मङ्गलबार, २५ वैशाख २०८१
ताजा लोकप्रिय

चेम्बर अफ कमर्सद्वारा कोसोभोसँग व्यापारिक साझेदारीको प्रस्ताव

मङ्गलबार, २१ कात्तिक २०८०, १७ : २०
मङ्गलबार, २१ कात्तिक २०८०

काठमाडौँ । नेपाल चेम्बर अफ कमर्सले कोसोभो देशसँग व्यापारिक साझेदारीको प्रस्ताव गरेको छ । बंगलादेशका लागि कोसोभोका राजदूत गुनेर उरेयासँग जमलस्थित चेम्बर भवनमा मंगलबार भएको भेटवार्तामा चेम्बरका अध्यक्ष राजेन्द्र मल्लले व्यापार एवं लगानीका लागि प्रस्ताव गरेका हुन् ।

कोसोभोमा नेपालको कूटनीतिक सम्बन्ध स्थापना नभए पनि व्यापार र लगानीको सम्भावना भएका क्षेत्रमा सहकार्यका लागि राजदूत उरेयासँग अध्यक्ष मल्लले आग्रह गरे । अध्यक्ष मल्लले भने, ‘दुवै देशको चेम्बर अफ कमर्सबीच सहकार्य गरेर व्यापार एवं संयुक्त लगानीको सम्भावना भएका क्षेत्रमा सहकार्यका लागि  प्रस्ताव गर्दछु, ।’

नेपालको जलविद्युत, पर्यटन एवं सूचना प्रविधिको क्षेत्रका लगानी गर्न अध्यक्ष मल्लले राजदूत उरेयासँग आग्रह गरे । नेपालमा लगानीको प्रतिफल सुनिश्चित गर्नका लागि चेम्बरले पहल गर्ने अध्यक्ष मल्लको भनाई छ । दुई मुलुकबिच व्यापार सहजीकरण एवं लगानीका साथै सांस्कृतिक आदान प्रदान गरेर पर्यटन गतिविधि बढाउन समेत उनले आग्रह गरे ।

राजदूतसँगको भेटका क्रममा अध्यक्ष मल्लले संयुक्त राष्ट्रसंघमार्फत कोसोभोको शान्ति स्थापनाका लागि नेपाली सेनाले खेलेको भूमिकाको स्मरण गरेका थिए । चेम्बर पदाधिकारीसँगको भेटवार्ताका क्रममा राजदूत उरेयाले हिमालयको देश नेपालबाट आफू निकै प्रभावित भएको बताए । उनले दुई मुलुकबिच व्यापार सहजीकरणका लागि पहल गर्ने बताए ।

 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप