चलचित्र 'अन्जिला'को छायाङ्कन सुरु
काठमाडौँ। महिला राष्ट्रिय फुटबल टिमकी नम्बर एक गोलरक्षक एन्जिला तुम्बापो सुब्बाको जीवनबाट प्रभावित रहेको चलचित्र 'अन्जिला' को छायाङ्कन सुरु भएको छ । मिलन चाम्सले निर्देशन गर्ने यो चलचित्रको सोमबार एन्जिलाकै जन्मथलो इलामको आइतबारे बजारमा शुभमुहुर्त गरिएको हो । इलाम, झापा र काठमाडौँमा यस चलचित्रको छायाङ्कन हुनेछ । पहिलो दिन कलाकारहरू माओत्से गुरुङ र सिर्जना सुब्बाको दृश्यसँगै छायाङ्कन सुरु भएको हो ।
यो चलचित्रमा एन्जिला स्वयंको मुख्य भूमिका रहनेछ । खेलमा पोख्त एन्जिला पहिलो पटक अभिनयको पनि अनुभव बटुल्दै छिन् । उनीसँगै यसमा दयाहाङ राई, मिरुना मगर, सिर्जना सुब्बा, पशुपति राई, माओत्से गुरुङ, बुद्धि तामाङ, विजय बराल, हरि खड्का लगायतको पनि अभिनय रहनेछ ।
एन्जिलाको बालापनदेखि खेल जीवनसम्मको कथामा उनले फुटबलर बन्नका लागि गरेको सङ्घर्ष र सफलताको कथालाई चलचित्रमा जोड दिइने निर्देशक चाम्सले जानकारी दिए । सफल खेलाडी बन्नु अगाडि एन्जिलाले धेरै दुःखहरू भोगेको र इच्छाशक्ति भएदेखिन् असम्भव भन्ने कुरा नहुने सन्देश चलचित्रले दिने चाम्सले बताए । निर्देशक चाम्सले यो चलचित्र ठ्याक्कै एन्जिलाको बायोपिक भने नभएको बताए । उनले ७५ प्रतिशत एन्जिलाकै जीवनी हुने तर बायोपिक भने नहुने बताए ।
निर्माता प्रेम कुमार श्रेष्ठले एन्जिलाको कष्टकर बाल्य जीवनदेखि सफलतासम्मको कथालाई चलचित्रमा देखाइने बताए । १४ वर्षदेखि एन्जिलाको अभिभावकत्व ग्रहण गर्दै आएका उनले शिक्षा-दिक्षादेखि खेलाडी बनाउने सहमतिमा हस्ताक्षर गरेर एन्जिलालाई मोरङबाट काठमाडौँ ल्याएका थिए । श्रेष्ठले एन्जिलाको सङ्घर्ष र सफलताको कथाले धेरैलाई 'इन्स्पायर' गर्छ भन्ने लागेर चलचित्र बनाउन लागेको बताए ।
२०५३ मा पाँचथर जिल्लाको फाक्तेपमा जन्मिएकी एन्जिलाले १३ वर्षको उमेरदेखि नै फुटबल खेल्न सुरु गरेकी थिइन् । सन् २०१४ मा श्रीलङ्कामा सम्पन्न एएफसी यु–१४ गर्ल्स रिजनल ट्रफीबाट अन्तर्राष्ट्रिय प्रतियोगितामा डेब्यू गरेकी उनी २०१४ बाट राष्ट्रिय टिममा परेकी थिइन् । तर, उनी २ वर्ष बेन्चमै सीमित भइन् । त्यसयता भने उनी महिला राष्ट्रिय फुटबल टिमको भरपर्दो गोलरक्षक बनेकी छन् । एन्जिला 'पल्सर स्पोर्टस् अवार्ड २०७७' को पिपुल च्वाइस अवार्डको मनोनयनमा समेत परेकी थिइन् । यो विधामा मनोनयनमा पर्ने एन्जिला फुटबलकी एक मात्र खेलाडी हुन् ।
एन्जिला ओलम्पिक क्वालिफाईङ राउन्डमा दोस्रो राउन्ड सम्म खेल्ने पहिलो महिला गोलरक्षक हुन् । यसै गरी उनी चीनमा भएको एसियन गेम्स खेल्ने, हिरो गोल्ड कपमा भारतलाई जित्ने, साफको सेमिफाइनलमा भारतलाई जित्ने पहिलो गोलरक्षक र क्याप्टेन हुन् । उनी साफको सिल्भर मेडलिष्ट गोलरक्षक हुन् भने श्रीलङ्कामा भएको साउथ रिजनल जोन टुर्नामेन्टमा भारत, इरान, भुटान, ताजकिस्तान र श्रीलङ्कालाई जितेर पहिलो पटक गोल्ड मेडल ल्याउने गोलरक्षक हुन् । पाकिस्तान लिगमा उनी गोलरक्षक रहेर पनि दुई गोल गरेकी थिइन्, जुन गोलरक्षक खेलाडीको इतिहासमा पहिलो बनेको थियो ।
यस चलचित्रमा प्रदीप भारद्वाज र यम थापाको लेखन रहेको छ भने पटकथामा मुख्य सहायक निर्देशक गिरिराज घिमिरेले साथ दिएका छन् । सुदीप बरालको डिओपी रहने यसका सम्पादक मिलन श्रेष्ठ हुन् ।
मुन लभ इन्टरटेन्मेन्टको ब्यानरमा बन्न लागेको चलचित्रका निर्माता प्रेम कुमार श्रेष्ठ हुन् भने विनोद अग्रवाल र राजेश बागादिया सह-निर्माता हुन् । विनोद सुवेदी खत्री निर्माण नियन्त्रक हुन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
कर्मचारीलाई गाडी किन्न ६० लाखसम्म ऋणमा ब्याज अनुदान दिन प्रस्ताव
-
मनसुनमा सडक सुचारु राख्न विशेष कार्ययोजनाः देशैभर हेभी उपकरण तैनाथ
-
मधेस प्रदेश पूर्वप्रमुख राजेश अहिराज बलात्कार मुद्दामा दाेषी ठहर
-
विदेशी शैक्षिक कार्यक्रम सञ्चालन गर्ने शिक्षण संस्था स्थापना गर्दा पूर्वसहमति लिनुपर्ने
-
जग्गा हिनामिना प्रकरण : तत्कालीन मालपोत अधिकृतसहित ४ जनालाई ६ महिना कैद र जरिवाना
-
अबदेखि भरी सिलिण्डर ग्यास पाइने
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण