बिहीबार, २० वैशाख २०८१
ताजा लोकप्रिय

पोखरा महानगरपालिकाद्वारा भूकम्प प्रभावितका लागि ५० लाख सहायता घोषणा

शनिबार, १८ कात्तिक २०८०, २१ : २९
शनिबार, १८ कात्तिक २०८०

कास्की । पोखरा महानगरपालिकाले भूकम्प प्रभावित क्षेत्रमा राहत, उद्धार र पुनर्स्थापनाका लागि रु.५० लाख बराबरको सहायता घोषणा गरेको छ । महानगरका प्रमुख धनराज आचार्यले प्रभावित क्षेत्रमा मानवीय सहायताका लागि यस्तो घोषणा गरेका हुन् । 

“जाजरकोट र रुकुम पश्चिम लगायतको क्षेत्रमा भूकम्पका कारण ठुलो जनधनको क्षति पुगेको छ,’ प्रमुख आचार्यले भने, ‘यो दुःख केवल पीडित र प्रभावित क्षेत्रको मात्र रहेन, यो विपद्ले हामीलाई पनि मर्माहत बनाएको छ, यस घडीमा पोखरा महानगरपालिकाको तर्फबाट राहत, उद्धार र प्रभावितहरूको पुनर्स्थापनाका लागि रु.५० लाख बराबरको सहायता घोषणा गर्दछु ।’ प्रभावित क्षेत्रमा मानवीय सहायताका लागि सहयोग गर्न प्रमुख आचार्यले आह्वान समेत गरे । 

उनका अनुसार सहायता रकम महानगरका नगरप्रमुख, उपप्रमुख लगायत वडाध्यक्ष तथा कार्यपालिका सदस्यहरूको १ महिनाको पारिश्रमिकबाट सोघभर्ना हुने गरी व्यवस्थापन गरिने छ । साथै महानगरका नगर सभा सदस्य तथा कर्मचारीहरूले स्वैच्छिक सहयोग उपलब्ध गराउन सक्नेछन् भने, अपुग रकम महानगरपालिकाको विपद्कोबाट व्यवस्थापन गरिनेछ । 

उनका अनुसार पहिलो चरणको सहायता सामाग्री बोकेको ट्रक सहित जनप्रतिनिधि, स्वास्थ्यकर्मी र नगर प्रहरीको उद्धार टोली शनिवार साँझ त्यसतर्फ प्रस्थान गरेको छ । पोखरा महानगरपालिका वडा नं.१ का वडा अध्यक्ष सहारा प्रधान र वडा नं।७ का वडा अध्यक्ष राम मोहन आचार्य नेतृत्वको टोलीमा महानगरको जनस्वास्थ्य अधिकृत फूलदेव तिमिल्सिना, मेडिकल अधिकृत डा.तिलकमानसिंह भण्डारी, जनस्वास्थ्य निरीक्षकहरू लोकराज आचार्य र धर्मराज चौलागाई र सिनियर अहेव कुश्मराज सुवेदी रहेका छन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप