शुक्रबार, ०४ जेठ २०८१
ताजा लोकप्रिय

भूकम्पका घाइतेको उपचारमा कमी हुन नदिन रक्षामन्त्री खड्काकाे निर्देशन

आइतबार, १९ कात्तिक २०८०, १९ : ०६
आइतबार, १९ कात्तिक २०८०

नेपालगञ्ज । उपप्रधान एवं रक्षामन्त्री पूर्णबहादुर खड्काले भेरी अस्पतालमा उपचाररत भूकम्पका घाइतेलाई भेटेका छन् । 

आज भेरी अस्पताल पुगेका उपप्रधानमन्त्री खड्काले घाइतेहरूको अवस्था बुझेका हुन्। उनले घाइतेहरूको शीघ्र स्वास्थ्य लाभको कामना गर्दै भेरी अस्पताललाई भूकम्पका घाइतेको उपचारमा कुनै कमी हुन नदिन निर्देशन दिए । उनले सरकारले घाइतेको निःशुल्क औषधि गर्ने जानकारी गराउँदै प्रतिकार्य र राहतमा तदारुकताका साथ काम गरिरहेको बताए ।

उपप्रधानमन्त्री खड्कालाई बाँकेका प्रमुख जिल्ला अधिकारी श्रवणकुमार पोखरेलले बाँकेका अस्पतालमा भूकम्प प्रभावित घाइतेको प्रभावकारी उपचार, उद्धार र राहतका लागि भएका कामका बारेमा जानकारी गराएका थिए । 

भेरी अस्पतालका प्रमुख मेडिकल सुपरिटेन्डेन्ट डा पवनजङ्ग रायमाझीले अस्पतालमा उपचाररत घाइतेको अवस्थाबारे जानकारी गराएका थिए । सरकारले भूकम्प प्रभावित जिल्लाका घाइतेको उपचारका लागि भेरी अस्पताललाई ‘डेडिकेटेड अस्पताल’ तोकेको छ । 

भेरीमा भूकम्पका घाइतेको उपचारका लागि १०५ शय्या छुट्ट्याइएको छ । हाल जाजरकोट र रुकुम पश्चिमका ३७ घाइतेको भेरीमा उपचार भइरहेको छ । घाइते एक जना भने नेपालगञ्ज मेडिकल कलेज कोहलपुरमा उपचाररत छन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रासस
रासस

राष्ट्रिय समाचार समिति नेपालकाे  सरकारी समाचार संस्था हाे ।

लेखकबाट थप