शुक्रबार, २१ वैशाख २०८१
ताजा लोकप्रिय
बेथिति

निर्माण भइसकेको वधशाला सञ्चालन नहुँदै अर्को बनाउन जग्गाको खोजी

बिहीबार, १६ कात्तिक २०८०, ०६ : १९
बिहीबार, १६ कात्तिक २०८०

बुटवल । बुटवलमा निर्माण भएको वधशाला सञ्चालन गर्न ढिलाइ भइरहेकै समयमा अर्को वधशाला निर्माणका लागि जग्गाको खोजी सुरु भएको छ ।

लुम्बिनी प्रदेश सरकार, बुटवल उपमहानगरपालिकाको लगानी र हेफर इन्टरनेशनल नेपालको प्राविधिक सहयोगमा बुटवल–१० मा निर्माण भएको पशु वधशाला सञ्चालनका लागि उपमहानगरसँगको सम्झौता तोडिएपछि आफूहरू अर्को वधशाला बनाउने योजनामा रहेको बुटवल मासु उत्पादन तथा प्रशोधन प्रालिका अध्यक्ष कृष्णप्रसाद पौडेलले रातोपाटीलाई बताए ।

नयाँ वधशाला बनाउन सम्भाव्य अध्ययन समिति र जग्गा खोजीको लागि किसान सहकारी अध्यक्ष होमा देवी पौडेलको नेतृत्वमा काम भइरहेको उनले बताए ।

३४ वटा सहकारी संस्थाबाट निर्माण भएको इन्भेस्टमेन्ट कम्पनी र मासु व्यवसायीहरूको लगानीमा हेफर इन्टरनेशनलको सहयोगमा निजीस्तरबाट पशु वधशाला  निर्माण गर्न बुटवल बाहिर जग्गा खोज्ने गरी काम अगाडि बढेको छ ।

बुटवल मासु उत्पादन तथा प्रशोधन प्रालिका अध्यक्ष तथा मासु व्यवसायी संघ रुपन्देहीका पूर्व अध्यक्ष कृष्णप्रसाद पौडेलले जग्गा पहिचान गर्न र वधशाला निर्माणका लागि ७ सदस्यीय समितिले तीव्रताका साथ काम गरेको बताए ।

386433599_191116960702216_74801624762516884_n

उनले आफूहरुसँग गरेको सम्झौता तोडेर उपमहानगरपालिकाले अर्को कम्पनीलाई ठेक्का दिएपछि यस्तो अवस्था आएको प्रस्ट पारे ।

हेफर इन्टरनेशनल नेपालका राष्ट्रिय निर्देशक डा. तीर्थराज रेग्मीले अहिले निर्माण भएको वधशालामा उपमहानगरपालिकाले सुरुको सम्झौता अनुसार काम  नगरेको भन्दै अब अर्को वधशाला निर्माणका लागि व्यवसायी र किसानले अग्रसरता देखाएमा आफूहरूले सहयोग गर्ने रातोपाटीलाई बताए ।

उनले अहिले बुटवलमा निर्माण भएको वधशालामा महिलाहरूको सहभागितामा उत्पादनदेखि उपभोगसम्म चेनको रूपमा काम गर्ने गरी हेफरले प्राविधिक सहयोग गरेको जानकारी दिए । अहिले आएर एउटा अमुक कम्पनीलाई सञ्चालनको जिम्मा दिएर बुटवल उपमहानगरपालिकाले उद्यमी महिला र व्यवसायीहरूमाथि अन्याय गरेको उनको जिकिर छ ।

बुटवलमा हाल निर्माण भएको वधशालामा प्रदेश सरकारबाट ७० प्रतिशत, उपमहानगरपालिकाबाट ३०  प्रतिशत आर्थिक सहयोग भएको थियो भने हेफरले प्राविधिक सहयोग उपलब्ध गराएको थियो ।

किसान र मासु व्यवसायीलाई जोडेर बनाएको इन्भेस्टमेन्ट कम्पनी रुपन्देहीको सैनामैनामा दर्ता भएको छ । बुटवल मासु उत्पादन तथा प्रशोधन प्रालिका अध्यक्ष कृष्ण पौडेलले प्रदेश सरकार र संघ सरकारसँग सहकार्य गरेर २ वर्षभित्र  वधशाला सञ्चालन गर्ने बताए ।

निर्माण भएको वधशाला सञ्चालनमा ढिलाइ

बुटवल उपमहानगरपालिका र मुक्तिनाथ लाइभ स्टकबिच गत असोजदेखि पशु वधशाला सञ्चालन गर्ने सम्झौता भएको थियो ।

बुटवल–१०, रामनगरमा दुई बिघा ३ कट्ठा क्षेत्रफलमा बनेको वधशाला सञ्चालनका लागि सहमति भए पनि विधि र प्रक्रिया नपुगेपछि उपमहानगरपालिकाले गत असारमा पुनः टेन्डर आह्वान गर्दा मुक्तिनाथ लाइभस्टकले पाएको थियो ।

वधशाला पुग्ने बाटोमा बुटवल–बर्दघाट सडक विस्तारले  असर परेपछि सञ्चालनमा ढिलाइ भएको उपमहानगरपालिकाले जनाएको छ ।

badhshala

बुटवल उपमहानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत  विष्णु प्रसाद भुसालले सबै प्रक्रिया पूरा भए पनि   वधशालामा पुग्ने सडकमा पर्खाल उठाउने विषयले गर्दा ढिलाइ भएको रातोपाटीलाई बताए ।

उक्त  वधशाला  सञ्चालन  गरेबापत मुक्तिनाथ लाइभस्टकले वार्षिक ५८ लाख ३८ हजार ७ सय १० रुपैयाँ बुटवल उपमहानगरपालिकालाई बुझाउने छ । ५ वर्षका लागि गरिएको सम्झौताअनुसार हरेक वर्ष १० प्रतिशतका दरले रकम वृद्धि हुनेछ ।

लुम्बिनी प्रदेश सरकार, पशुपन्छी निर्देशनालयका निर्देशक डा लोकराज भुसालले प्रदेशको लगानी भए पनि संरक्षण र ठेक्का लगाउने अधिकार बुटवल उपमहानगरपालिकालाई भएको बताए । तर यहाँ किसान र मासु व्ययवासीलाई पाखा लगाए काम गर्दा राम्रो सन्देश नजाने उनले प्रस्ट पारे । बुटवल उपमहानगरपालिकाले भने कानुन अनुसार नै ठेक्का लगाएको जनाएको छ ।

Agreement- butwal (1)

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

तेजेन्द्र के.सी.
तेजेन्द्र के.सी.

केसी रातोपाटीका प्रदेश नम्बर ५ का संयोजक हुन् । 

लेखकबाट थप