सोमबार, २४ वैशाख २०८१
ताजा लोकप्रिय

भूकम्पपीडितलाई तनहुँका दुई स्थानीय तहको १० लाख सहयोग

बिहीबार, २३ कात्तिक २०८०, २१ : ४८
बिहीबार, २३ कात्तिक २०८०

दमौली । जाजरकोट भूकम्पपीडितका लागि तनहुँका दुई स्थानीय तहले आर्थिक सहयोग गरेका छन् । जिल्लाको व्यास नगरपालिका र देवघाट गाउँपालिकाले भूकम्पपीडितको उद्धार र राहतका लागि रु १० लाख सहयोग गरेका हुन् । दुवै पालिकाले रु पाँच–पाँच लाख सहयोग गरेका छन् ।

व्यास नगरपालिकाको बैठकले विपद् व्यवस्थापन कोषबाट रु पाँच लाख सहयोग गर्ने निर्णय गरेको प्रमुख प्रशासकीय अधिकृत गङ्गालाल सुवेदीले जानकारी दिए । उनले भने, “विपद्को अवस्थामा देशैभरबाट सहयोग भइरहेको अवस्थामा हामीले पनि केही सहयोग गर्ने निर्णय गरेका हौँ ।”

नगरपालिकाले भूकम्पबाट जाजरकोट र रुकुम पश्चिममा ज्यान गुमाउनेप्रति श्रद्धाञ्जलि व्यक्त गर्दै घाइतेको शीघ्र स्वास्थ्यलाभको कामना गरेको छ । 

भूकम्पबाट व्यास नगरपालिकाभित्र पनि केही घरहरु भत्किन गएको सूचना प्राप्त भएकाले सबै नगरवासी दाजुभाइलाई सुरक्षित रहन, कुनै विपद्जन्य अवस्था आइपरेमा नगरपालिकालाई सूचित गर्न आग्रह गरिएको छ ।

जाजरकोट भूकम्पपीडितका लागि तनहुँकै देवघाट गाउँपालिकाले पनि रु पाँच लाख सहयोग गर्ने निर्णय गरेको छ । यस्तै नेपाली कांग्रेस तनहुँका तर्फबाट रु २५ हजार सहयोगको निर्णय भएको छ । देवघाट गाउँपालिकाका प्रमुख तिलबहादुर थापाले भूकम्पपीडितका लागि सर्वसाधारणबाट पनि राहत सङ्कलन भइरहेको जानकारी दिए ।

गाउँपालिकाले भूकम्पपीडितका लागि थप सहयोग गर्न वडा नं २ का अध्यक्ष मीनबहादुर रानाको संयोजकत्वमा राहत सङ्कलन समितिसमेत गठन गरेको छ । गाउँपालिकाका अध्यक्ष थापाले भन्नुभयो, “सहयोग गर्न इच्छुकलाई सहयोगका लागि आह्वान गरेका छौँ । सबै वडाबाट स्वतःस्फूर्तरूपमा सहयोग सङ्कलन गरिनेछ ।” 
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रासस
रासस

राष्ट्रिय समाचार समिति नेपालकाे  सरकारी समाचार संस्था हाे ।

लेखकबाट थप