बुधबार, १९ वैशाख २०८१
ताजा लोकप्रिय
विश्वकप फाइनल

अस्ट्रेलिया छैटौँ र भारत तेस्रो उपाधिको खोजीमा, कसको पल्ला भारी ?

घरेलु मैदान र लगातारको जितबाट उत्साही भारत, कम छैन अस्ट्रेलिया पनि
आइतबार, ०३ मङ्सिर २०८०, ०९ : ४५
आइतबार, ०३ मङ्सिर २०८०

काठमाडौँ । आईसीसी एकदिवसीय विश्वकपको १३औँ संस्करणको उपाधिका लागि आइतबार आयोजक राष्ट्र भारत र अस्ट्रेलियाबिच भिडन्त हुँदैछ । दिवा—रात्री फाइनल खेल अहमादाबादस्थित नरेन्द्र मोदी स्टेडियममा नेपाली समयअनुसार, दिउँसो २:१५ बजे सुरु हुनेछ ।

अस्ट्रेलिया पाँच पटकको एकदिवसीय विश्व च्याम्पियन राष्ट्र हो भने भारतले हालसम्म दुईपटक एकदिवसीय विश्वकपको उपाधि जितेको छ । जारी विश्वकपमा पनि भारत र अस्ट्रेलिया दुवै टोली लयमा देखिएका छन् ।

भारत प्रारम्भिक चरणमा खेलिएको नौवटै खेलमा विजयी हुँदै अङ्क तालिकाको पहिलो स्थानमा रहेर सेमिफाइनलमा पुगेको थियो । भारतले सेमिफाइनल भिडन्तमा पनि बलियो प्रतिद्वन्द्वी न्युजिल्यान्डलाई ७० रनले हराएको थियो ।

F_NTX9lbYAAsGNV

अस्ट्रेलिया भने यो विश्वकपको प्रारम्भमा निराशाजनक प्रदर्शन गरेपछि लयमा फर्किएको टोली हो । अस्ट्रेलियाले प्रारम्भिक चरणमा खेलेका नौमध्ये सात खेलमा जित हात पारेको थियो । अस्ट्रेलियन टोली प्रारम्भिक चरणमा भारत र दक्षिण अफ्रिकासँग भने पराजित भएको थियो ।

अस्ट्रेलिया अङ्क तालिकाको दोस्रो स्थानमा रहेर सेमिफाइनलमा प्रवेश गरेको थियो । तर, सेमिफाइनल खेलमा भने अस्ट्रेलिया बलियो प्रतिद्वन्द्वी दक्षिण अफ्रिकालाई सात विकेटले हराएर आफ्नो वास्तविक क्षमताको परिचय दिएको थियो ।

यही अस्ट्रेलियन टोली प्रारम्भिक चरणको खेलमा भने निराशाजनक प्रदर्शन गर्दै दक्षिण अफ्रिकासँग एक सय ३४ रनको विशाल अन्तरले पराजित भएको थियो । त्यसअघि आफ्नो पहिलो खेलमा अस्ट्रेलियन टोली भारतसँग ६ विकेटले हारेको थियो ।

जारी विश्वकपमा भारत र अस्ट्रेलिया दुवै टोलीको ब्याटिङ, बलिङ र फिल्डिङ गरी तीनवटै पक्ष निकै सन्तुलित देखिएको छ । यी दुवै टोलीका ब्याट्सम्यान कुनै पनि बेला खेलको नतिजालाई आफ्नो पक्षमा पार्न खप्पिस देखिएका छन् ।

घरेलु मैदान र लगातारको जितबाट उत्साही भारत

भारतले यो विश्वकपमा हालसम्म अपराजित रहँदै आफ्नो क्षमता प्रदर्शन गरिसकेको छ । प्रारम्भिक चरणमा खेलेको नौवटै खेलमा जित हात पार्दै भारत प्रतियोगिताको सेमिफाइनलमा पुगेको हो । सेमिफाइनलमा पनि भारतले बलियो प्रतिद्वन्द्वी न्युजिल्यान्डलाई हराएको थियो ।

समग्रमा फाइनलसम्मको यात्रा तय गर्दासम्म भारतले लगातार १० वटा खेल जितिसकेको छ । यो सफलताले फाइनलअघि भारतको आत्मविश्वास पनि निकै बढाएको छ । यसदेखि वाहेक हरेक खेलमा भारतले आफ्ना प्रतिद्वन्द्वीहरूलाई ठुलो अन्तरले हराएको छ ।

हरेक बलिया टोली यो विश्वकपमा भारतसामु निरीह देखिएका छन् । भारतले पहिलो खेलमा पाँच पटकको विश्वकप विजेता अस्ट्रेलियालाई ६ विकेटले हराएको थियो । त्यसपछि दोस्रो खेलमा अफगानिस्तानलाई आठ विकेटले पराजित गरेको थियो ।

यसैगरी भारतले आफ्नो तेस्रो खेलमा चिर प्रतिद्वन्द्वी पाकिस्तानमाथि सात विकेटको जित हात पारेको थियो भने चौथो खेलमा बंगलादेशलाई पनि सात विकेटले नै पाखा लगाएको थियो । पाँचौँ खेलमा भारतले साबिक उपविजेता न्युजिल्यान्डलाई पनि चार विकेटले हराएको थियो ।

यसका अतिरिक्त भारतले आफ्नो छैटौँ खेलमा साबिक विजेता इङ्ल्यान्डलाई एक सय रनले, सातौँ खेलमा पूर्वविजेता श्रीलंकालाई तीन सय दुई रनले, आठौँ खेलमा दक्षिण अफ्रिकालाई दुई सय ४३ रनले र नवौँ खेलमा नेदरल्यान्ड्सलाई एक सय ६० रनले हराएको थियो ।

भारतले सेमिफाइनलमा खेलमा पनि न्युजिल्यान्डलाई ७० रनले पराजित गरेको थियो । यसबाट स्पष्ट हुन्छ, जारी विश्वकपमा लयमा देखिएको भारतसामु हरेक टोली निरीह बनेका छन् । यसका अतिरिक्त घरेलु मैदानमा खेल्न पाउनु भारतका लागि अर्को सबल पक्ष रहेको छ ।

भारतीय टोलीका खेलाडी आफ्नो देशभित्रका हरेक स्टेडियमको चरित्रसँग भलिभाँती परिचित छन् । कुन स्टेडियमको पिचले कुन समयको कस्तो चरित्र देखाउँछ भन्ने कुराको अनुभव भारतीय खेलाडीसँग छ । त्यसैले लगातार आफ्नो पक्षमा हुटिङ गरिरहेका हजारौँ दर्शकसामु घरेलु मैदानमा खेल्न पाउनु भारतका लागि अर्को सकारात्मक पक्ष हो ।

कम छैन अस्ट्रेलिया पनि

जारी विश्वकपको प्रारम्भिक चरणमा अस्ट्रेलियाले दुई खेलमा मात्र पराजय भोगेको छ । पहिलो खेलमा भारत र दोस्रो खेलमा दक्षिण अफ्रिकासँग पराजित भएपछि अस्ट्रेलिया लयमा फर्किएको थियो । त्यसपछि भने अस्ट्रेलियाले लगातार सात खेल जितेको थियो ।

दक्षिण अफ्रिकासँग भोगेको हारको बदला अस्ट्रेलियाले सेमिफाइनलमा लिइसकेको छ । अब फाइनलमा अस्ट्रेलियाले भारतको सामना गर्दैछ । अस्ट्रेलिया आइतबार हुने फाइनलमा भारतलाई हराउँदै प्रारम्भिक चरणमा भोगेको हारको बदला लिँदै छैटौँ पटक विश्वकपको उपाधि चुम्ने धुनमा देखिएको छ ।

अस्ट्रेलियाले आफू जुनसुकै बेला खेलको नतिजालाई आफ्नो पक्षमा पार्न सक्षम रहेको उदाहरण पनि अफगानिस्तान, न्युजिल्यान्ड र दक्षिण अफ्रिकाविरुद्धको खेलमा दिइसकेको छ । मुम्बईस्थित वानखेड स्टेडियममा खेलिएको अफगानिस्तानविरुद्धको खेलमा अस्ट्रेलिया दुई सय ९२ रनको लक्ष्य पछ्याउँदै जवाफी ब्याटिङमा ओर्लिएको थियो ।

 त्यो खेलमा पालीको अत्यन्तै निराशाजनक सुरुआत गरेको अस्ट्रेलियाले केवल ९१ रनको कुल स्कोरमा सात प्रभावशाली विकेट गुमाइसकेको थियो । त्यतिबेलासम्म अस्ट्रेलिया हारको सँघारमा पुगिसकेको थियो । त्यतिबेला क्रिजमा थिए, छैटौँ नम्बरका ब्याट्सम्यान ग्लेन म्याक्सवेल र कप्तान प्याट कमिन्स ।

त्यसमाथि ३५ वर्षीय म्याक्सवेल आफै घाइते अवस्थामा रहेका थिए । केही दिनअघि गल्फ खेल्नेक्रममा उनलाई चोट लागेको थियो । सोही कारणले उनले इङ्ल्यान्डविरुद्धको खेल पनि गुमाएका थिए । त्यसैले मंगलबार अफगानिस्तानविरुद्ध उनले गतिलो प्रदर्शन गर्नेमा कोही पनि विश्वस्त थिएन ।

 तर, त्यो खेलमा म्याक्सवेलले जे गरेर देखाए त्यो विश्व क्रिकेटका थुप्रै हस्तीहरूकै लागि पनि अविश्वासिलो थियो । म्याक्सवेलले थुप्रै कीर्तिमानबिच अविजित रहँदै दोहोरो सतक प्रहार गर्दै अस्ट्रेलियालाई तीन विकेटको जित दिलाएका थिए । त्यही जितपछि अस्ट्रेलिया सेमिफाइनलमा पुग्ने तेस्रो टोली बनेको थियो ।

 त्यो खेलमा म्याक्सवेलले जादुमयी प्रदर्शन गर्दै केवल एक सय २८ बलको सामना गरी १० छक्का र २१ वटा चौका प्रहार गरेका थिए । कप्तान कमिन्सले पनि म्याक्सवेललाई गतिलो साथ दिँदै ६८ बलमा अविजित १२ रन बनाएका थिए ।

 यसका अतिरिक्त प्रारम्भिक चरणमा न्युजिल्यान्डविरुद्ध पनि अस्ट्रेलियन टोलीले उत्कृष्ट प्रदर्शन गर्दै नतिजालाई आफ्नो पक्षमा पारेको थियो । त्यो खेलमा अस्ट्रेलियाले पहिले ब्याटिङ गर्दै ४९.२ ओभरमा अलआउट हुनुअघि तीन सय ८८ रन बनाएको थियो ।

 तर, अस्ट्रेलियन बलरहरूले जितको अत्यन्तै नजिक पुगिसकेको न्युजिल्यान्डलाई तीन सय ८३ रनमै रोक्दै आफ्नो क्षमताको परिचय दिएका थिए । त्यो खेलमा अस्ट्रेलियन टोली केवल पाँच रनले विजयी भएको थियो ।

 यसका अतिरिक्त दक्षिण अफ्रिकाविरुद्धको सेमिफाइनल खेलमा पनि अस्ट्रेलियाका मिचेल स्टार्क, जोस हेजलउड, प्याट कुमिन्स, ट्राभिस हेडजस्ता प्रभावशाली बलरहरूले उत्कृष्ट प्रदर्शन गर्दै नतिजालाई आफ्नो पक्षमा पारेका थिए । त्यो खेलको प्रारम्भमै लगातार चार विकेट लिँदै अस्ट्रेलियन बलरहरूले न्युजिल्यान्डलाई दबाबमा राखेका थिए ।

न्युजिल्यान्डले केवल २४ रनको चार विकेट गुमाइसकेको थियो । सोही कारणले ४९.४ ओभरमा अलआउट हुनुअघि न्युजिल्यान्ड दुई सय १२ रनमात्र बनाउन सक्यो । जवाफी ब्याटिङमा ओर्लिएको अस्ट्रेलियाले पनि सजिलो जित भने हात पार्न सकेन ।

 एक सय ३७ रनमा पाँच र एक सय ७६ रनमा ६ विकेट गुमाएपछि अस्ट्रेलिया दबाबमा परेको थियो । त्यसपछि तल्लोक्रमका ब्याट्सम्यानहरुले सम्हालिएर ब्याटिङ गर्दै अस्ट्रेलियालाई जितसम्म पु¥याएका थिए । यसबाट पनि स्पष्ट हुन्छ, जारी विश्वकपमा अस्ट्रेलियन टोली कुनै पनि समय नतिजालाई आफ्नो पक्षमा पार्न सक्षम देखिन्छन् ।

 दुई उपाधि विजेता भारत चौथोपटक फाइनलमा

 सन् १९७५ देखि सुरु भएको आईसीसी एकदिवसीय विश्वकपमा हालसम्म १२ वटा उपाधिको छिनोफानो भइसकेको छ । भारत र अस्ट्रेलियाले पहिलो संस्करणदेखि नै विश्वकपमा सहभागिता जनाउँदै आएका छन् ।

हालसम्म ६ वटा राष्ट्रले मात्र एकदिवसीय विश्वकपको उपाधि जित्न सकेका छन् । त्यसमध्ये पनि विश्वकपको सातवटा उपाधि त अस्ट्रेलिया र भारतले मात्र चुमेका छन् । अस्ट्रेलियाले हालसम्म पाँचपटक विश्वकपको उपाधि जितिसकेको छ ।

GettyImages-111479334

भारत र वेस्ट इन्डिजले दुई—दुईपटक उपाधि चुमेका छन् । यसदेखि वाहेक पाकिस्तान, श्रीलंका र इङ्ल्यान्डले एक—एक पटक उपाधि हात पारेका छन् । अस्ट्रेलियाले भन्दा पहिले भारतले एकदिवसीय विश्वकपको उपाधि जितेको थियो । तर, भारतभन्दा पहिले नै अस्ट्रेलिया विश्वकपको फाइनलसम्म पुगेको थियो ।

 सन् १९७५ मा अस्ट्रेलियालाई नै हराउँदै वेस्ट इन्डिजले पहिलो विश्वकपको उपाधि चुमेको थियो । पहिलो र दोस्रो संस्करणको उपाधि वेस्ट इन्डिजले जितेपछि तेस्रो संस्करणमा भारत च्याम्पियन बनेको थियो । सन् १९८३ मा भएको तेस्रो संस्करणको फाइनलमा कपिल देवको कप्तानीमा रहेको भारतले वेस्ट इन्डिजलाई ४३ रनले हराएको थियो ।

त्यसपछि भारतीय टोलीले विश्वकपको फाइनलमा पुग्न २० वर्ष लामो प्रतीक्षा गर्नु पर्‍यो । सन् १९९८ पछि भारतीय टोली एकैपटक सन् २००३ मा आयोजना भएको आठौँ विश्वकपको फाइनलमा पुगेको थियो । तर, त्यो विश्वकपको फाइनलमा भारतीय टोली अस्ट्रेलियासँगै एक सय २५ रनले पराजित हुन पुगेको थियो ।

त्यसको आठ वर्षपछि सन् २०११ मा आफ्नै देशमा आयोजित १०औँ विश्वकपमा आएरमात्र भारतीय टोलीलाई च्याम्पियन बन्ने सौभाग्य जुरेको थियो । सन् २०११ मा आयोजित विश्वकपको फाइनलमा भारतले सह—आयोजक श्रीलंकालाई ६ विकेटले हराउँदै उपाधि चुमेको थियो । त्यसको १२ वर्षपछि अहिले भारत फेरि घरेलु मैदानमै आयोजित विश्वकपको फाइनलसम्म पुगेको छ ।

पाँच उपाधि विजेता अस्ट्रेलियाको आठौँ फाइनल यात्रा

अस्ट्रेलिया सबैभन्दा बढीपटक आईसीसी एकदिवसीय विश्वकपको उपाधि जित्ने राष्ट्र हो । अस्ट्रेलियाले हालसम्म पाँचपटक एकदिवसीय विश्वकपको उपाधि जितिसकेको छ । समग्रमा भने अस्ट्रेलिया आठौँ पटक एकदिवसीय विश्वकपको फाइनलमा पुगेको हो ।   

अस्ट्रेलिया सन् १९७५ मा आयोजित पहिलो विश्वकपमै फाइनलसम्म पुगेको थियो । तर, त्यतिबेला अस्ट्रेलियन टोली फाइनलमा वेस्ट इन्डिजसँग १७ रनले पराजित भएको थियो । त्यसपछि एकैपटक सन् १९८७ मा अस्ट्रेलिया विश्वकपको फाइनलमा पुग्न सफल भयो ।

 सन् १९८७ मा आयोजित चौथो विश्वकपको उपाधि नै अस्ट्रेलियाले जितेको थियो । त्यतिबेला अस्ट्रेलियाले फाइनलमा इङ्ल्यान्डलाई सात रनले पराजित गरेको थियो । अस्ट्रेलियाले जितेको यो पहिलो एकदिवसीय विश्वकप थियो ।

 त्यसको नौ वर्षपछि सन् १९९६ मा आयोजित छैटौँ विश्वकपमा पनि अस्ट्रेलिया फाइनलसम्म पुगेको थियो । तर, त्यो विश्वकपको फाइनलमा अस्ट्रेलियन टोली एसियाली राष्ट्र श्रीलंकासँग सात विकेटले पराजित भएको थियो ।

 त्यसको तीन वर्षपछि नै आयोजित सातौँ विश्वकपमा फेरि अस्ट्रेलियन टोली फाइनलमा पुग्न सफल भयो । त्यो विश्वकपको उपाधि पनि अस्ट्रेलियाले नै जितेको थियो । त्यतिबेला फाइनलमा अस्ट्रेलियाले पाकिस्तानलाई आठ विकेटले हराएको थियो ।

GettyImages-1866579

सन् १९९९ देखि सन् २००७ सम्म त अस्ट्रेलियाले एकदिवसीय विश्वकपमा एकछत्र राज गरेको थियो । यसबिचमा अस्ट्रेलियाले लगातार तीनवटा उपाधि चुमेर आफ्नो उत्कृष्टता सिद्ध गरेको थियो । सन् २००३ मा आयोजित आठौँ विश्वकपको फाइनलमा भारतलाई एक सय २५ रनले हराउँदै अस्ट्रेलियाले उपाधि जित्यो ।

 यसैगरी सन् २००७ मा भएको नवौँ विश्वकपको फाइनलमा अस्ट्रेलियाले श्रीलंकालाई ‘डकवर्थ एन्ड लुइस’ नियमका आधारमा ५३ रनले हराउँदै उपाधि चुमेको थियो । समग्रमा अस्ट्रेलियाले जितेको यो चौथो विश्वकप उपाधि थियो ।

 यसैगरी सन् २०१५ मा घरेलु मैदानमा आयोजित ११औँ विश्वकपमा अस्ट्रेलिया फेरि विश्वकपको फाइनलसम्म पुग्न सफल भयो । त्यो विश्वकपको उपाधि पनि अस्ट्रेलियाले नै जित्यो । त्यतिबेला अस्ट्रेलियाले फाइनलमा सह—आयोजक न्युजिल्यान्डलाई सात विकेटले हराएको थियो । समग्रमा अस्ट्रेलियाले जितेको यो पाँचौँ उपाधि थियो । यसपटक फेरि अस्ट्रेलिया विश्वकपको फाइनलसम्म पुगेको छ । विश्वकपमा अस्ट्रेलियाको यो आठौँ फाइनल यात्रा हो । 

 एकदिवसीय खेलको तथ्याङ्क : अस्ट्रेलिया ८३ र भारत ५७

हालसम्म यी दुई राष्ट्रबिच खेलिएको एकदिवसीय अन्तर्राष्ट्रिय क्रिकेटको इतिहासले भने भारतको तुलनामा अस्ट्रेलियालाई नै बलियो देखाउँछ । यी दुई राष्ट्रबिच हालसम्म एक सय ५० वटा एकदिवसीय अन्तर्राष्ट्रिय प्रतियोगिता खेलिएको छ ।

 त्यसमध्ये ८३ खेलमा अस्ट्रेलियाले भारतलाई हराएको थियो । ५७ एकदिवसीय खेलमा भने भारतले अस्ट्रेलियालाई पराजयको स्वाद चखाएको छ । यी दुई राष्ट्रबिचको १० वटा एकदिवसीय खेल भने अनिर्णीत रूपमा सकिएको छ ।

zampa

यसैगरी आफ्नो घरेलु मैदानमा खेलिएको ३८ एकदिवसीय खेलमा अस्ट्रेलियाले भारतलाई हराएको छ । भारतले भने घरेलु मैदानमा खेलिएको ३३ खेलमा अस्ट्रेलियालाई पराजित गरेको छ । अस्ट्रेलियाले हालसम्म ३३ एकदिवसीय खेलमा भारतलाई उसैको घरेलु मैदानमा पराजित गरेको छ । 

भारतले भने अस्ट्रेलियाको घरेलु मैदानमा १४ खेलमात्र जित्न सकेको छ । यसका अतिरिक्त ‘न्यूट्रल भेन्यू’ मा खेलिएको १२ खेलमा अस्ट्रेलिया विजयी भएको छ भने १० खेलमा भारतले सफलता हात पारेको छ । पछिल्लो पटक यी दुई राष्ट्रबिच खेलिएको तीन खेलको एकदिवसीय शृङ्खलामा भारत २—१ ले विजयी भएको थियो ।

विश्वकपमा अस्ट्रेलियाको आठ र भारतको पाँच जित

अस्ट्रेलिया र भारत दुवैले पहिलो संस्करणदेखि नै एकदिवसीय विश्वकपमा सहभागिता जनाउँदै आएका छन् । यसबिचमा यी दुई राष्ट्रले विश्वकपमा कुल १३ वटा खेल खेलेका छन् । एकदिवसीय विश्वकपमा खेलिएको खेलको तथ्याङ्कले पनि भारतभन्दा अस्ट्रेलियालाई नै बलियो देखाउँछ । 

एकदिवसीय विश्वकपको आठ खेलमा अस्ट्रेलियाले भारतलाई हराएको छ । भारतले भने विश्वकपको पाँच खेलमा मात्र अस्ट्रेलियालाई हराउन सकेको छ । सबैभन्दा पहिले सन् १९८३ को विश्वकपमा यी दुई राष्ट्रले दुईपटक आपसमा भिडन्त गरेका थिए । त्यतिबेला एउटा खेलमा भारत एक सय १८ रनले र अर्को खेलमा अस्ट्रेलिया एक सय ६२ रनले विजयी भएका थिए ।

368504

त्यसपछि सन् १९८७ को विश्वकपमा पनि यी दुई राष्ट्रबिच दुई खेल भएको थियो । त्यतिबेला एउटा खेलमा भारत ५६ रनले र अर्को खेलमा अस्ट्रेलिया एक रनले विजयी भएका थिए । सन् १९९२ को विश्वकपमा भने अस्ट्रेलियाले भारतलाई एक रनले पराजित गरेको थियो । 

यसैगरी सन् १९९६ को विश्वकपमा पनि अस्ट्रेलियाले भारतलाई १६ रनले हराएको थियो । सन् १९९९ को विश्वकपमा पनि अस्ट्रेलियन टोलीले भारतलाई ७७ रनले पराजित गरेको थियो । सन् २००३ को विश्वकपमा भने यी दुई राष्ट्रबिच दुई खेल खेलिएको थियो । त्यतिबेला दुवै खेलमा अस्ट्रेलिया क्रमशः नौ विकेट र एक सय २५ रनले विजयी भएको थियो ।

यसैगरी सन् २०११ को विश्वकपमा भारतले अस्ट्रेलियालाई पाँच विकेटले हराएको थियो । सन् २०१५ को विश्वकपमा अस्ट्रेलियाले भारतलाई ९५ रनले पराजित गरेको थियो । सन् २०१९ को विश्वकपमा भारतले अस्ट्रेलियालाई ३६ रनले हराएको थियो । 

यसका अतिरिक्त हाल भारतमा जारी विश्वकपमा पनि प्रारम्भिक चरणमा यी दुई राष्ट्रबिच भिडन्त भइसकेको छ । उक्त खेलमा भारतले अस्ट्रेलियालाई ६ विकेटले हराएको थियो । एकदिवसीय विश्वकपमा खेलिएका पछिल्ला दुई खेलमा लगातार भारतले अस्ट्रेलियालाई हराएको छ ।

१३औँ विश्वकप : भारतको नाममा लेखिएको कीर्तिमान

घरेलु मैदानमा जारी विश्वकपको फाइनलमा पुग्दासम्म भारतले थुप्रै कीर्तिमान आफ्नो नाममा लेखाइसकेको छ । जारी विश्वकपको एउटै खेलमा सर्वाधिक रन बनाउने टोलीको सूचिमा भारत दोस्रो स्थानमा आसीन छ । नेदरल्यान्ड्सविरुद्धको खेलमा भारतले निर्धारित ओभरमा चार विकेट गुमाएर चार सय १० रन बनाएको थियो । 

370508

जारी विश्वकपको एउटै खेलमा सर्वाधिक रन बनाउने टोली भने दक्षिण अफ्रिका हो । दक्षिण अफ्रिकाले श्रीलंकाविरुद्धको खेलमा पाँच विकेट गुमाएर चार सय २८ रन बनाएको थियो । आफ्नो विपक्षीलाई सबैभन्दा कम योगफलमा अलआउट गर्ने कीर्तिमान पनि भारतकै नाममा छ । भारतले श्रीलंकालाई १९.४ ओभरमा केवल ५५ रनमा आउट गरेको थियो ।

यो सूचिको दोस्रो स्थानमा पनि भारत नै रहेको छ । भारतले दक्षिण अफ्रिकालाई २७.१ ओभरमा ८३ रनमा अलआउट गराएको थियो । यो सूचिको चौथो स्थानमा पनि भारत नै रहेको छ । भारतले साविक विजेता इङ्ल्यान्डलाई ३४.५ ओभरमा एक सय २९ रनमा अलआउट गरेको थियो ।

यो विश्वकपमा आफ्नो विपक्षीलाई सबैभन्दा ठुलो रनअन्तरले हराउने टोलीको सूचिमा भारत दोस्रो र तेस्रो स्थानमा आसीन छ । भारतले श्रीलंकालाई तीन सय दुई रनले हराएको थियो । अर्को खेलमा भारतले दक्षिण अफ्रिकालाई दुई सय ४३ रनले पराजित गरेको थियो । 

यसैगरी जारी विश्वकपमा सबैभन्दा बढी रन बनाउने खेलाडीको सूचिको अग्रस्थानमा पनि भारतीय ब्याट्सम्यान नै रहेका छन् । भारतीय टोलीका प्रभावशाली ब्याट्सम्यान विराट कोहलीले यो विश्वकपको १० खेलमा कुल सात सय ११ रन बनाइसकेका छन् । 

virat kohli

यसक्रममा विराटले तीन शतक र पाँचवटा अर्धशतक प्रहार गरेका छन् । जारी विश्वकपमा उनले हालसम्म नौ छक्का र ६४ चौका हिर्काएका छन् । उनी यो विश्वकपमा सर्वाधिक चौका प्रहार गर्ने खेलाडी पनि हुन् । उनले यो विश्वकपमा १०१.५७ को औसतमा रन बनाएका छन् । यसमा पनि विराट सबैभन्दा अगाडि छन् । 

सर्वाधिक रन बनाउने ब्याट्सम्यानको सूचिमा पाँचौँ स्थानमा पनि भारतीय खेलाडी नै छन् । भारतीय टोलीका कप्तान रोहित शर्माले यो विश्वकपमा हालसम्म १० खेल खेल्दै कुल पाँच सय ५० रन बनाइसकेका छन् । यसक्रममा उनले एक शतक र तीन अर्धशतक बनाएका छन् । उनले २८ छक्का र ६२ चौका प्रहार गरिसकेका छन् । उनी यो विश्वकपमा सर्वाधिक छक्का प्रहार गर्ने खेलाडी पनि हुन् । सर्वाधिक चौको प्रहार गर्ने ब्याट्सम्यानको सूचिमा भने उनी दोस्रो स्थानमा छन् । 

यसैगरी यो विश्वकपमा सर्वाधिक रनको साझेदारी गर्ने ब्याट्सम्यानको सूचिमा भारतका श्रेयस ऐयर र केएल राहुल तेस्रो स्थानमा छन् । यी दुई भारतीय ब्याट्सम्यानले नेदरल्यान्ड्सविरुद्धको खेलमा चौथो विकेटका लागि दुई सय आठ रनको साझेदारी गरेका थिए । उनीहरुले चौथो विकेटका लागि गरेको साझेदारी भने सबैभन्दा ठुलो हो । 

यसैगरी जारी विश्वकपमा सबैभन्दा बढी विकेट लिने बलरको सूचिमा भारतका मोहम्मद सामी पहिलो स्थानमा छन् । उनले जारी विश्वकपको ६ पालीमा २३ विकेट लिइसकेका छन् । उनी विश्वकपको एउटै खेलमा सर्वाधिक विकेट लिने बलर पनि हुन् । उनले न्युजिल्यान्डविरुद्धको सेमिफाइनलमा ९.५ ओभर बलिङ गर्दै ५७ रन खर्चिएर सात विकेट लिएका थिए । उनी जारी विश्वकपमा सबैभन्दा बढी तीनपटक म्यान अफ दी म्याचको पुरस्कार पाउने खेलाडी पनि हुन् । 

यसका अतिरिक्त सबैभन्दा बढी मेडन ओभर फाल्ने बलरको सूचिमा भारतका जसप्रित बुमराह तेस्रो स्थानमा छन् । उनले ८२.५ ओभर बलिङ गर्दै सात ओभर मेडन फालेका थिए । सबैभन्दा बढी ‘डट बल’ फाल्ने बलरको सूचिमा भारतका बुमराह पहिलो स्थानमा छन् । उनले तीन सय ३५ वटा ‘डट बल’ फालेका छन् । 

यसैगरी एउटै खेलमा पाँच वा त्योभन्दा बढी विकेट लिने बलरहरुको सूचिमा भारतका तीनजना खेलाडी छन् । यो विश्वकपमा भारतीय बलर मोहम्मद सामी, रविन्द्र जडेजा र मोहम्मद सामीले एउटै खेलमा पाँच वा त्योभन्दा बढी विकेट लिएका छन् । सामीले यस्तो सफलता दुईपटक हात पारेका छन् । 

यसैगरी विकेटकिपरको भूमिकामा सबैभन्दा बढी ब्याट्सम्यानलाई पभेलियन फर्काउने खेलाडीको सूचिमा भारतका केएल राहुल दोस्रो स्थानमा छन् । उनले हालसम्म विपक्षी टोलीका १६ ब्याट्सम्यानलाई पभेलियन फर्काएका छन् । यसक्रममा उनले १५ वटा क्याच लिएका छन् भने एक ब्याट्सम्यानलाई स्टम्पिङ गरेका छन् । 

१३औँ विश्वकप : अस्ट्रेलियाको नाममा लेखिएको कीर्तिमान

 जारी विश्वकपमा फाइनलको यात्रा तय गर्दासम्म अस्ट्रेलियाले पनि आफ्नो नाममा थुप्रै कीर्तिमान लेखाइसकेको छ । जारी विश्वकपको एउटै खेलमा सर्वाधिक रन बनाउने टोलीको सूचिमा अस्ट्रेलिया पाँचौँ स्थानमा आसीन छ । अस्ट्रेलियाले नेदरल्यान्ड्सविरुद्धको खेलमा आठ विकेट गुमाएर तीन सय ९९ रन बनाएको थियो । 

आफ्नो विपक्षीलाई सबैभन्दा कम योगफलमा समेट्ने टोलीको सूचिमा पनि अस्ट्रेलिया तेस्रो स्थानमा आसीन छ । अस्ट्रेलियाले नेदरल्यान्ड्सलाई २१ ओभरमा केवल ९० रनमा अलआउट गरेको थियो । एउटै खेलमा बनेको सर्वाधिक रनको कीर्तिमान पनि अस्ट्रेलिया र न्युजिल्यान्डको नाममा छ । यी दुई टोलीबिच खेलिएको खेलमा कुल सात सय ७१ रन बनेको थियो । 

यसैगरी विपक्षी टोलीलाई सबैभन्दा ठुलो रन अन्तरले हराउने कीर्तिमान पनि अस्ट्रेलियाकै नाममा लेखिएको छ । प्रारम्भिक चरणको खेलमा अस्ट्रेलियाले नेदरल्यान्ड्सलाई तीन सय नौ रनको विशाल अन्तरले पराजित गरेको थियो । 

यसका अतिरिक्त आफ्नो प्रतिद्वन्द्वीलाई सबैभन्दा कम रनको अन्तरले हराउने कीर्तिमान पनि अस्ट्रेलियन टोलीको नाममा छ । अस्ट्रेलियाले न्युजिल्यान्डलाई केवल पाँच रनले हराएको थियो । सबैभन्दा ठुलो विजय लक्ष्य पुरा गर्ने टोलीको सूचिमा पनि अस्ट्रेलिया दोस्रो र तेस्रो स्थानमा आसीन छ । 

अस्ट्रेलियाले बंगलादेशविरुद्धको खेलमा ४४.४ ओभरमा केवल दुई विकेट गुमाएर तीन सय सात रनको विजय लक्ष्य पुरा गरेको थियो । अर्को खेलमा अस्ट्रेलियाले अफगानिस्तानले दिएको दुई सय ९२ रनको लक्ष्य ४६.५ ओभरमा सात विकेट गुमाएर पुरा गरेको थियो । 

यसैगरी जारी विश्वकपको एउटै खेलमा सर्वाधिक रन बनाउने खेलाडीको सूचिमा अस्ट्रेलियन ब्याट्सम्यान पहिलो स्थानमा छन् । अफगानिस्तानविरुद्धको खेलमा अस्ट्रेलियाका ग्लेन म्याक्सवेलले अविजित दुई सय एक रन बनाएका थिए । यो सूचिमा अस्ट्रेलियाकै मिचेल मार्स दोस्रो स्थानमा छन् । उनले भने बंगलादेशविरुद्ध अविजित एक सय ७७ रन बनाएका थिए । 

एउटै खेलमा सर्वाधिक रन बनाउने ब्याट्सम्यानको सूचिमा अस्ट्रेलियाकै डेभिड वार्नर चौथो स्थानमा छन् । उनले पाकिस्तानविरुद्धको खेलमा एक सय ६३ रन बनाएका थिए । जारी विश्वकपमा अस्ट्रेलियन ब्याट्सम्यान ग्लेन म्याक्सवेलको ‘स्ट्राइक रेट’ सबैभन्दा उत्कृष्ट रहेको छ । उनले १५०.१८ को ‘स्ट्राइक रेट’ मा रन बनाएका छन् । 

यो सूचिमा अस्ट्रेलियाकै ट्राभिस हेड दोस्रो स्थानमा छन् । उनले १३९.१३ को ‘स्ट्राइक रेट’ मा रन बनाएका छन् । सर्वाधिक छक्का प्रहार गर्ने खेलाडीको सूचिमा अस्ट्रेलियाका डेभिड वार्नर दोस्रो र ग्लेन म्याक्सवेल तेस्रो स्थानमा छन् । वार्नरले २४ र म्याक्सवेलले २२ छक्का प्रहार गरिसकेका छन् ।

यसैगरी यो विश्वकपमा सबैभन्दा कम बलमा अर्धशतक बनाउने ब्याट्सम्यानको सूचीमा अस्ट्रेलियाका ट्राभिस हेड दोस्रो, ग्लेन म्याक्सवेल तेस्रो र डेभिड वार्नर चौथो स्थानमा छन् । हेडले २५ बलमा, म्याक्सवेलले २७ बलमा र वार्नरले २८ बलमा अर्धशतक बनाएका थिए । सबैभन्दा कम बलमा अर्धशतक बनाउने ब्याट्सम्यान भने श्रीलंकाका कुशल परेरा हुन् । उनले केवल २२ बलमा अर्धशतक बनाएका थिए ।

यसैगरी यो विश्वकपमा सबैभन्दा कम बलमा शतक बनाउने ब्याट्सम्यानको सूचीमा अस्ट्रेलियाका म्याक्सवेल पहिलो र ट्राभिस हेड तेस्रो स्थानमा छन् । म्याक्सवेलले नेदरल्यान्ड्सविरुद्धको खेलमा ४० बलमा र हेडले न्युजिल्यान्डविरुद्धको खेलमा ५९ बलमा शतक बनाएका थिए । 

यसैगरी सबैभन्दा कम बलमा एक सय ५० रन बनाउने ब्याट्सम्यानको सूचिमा पनि अस्ट्रेलियाका म्याक्सवेल पहिलो, वार्नर दोस्रो र मिचेल मार्स तेस्रो स्थानमा आसीन छन् । म्याक्सवेलले अफगानिस्तानविरुद्धको खेलमा एक सय चार बलमा, वार्नरले पाकिस्तानविरुद्धको खेलमा एक सय १६ बलमा र मार्सले बंगलादेशविरुद्धको खेलमा एक सय १७ बलमा एक सय ५० रन बनाएका थिए ।

यसैगरी सबैभन्दा कम बलमा दोहोरो शतक बनाउने कीर्तिमान पनि अस्ट्रेलियन ब्याट्सम्यानकै नाममा रहेको छ । अस्ट्रेलियाका म्याक्सवेलले अफगानिस्तानविरुद्धको खेलमा एक सय २८ बलमा दोहोरो शतक बनाएका थिए । जारी विश्वकपमा अन्य ब्याट्सम्यानले दोहोरो शतक बनाउन सकेका छैनन् । 

यसका अतिरिक्त जारी विश्वकपमा सर्वाधिक रनको साझेदारी गर्ने सूचिमा अस्ट्रेलियाका वार्नर र मार्स दोस्रो तथा म्याक्सवेल र प्याट कमिन्स पाँचौँ स्थानमा छन् । वार्नर र मार्सले पाकिस्तानविरुद्धको खेलमा पहिलो विकेटका लागि दुई सय ५९ रनको साझेदारी गरेका थिए । पहिलो विकेटका लागि गरिएको यो सबैभन्दा ठुलो साझेदारी पनि हो । 

म्याक्सवेल र कमिन्सले भने अफगानिस्तानविरुद्धको खेलमा आठौँ विकेटका लागि अविजित दुई सय दुई रनको साझेदारी गरेका थिए । आठौँ विकेटका लागि गरिएको यो सबैभन्दा ठुलो साझेदारी पनि हो । एउटै खेलमा सबैभन्दा बढी चौका प्रहार गर्ने खेलाडी पनि अस्ट्रेलियाकै म्याक्सवेल हुन् । उनले अफगानिस्तानविरुद्ध २१ वटा चौका हिर्काएका थिए । एउटै खेलमा चौका र छक्काबाट सर्वाधिक रन बटुल्ने ब्याट्सम्यान पनि म्याक्सवेल हुन् । उनले सोही खेलमा ‘बाउन्ड्री’ बाट मात्र एक सय ४४ रन बनाएका थिए । 

यसैगरी जारी विश्वकपमा सबैभन्दा बढी विकेट लिने बलरको सूचिमा अस्ट्रेलियाका एडम जाम्पा दोस्रो स्थानमा छन् । उनले जारी विश्वकपको १० खेलमा २२ विकेट लिइसकेका छन् । यो विश्वकपमा सबैभन्दा बढी मेडन ओभर फाल्ने बलर पनि अस्ट्रेलियाका जोस हेजलउड हुन् । उनले ८३.१ ओभर बलिङ गर्दै आठवटा मेडन ओभर फालेका छन् । उनी सबैभन्दा बढी ‘डट बल’ फाल्ने बलरको सूचिमा पनि चौथो स्थानमा छन् । उनले हालसम्म तीन सय १२ वटा ‘डट बल’ फालिसकेका छन् । 

यसैगरी यो विश्वकपमा सबैभन्दा बढी क्याच लिने फिल्डरको सूचिमा अस्ट्रेलियाका मार्नस लाम्बुसेन र डेभिड वार्नर दोस्रो स्थानमा छन् । उनीहरूले हालसम्म आठ—आठवटा क्याच लिइसकेका छन् । यसका अतिरिक्त यो विश्वकपमा सबैभन्दा बढी म्यान अफ दी म्याच पाउने खेलाडीको सूचिमा अस्ट्रेलियाका तीन खेलाडी दोस्रो स्थानमा छन् । अस्ट्रेलियाका ग्लेन म्याक्सवेल, ट्राभिस हेड र एडम जाम्पाले दुई—दुई पटक म्यान अफ दी म्याचको पुरस्कार पाएका छन् । 

फाइनल खेलाइने नरेन्द्र मोदी स्टेडियम

यो रंगशालाको नाम भारतका वर्तमान प्रधानमन्त्री नरेन्द्र मोदीको नामबाट राखिएको हो । यसअघि यो रंगशालाको नाम ‘सरदार पटेल स्टेडियम’ थियो । यो रंगशाला गुजरातको अहमदाबादमा रहेको छ । विश्वकै सबैभन्दा ठुलो क्रिकेट रंगशालामा पर्छ, नरेन्द्र मोदी स्टेडियम । 

पछिल्लो समय यो रंगशालाको दर्शक क्षमता बढाएर एक लाख ३४ हजार पुर्‍याइएको छ । यो क्रिकेट रंगशाला गुजरात क्रिकेट एसोसिएसनको अधीनमा रहेको छ । यो रंगशालामा निरन्तर घरेलु र अन्तर्राष्ट्रिय प्रतियोगिताहरू आयोजना हुने गरेका छन् । 

अहिले नरेन्द्र मोदी स्टेडियम रहेको स्थानमा सन् १९८२ देखि सन् २०१५ सम्म सरदार पटेल स्टेडियम थियो । पुरानो रंगशालालाई भत्काएर अहिलेको नरेन्द्र मोदी स्टेडियम बनाइएको हो ।  पाँच वर्षमा निर्माण सम्पन्न भएको यो क्रिकेट रंगशाला बनाउन आठ अर्ब भारतीय रुपैयाँ खर्च गरिएको थियो । 

यो क्रिकेट रंगशालामा चारवटा ड्रेसिङ रूप रहेका छन् । रंगशालामा ११ वटा सेन्टर पिच र दुईवटा अभ्यास ग्राउन्ड रहेका छन् । दर्शक क्षमताको हिसाबले यो विश्वकै दोस्रो ठुलो रंगशाला हो । योभन्दा ठुलो रंगशाला उत्तर कोरियामा रहेको छ । उत्तर कोरियाको ‘रनग्राडो फर्स्ट अफ मे स्टेडियम’ को दर्शक क्षमता एक लाख ५० हजार रहेको छ ।  

यसअघि पुरानो सरदार पटेल स्टेडियममा सन् १९८७, सन् १९९६ र सन् २०११ को एकदिवसीय विश्वकपका केही खेल पनि खेलाइएको थियो । सन् २०२१ को फेब्रुअरी २४ तारिखमा यो रंगशालाको नाम परिवर्तन गरेर नरेन्द्र मोदी स्टेडियम राखिएको थियो । 

आफ्ना पूर्वअध्यक्ष नरेन्द्र मोदीप्रति सम्मान व्यक्त गर्दै रंगशालाको नयाँ नामकरण गरिएको गुजरात क्रिकेट एसोसिएसनले जनाएको छ । सन् २००९ देखि सन् २०१४ सम्म नरेन्द्र मोदी गुजरात क्रिकेट एसोसिएसनका अध्यक्ष थिए । नयाँ रंगशालाको उद्घाटन सन् २०२१ मा तत्कालीन भारतीय राष्ट्रपति रामनाथ कोविन्दले गरेका थिए ।

सन् २०२० मा तत्कालीन अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प भारत भ्रमणमा आउँदा यही रंगशालामा ‘नमस्ते ट्रम्प’ नाम दिएर विशेष कार्यक्रम आयोजना गरिएको थियो । सन् २०२२ को सेप्टेम्बर २९ मा यही रंगशालामा भारतको ३६औँ राष्ट्रिय खेलकुदको उद्घाटन समारोह पनि आयोजना गरिएको थियो । 

सन् २०२१ को फेब्रुअरीमा यो रंगशालामा भारत र इङ्ल्यान्डबिच पहिलो दिवा—रात्रि खेल खेलाइएको थियो । सन् २०२३ को एकदिवसीय विश्वकपको उद्घाटन खेल पनि यही रंगशालामा खेलाएको थियो । विश्वकपका क्रममा यो रंगशाला उद्घाटन र फाइनलसहित पाँच खेल खेलाइएको छ ।

स्पिनरलाई साथ दिने पिच

जारी विश्वकपमा हालसम्म नरेन्द्र मोदी स्टेडियममा चार खेल खेलिसकिएको छ । जारी विश्वकपमा भारत र अस्ट्रेलियाले यो स्टेडियममा एक—एक खेल खेलिसकेका छन् । भारतले यही स्टेडियममा आफ्नो चिर प्रतिद्वन्द्वी पाकिस्तानलाई सात विकेटले हराएको थियो । 

त्यो खेलमा पाकिस्तानले पहिले ब्याटिङ गर्दै ४२.५ ओभरमा अलआउट हुनुअघि एक सय ९१ रनमात्र बनाउन सकेको थियो । जवाफी ब्याटिङमा ओर्लिएको भारतले भने ३०.३ ओभरमै केवल तीन विकेट गुमाएर विजय लक्ष्य पुरा गरेको थियो ।

यसैगरी जारी विश्वकपमा अस्ट्रेलियाले पनि यही स्टेडियममा साविक विजेता इङ्ल्यान्डलाई ३३ रनले पराजित गरेको थियो । त्यो खेलमा पहिले ब्याटिङ गरेको अस्ट्रेलियाले ४९.३ ओभरमा अलआउट हुनुअघि दुई सय ८६ रन बनाएको थियो । जवाफी ब्याटिङमा ओर्लिएको इङ्ल्यान्डले भने ४८.१ ओभरमा अलआउट हुनुअघि दुई सय ५३ रनमात्र बनाउन सकेको थियो । 

371523

इङ्ल्यान्ड र न्युजिल्यान्डबिच प्रतियोगिताको उद्घाटन खेल पनि यही स्टेडियममा खेलिएको त्यो खेलमा दुवै टोलीले करिब तीन सयको हाराहारीमा रन बनाएका थिए । यद्यपि, त्यो खेलमा न्युजिल्यान्ड नौ विकेटले विजयी भएको थियो । यो स्टेडियमको पिचमा रन पनि राम्ररी बन्ने गरेको छ । 

तर, यो स्टेडियमको पिच स्पिन बलरका लागि सबैभन्दा उपयुक्त मानिन्छ । जारी विश्वकपलाई ध्यानमा राखी यहाँको पिचलाई स्पिनर बलरका लागि उपयुक्त हुने गरी तयार पारिएको समाचारमा जनाइएको छ । फाइनलमा भारतका लागि यो बलियो पक्ष हुनसक्छ ।

अस्ट्रेलियन ब्याट्सम्यानहरुलाई स्पिन बलरको सामना गर्न केही अप्ठ्यारो पर्ने गरेको देखिन्छ । भारतसँग भने कुलदिप यादव र रविन्द्र जडेजाका रूपमा दुईजना क्षमतावान् स्पिनर रहेका छन् । यसको विपरीत स्पिन बलरलाई खेल्न भारतीय ब्याट्सम्यानहरू निकै अभ्यस्त देखिन्छन् ।  

यहाँको पिचमा दोस्रो पालीमा ब्याट्सम्यानहरू दबाबमा पर्ने गरेको पाइन्छ । त्यसैले यो स्टेडियममा टस जित्ने टोली पहिले ब्याटिङ गरेर ठुलो योगफल तयार पार्ने धुनमा रहन्छन् । यो स्टेडियममा औसतमा दुई सय ६० रन बन्ने गरेको देखिन्छ । यो स्टेडियममा पछिल्लो ब्याटिङ गर्ने टोलीले तीन सयभन्दा बढीको लक्ष्य पुरा गर्ने ठुलै संघर्ष गर्नुपर्ने हुन्छ । 

यो स्टेडियममा हालसम्म भारतले १९ वटा एकदिवसीय अन्तर्राष्ट्रिय प्रतियोगिता खेलेको छ । त्यसमध्ये भारतले ११ खेलमा भारत विजयी भएको छ भने आठ खेलमा भारतले हार भोगेको छ । अस्ट्रेलियाले भने हालसम्म यो स्टेडियममा ६ खेल खेलेको छ । त्यसमध्ये चार खेलमा अस्ट्रेलिया विजयी भएको छ भने दुई खेलमा अस्ट्रेलियाले पराजय भोगेको छ । 

के भन्छन् दुवै टोलीका कप्तान ?

rohit

भारतीय टोलीका कप्तान रोहित शर्माले फाइनलमा अस्ट्रेलिया निकै बलियो प्रतिद्वन्द्वी भएको प्रतिक्रिया दिएका छन् । उनले आफ्नो टोलीको सबै पक्ष सन्तुलित रहेकाले जितप्रति विश्वकप भएको धारणा पनि व्यक्त गरेका छन् । ‘पक्कै पनि अस्ट्रेलिया बलियो प्रतिद्वन्द्वी हो । तर, हाम्रो बलिङ, ब्याटिङ र फिल्डिङ सबै लयमा छ । हामीले यो क्षणका लागि निकै लामो तयारी पनि गरेका छौ । त्यसैले हामी जितप्रति म विश्वस्त छु,’ उनले भनेका छन् । 

cummins

अस्ट्रेलियन टोलीका कप्तान प्याट कमिन्सले भारतविरुद्धको फाइनल खेलमा आफूले मोहम्मद सामीलाई सबैभन्दा ठुलो चुनौतीका रूपमा लिएको बताएका छन् । ‘हामीले सबैभन्दा ठुलो चुनौतीका रूपमा मोहम्मद सामीलाई लिएका छौँ । उनी यो विश्वकपमा विपक्षी टोलीका ब्याट्सम्यानका लागि सबैभन्दा घातक बलरका रूपमा देखिएका छन्,’ अस्ट्रेलियन कप्तानले भनेका छन् । जारी विश्वकपमा सामीले हालसम्म ६ खेल खेल्दै २३ विकेट लिइसकेका छन् । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप