शुक्रबार, २१ वैशाख २०८१
ताजा लोकप्रिय

बाढीले बगाएको १० वर्षसम्म पनि नेपाल–भारत सीमा स्तम्भ बनेनन्

मङ्गलबार, २१ कात्तिक २०८०, १५ : ३८
मङ्गलबार, २१ कात्तिक २०८०

कञ्चनपुर । कञ्चनपुरमा बाढीले बगाएको १० वर्ष बितिसक्दा पनि नेपाल–भारत सीमा मुख्य स्तम्भ बन्न सकेको छैन । २०७० असार २ गते महाकाली नदीमा आएको बाढीले नेपाल–भारत सीमास्थित ८०५ नम्बरको मुख्य पिल्लर बगाएको थियो । उक्त पिल्लर अहिलेसम्म समेत बन्न नसकेको हो ।

उक्त दिन महाकाली नदीमा आएको बाढीले मुख्य सीमा स्तम्भसँगै भीमदत्त नगरपालिका–११ स्थित चौकीसोता क्षेत्रमा ठूलो क्षति पुर्‍याएको थियो । सीमा स्तम्भसँगै महाकाली जनज्योति प्राविको भवन समेत पूर्णरूपले बगाएको थियो । त्यो क्षेत्रबाट कैयौ परिवार समेत विस्थापित भएका थिए ।

नेपाल भारत सीमाको मुख्य स्तभको रूपमा रहेको उक्त पिल्लर अहिलेसम्म समेत पुर्नस्थापित हुन नसकेको हो । लामो समयसम्म पिल्लर नराखिँदा भारतीयहरूले सीमा क्षेत्रमा चलखेल गर्दै आएको स्थानीयको आरोप छ ।

उक्त सीमा स्तम्भ राख्न माग राख्दै स्थानीय प्रमुख जिल्ला अधिकारीमार्फत परराष्ट्रमन्त्रीको ध्यानाकर्षण गराइएको छ । तेज रावतसहितका स्थानीयले कञ्चनपुरका प्रमुख जिल्ला अधिकारी (सीडीओ) गोपाल कुमार अधिकारीलाई ज्ञापनपत्र बुझाइएको हो ।

यतिका वर्षसम्म समेत मुख्य सीमा स्तम्भ पुर्नस्थापित गर्नमा राज्यको ध्यान जान नसकेपछि स्थानीयको नाताले सरकारको ध्यानाकर्षण गराएको रावतको भनाई छ ।

उक्त क्षेत्रमा यतिबेला राष्ट्रिय गौरवको आयोजना बन्दैछ । महाकाली नदीमा चार लेनको पक्की पुल बन्नुका साथै बन्दरगाह समेत निर्माणाधीन अवस्थामा छ । सरकारले पुल र पक्की सडक धुमधामका साथ निर्माण गरिरहँदा मुख्य सीमा स्तम्भको समेत कुनै सोधीखोजी नभएको उनको भनाई छ ।

उक्त क्षेत्रबाट नेपाली कांग्रेस संसदीय दलका प्रमुख सचेतक रमेश लेखकले प्रतिनिधिसभा सदस्यको निर्वाचन जितेका हुन् । उनकै क्षेत्रमा रहेको मुख्य सीमा स्तम्भ बाढीले बगाएको यतिका वर्षसम्म बन्न नसकेको भन्दै त्यो क्षेत्रका स्थानीय आक्रोशित भएका छन् । उनीहरूले जति सक्दो चाँडो सीमा स्तम्भ पुर्ननिर्माण गर्न प्रमुख जिल्ला अधिकारीमार्फत सरकारको ध्यानाकर्षण गराएका हुन् ।

ज्ञापनपत्र बुझ्दै सीडीओ अधिकारीले उक्त क्षेत्रमा तत्काल निरीक्षण गर्ने बताएका थिए । सीमा स्तम्भबारे जानकारी पाएलगत्तै सीडीओ अधिकारीले निरीक्षण गरेर आवश्यक गृहकार्य अगाडि बढाउने बताएका हुन् । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप