लागि नेपालमा चीन विरोधी गतिविधि नहोस् भन्नका लागि चीनले निकै चासो लिएको हुन्छ ।

त्यसका साथै नेपालमा अमेरिकाको बढ्दो प्रभावलाई कम गर्न पनि चीनले नेपालसँग दरिलो सम्बन्ध बनाउन चाहेको विज्ञहरुको बुझाइ छ ।

एक चीन नीतिप्रति नेपाललाई प्रतिबद्ध तुल्याइराख्नु पनि चीनको अर्को चासोको विषय हो । नेपालले पनि पटकपटक एक चीन नीतिप्रति प्रतिवद्धता जनाउँदै आइरहेको छ तर पछिल्लो समय अमेरिकाले एमसीसी लागु गराउन गरेको कसरतले चीनलाई संशकित बनाएको विज्ञहरु बताउँछन् ।

चीन आफ्नो बीआरआई परियोजनालाई व्यवस्थित ढंगले सञ्चालनमा ल्याउन गम्भीर देखिएको छ । यी स्वार्थका कारण चीनले नेपालसँग मित्रवत् सम्बन्धलाई कसिलो बनाउन चाहेको छ । र, त्यसका लागि नेपालमा पनि विभिन्न कार्यक्रम आयोजना गर्नुको साथै नेपालबाट विभिन्न तहका नेताहरुलाई चीनमा लगेर अवलोकन भ्रमण गराउनुको साथै विभिन्न विचार गोष्ठीमा सहभागी गराउँदै आएको छ ।

त्यतिमात्र होइन, चीनले नेपालमा विभिन्न क्षेत्रमा लगानी पनि गरेको छ । कतिपय क्षेत्रमा लगानी गर्ने प्रतिवद्धता जनाइसकेको छ । आफ्नो लगानी र आयोजनालाई पूर्णता दिनका लागि पनि चीनले नेपालसँग विश्वासको वातावरण बनाउन चाहेको विज्ञहरु बताउँछन् । चीन आर्थिक रुपमा धेरै अगाडि बढेको देश हो । चीनको मुख्य स्वार्थ व्यापार हुन्छ ।

उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालय स्रोतका अनुसार चीनबाट हालसम्म दुई खर्ब चार अर्ब रुपैयाँ बराबर लगानीको प्रतिवद्धता आइसकेको छ । त्यसमध्ये दुई हजार भन्दा बढी उद्योगमा लगानी गर्ने प्रतिवद्धता जनाएको छ ।

लगानी प्रतिवद्धतामा चीन भारतको तुलनामा धेरै अगाडि छ । लगानी गर्न गरेको प्रतिवद्धता पूरा गर्नका लागि चीनले नेपाललाई विश्वासमा लिन खोजेको देखिन्छ ।

प्रधानमन्त्री प्रचण्ड चीन भ्रमणमा गएको बेला पनि नेपालमा विभिन्न क्षेत्रमा लगानी गर्ने प्रतिवद्धता आएका छन् ।

सिनासका प्रमुख डा.मृगेन्द्र कार्कीले भने, ‘यी भ्रमणहरु दुई वटै देशको स्वार्थका कारणले भइरहेका छन्, यो भ्रमणले दुवै देशलाई आर्थिक रुपमा फाइदा पु¥याई रहेको देखिन्छ ।’

कार्कीका अनुसार चीन र भारत दुवै देश विश्वको आर्थिक प्रतिस्पर्धामा आइसकेका छन् र उनीहरुले विश्वमै आफ्नो उपस्थिति देखाइरहेका छन् । त्यसले गर्दा नेपालमा उपस्थिति देखाउनु स्वाभाविक हो भन्दै उनले युरोप र अमेरिकाले जसरी विश्वमा आफ्नो उपस्थिति देखाएका छन्, त्यसरी अहिले भारत र चीन पनि आफ्नो उपस्थिति देखाउने प्रयासमा रहेको प्रस्ट पारे ।

‘नेपालसँग चीनको वैचारिक सम्बन्ध पनि छ, त्यही भएर नेपालमा अलि बढी नै झुकाव देखिन्छ,’ उनले भने, ‘बीआरआइको एउटा सम्मेलनमा तत्कालीन राष्ट्रपति विद्यादेवी भण्डारीलाई निमन्त्रणा गरिएको थियो, त्यसपछि अहिले उपप्रधानमन्त्री तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठ, नेकपा एकीकृत समाजवादीका नेता झलनाथ खनालाई कार्यक्रमका लागि बोलाइएको थियो ।’

यसरी हेर्दा चीनले यहाँका वामपन्थीहरुसँग बढी सम्बन्ध बनाउन चाहेको देखिन्छ, जसको मुख्य कारण वैचारिक रुपमा नजिक हुनु नै हो । चीन नेपालसँग नजिक हुन चाहन्छ भने नेपालले पनि चीनसँग आर्र्थिक लाभ लिन चाहन्छ । यी दुवैको स्वार्थ मिलेको कारण यी उच्चस्तरीय भ्रमण तथा गोष्ठीहरु हुने गरेको सिनासका प्रमुख कार्कीले बताए ।

कार्कीका अनुसार भुटान जहाँ भारतको लगभग शासन नै चल्छ, त्यो देशसँग समेत चीनले सम्बन्ध बनाउन चाहेको देखिन्छ भने नेपाल त चीनका लागि निकै सजिलो देश रहेको छ । उनले भने, ‘भुटानका विदेश मन्त्रीलाई निमन्त्रणा दिएर चीनले कुराकानी गरिसकेको छ, दोस्तीका लागि हात अगाडि बढाइसकेको छ भने नेपालसँग त चीनको निकै पुरानो सम्बन्ध रहेको कारण यहाँ चहलपहल हुनु स्वाभाविक हो ।’

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एसके यादव
एसके यादव

एसके यादव रातोपाटीमा राजनीतिक तथा समसामयिक विषयमा रिपोर्टिङ गर्छन् ।

लेखकबाट थप