बिहीबार, २० वैशाख २०८१
ताजा लोकप्रिय
संसद् बैठक

पूर्वराजालाई माधव नेपालको चुनौती : यो व्यवस्थामा प्रश्न गर्ने अधिकार तपाईँलाई छैन

माधव नेपालले खोजे संसदमा प्रधानमन्त्री प्रचण्ड
बिहीबार, १६ कात्तिक २०८०, १५ : ०५
बिहीबार, १६ कात्तिक २०८०

काठमाडौँ । नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले बिहीबारको प्रतिनिधि सभा बैठकमा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई खोजेका छन् । 

बैठकमा आफ्नो धारणा राख्दै गर्दा अध्यक्ष नेपालले संसद् अधिवेशनको अन्तिम दिन सदनले गरेका कामकारबाहीको समीक्षा हुँदा प्रधानमन्त्रीले समेत सुन्नुपर्नेमा बैठकमा प्रधानमन्त्री नदेखिएको बताए । 

‘आज हामी संसद् अधिवेशनको अन्तिम दिनमा उपस्थित भएका छौँ । प्रधानमन्त्री ज्युलाई म देखिरहेको छैन । कहाँ जानुभएको छ थाहा भएन’, पूर्वप्रधानमन्त्री समेत रहेका नेपालले भने, ‘तर सरकारको प्रधानमन्त्रीजीले पनि कुरा सुन्नुहोला भन्ने ठानेको थिएँ ।’

सदनको यो सेसनको समीक्षा गर्ने, सदनको प्रभावकारिता कसरी बढाउन सकिन्छ, सरकारलाई कसरी जिम्मेवार बनाउन सकिन्छ ? संविधानको परिपालना गर्दै जनताको आकांक्षा कसरी पुरा गर्न सकिन्छ भनेर समीक्षा गर्ने अन्तिम दिनमै प्रधानमन्त्री अनुपस्थित रहेकोमा नेपालले गुनासो गरे । उनले देशको अर्थतन्त्रका बारेमा विज्ञहरुसँग परामर्श बैठक गर्न सांसदहरूले गरेको प्रस्ताव सही भएको भन्दै प्रधानमन्त्रीले त्यसको सुरुवात भएको सुन्न पाइयोस् भने । 

अध्यक्ष नेपालले समस्या देश सञ्चालन गर्ने प्रधानमन्त्रीमा हो कि राष्ट्रपतिमा हो ? भन्दै प्रश्न समेत गरे । 

‘समस्या देश सञ्चालन गर्ने प्रधानमन्त्रीमा हो कि राष्ट्रपतिमा हो ? यो देशमा मधेसीको एउटा छोरो राष्ट्रपति भएकोमा पीडा भइरहेको छ ? कि एकजना नेपालकी छोरी राष्ट्रपति भएकोमा पीडा भइरहेको छ ?’, नेपालको प्रश्न छ । 

उनले नेपालको राजनीतिमा जीवन समपर्ण गरेका व्यक्ति राष्ट्रपति भएकोमा पीडा भएको हो ? भन्दै पूर्व राजा ज्ञानेन्द्र शाहप्रति संकेत गर्दै देश सञ्चालन गर्ने कुरामा पीडा भएको हो भने राजनीतिमा विकल्पहरु दिन चुनौती दिए । ‘राजनीतिमा विकल्प दिएर जनतामा आशा जगाउनुस् तर यो व्यवस्थामा प्रश्न गर्ने अधिकार तपाईँलाई छैन’, नेपालको भनाइ छ । 

उनले देखिसकेको र भोगिसकेको भन्दै नेपाललाई अँध्यारो युगमा फर्काउने कोसिस नगर्न चेतावनी दिए ।

अध्यक्ष नेपालले प्रमुख प्रतिपक्ष एमालेलाई पनि रचनात्मक प्रतिपक्षको भूमिका निर्वाह गर्न सुझाव दिए । नेता नेपालले सरकारलाई मात्र दोष दिएर उम्कन नमिल्ने भन्दै भने, ‘सरकारलाई मात्रै दोष दिएर हुँदैन प्रतिपक्षले पनि आफूभित्रको कमजोरी हेर्नुपर्छ ।’

उनले एमालेले सत्ताबाट हट्नुपर्ने पीडाले सदनलाई अवरोध गरेर सरकारलाई असहयोग गर्नेगरी व्यक्त गर्ने काम गरेको भन्दै त्यसले जनतालाई असर गर्ने बताए । ‘सरकारको गरेको कामलाई राम्रो भन्न सक्नुपर्छ । त्यसैलाई रचनात्मक विपक्ष भनिन्छ । पीडा पोखेर, धारे हात लगाएर सदन अवरोध गरेर मात्रै हुँदैन, हामीले जनताको आवाजलाई प्रष्फुटित गर्नको लागि तीनवटै मोर्चामा लाग्नुपर्छ’, नेपालको भनाइ छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप