बुधबार, २६ वैशाख २०८१
ताजा लोकप्रिय

भूकम्प प्रभावित क्षेत्रका नागरिकको समस्या समाधानमा सरकार लागिरहेको छ : मुख्यमन्त्री शर्मा

बुधबार, २२ कात्तिक २०८०, १९ : ३७
बुधबार, २२ कात्तिक २०८०

रुकुम पश्चिम । भूकम्प प्रभावित क्षेत्रमा रहेका कर्णालीका मुख्यमन्त्री राजकुमार शर्माले भूकम्प पीडितहरूको तत्कालको समस्या समाधानका लागि प्रदेश सरकार लागि परेको बताएका छन् । राहतका लागि पालिकालाई बजेट पठाउनेदेखि  राहत सामाग्री प्रभावित क्षेत्रमा पठाउने कार्य भइरहेको उनको भनाइ छ । 

भूकम्पले सृजना गरेको विपत्तिलाई सबै एकताबद्ध भएर सामना गर्नुपर्ने उनको भनाइ छ । बुधबार चौरजहारी नगरपालिका–४ का भूकम्प प्रभावितलाई राहत हस्तान्तरण गर्दै शर्माले भने, ‘विपत्तिलाई एक्लै होइन सामूहिकतामा मात्र सामान गर्न सम्भव छ । राहत पुनर्स्थापन र पुनर्निर्माण कार्य सबै मिलेर मात्र पूरा गर्न सकिन्छ ।’ 

शर्माले भूकम्प प्रभावितको खोज उद्धार, उपचारकार्य पश्चात् राहत र पुनस्थापनामा ध्यानअघि बढेको बताए । ‘जनताको सक्रियता, सरकार, सहयोगीदाता सबैको पहलबाट चुनौतीको सामना गर्न सकिन्छ,’ उनले भने, ‘ प्राकृतिक विपत्तिसँगै प्रभावितहरूको साथमा सरकार छ ।’ 

भूकम्प प्रभावित क्षेत्रमा प्रदेशको सिंगो मन्त्रिपरिषद् खटिएको छ । भूकम्प प्रभावितहरुले भने मुख्यमन्त्री शर्मासमक्ष तत्काल अस्थायी बसोबास व्यवस्थापन गरिदिन आग्रह गरे ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप