बुधबार, ०९ जेठ २०८१
ताजा लोकप्रिय
खेलकुद

द्वन्द्वको पीडा खेप्दै विश्वकप यात्रामा होमिएको एउटा राष्ट्र

अस्ट्रेलियन फुटबलरले देखाएको मानवीय संवेदना
बुधबार, ०६ मङ्सिर २०८०, १० : ५४
बुधबार, ०६ मङ्सिर २०८०

काठमाडौँ । उनीहरुको देश यतिबेला युद्दभूमिमा परिणत भएको छ । डेढ महिनादेखि चलिरहेको इजरायल—गाजा द्वन्द्वका कारण ठूलो जन—धनको क्षत्ति भएको छ । युद्दको विभिषिका अझै रोकिएको छैन र सर्वसाधारण अझै त्रासमा जीवन बिताउन बाध्य छन् । 

अर्कोतिर, इजरायलबाट लगातारको आक्रमण झेलिरहेको प्यालेस्टाइन विश्वकप खेल्ने सपना बोकेर फुटबल मैदानमा पनि संघर्ष गरिरहेको छ । पछिल्लो पटक इजरायल—गाजा द्वन्द्व सुरु भएयता प्यालेस्टाइनले मंगलबार राति दोस्रोपटक विश्वकपको छनोट खेल खेल्यो । 

आफ्नो दोस्रो खेलमा निकै बलियो प्रतिद्वन्द्वी अस्ट्रेलियाविरुद्ध मैदानमा ओर्लिएको प्यालेस्टाइनले अन्तिम समयसम्म संघर्ष गर्‍यो । सन् २०२६ मा आयोजना हुने विश्वकपको एसियाली क्षेत्रको दोस्रो चरणको छनोट प्रतियोगितामा प्यालेस्टाइन समूह ‘आई’ मा परेको छ ।

छनोट प्रतियोगिताको आफ्नो दोस्रो खेलमा प्यालेस्टाइनी टोली बलियो अस्ट्रेलियासँग १—० गोलको हार स्वीकार्न बाध्य भयो । आफ्नो भूमि द्वन्द्वीको चपेटामा परेका कारण कुवेतलाई घरेलु मैदान (न्यूट्रल भेन्यू) बनाएको प्यालेस्टाइनले अस्ट्रेलियालाई अन्तिम समयसम्म पनि कडा चुनौति दिएको थियो । यसअघि उक्त छनोट खेल वेस्ट बैंकमा खेलाउने तय भएको थियो । 

तर, खेलको प्रारम्भमै खाएको गोल प्यालेस्टाइनको हारको कारण बन्न पुग्यो । अनुभवी अस्ट्रेलियाका लागि खेल सुरु भएको १८ औँ मिनेटमै ह्यारी सटरले निणरयक गोल गरेका थिए । उनी इङ्लिस क्लब लेस्टरबाट ब्यवसायिक फुटबल खेल्छन् । 

एकातिर आफ्नो देशभित्र निरन्तर द्वन्द्वको पिडा झेल्न बाध्य छ भने अर्कोतिर फुटबल मैदानमा आफ्नो टोलीको हौसला बढाउन हजारौँको सँख्यामा प्यालेस्टाइनी समर्थक कुवेत पुगेका थिए । हातमा देशको झण्डा बोकेर कुवेतको रंगशालासम्म पुगेका प्यालेस्टाइनका समर्थकहरुले खेल अवधिभर एकतमासले टोलीको हौसला बढाइरहे । 
 
प्यालेस्टाइन र अस्ट्रेलियाबिचको खेल हेर्न १४ हजार पाँच सयभन्दा बढी दर्शक रंगशाला पुगेका थिए । त्यसमध्ये अधिकांश प्यालेस्टाइनी टोलीका समर्थक थिए । खेल मैदानमा प्यालेस्टाइनी टोलीलाई हराए पनि अस्ट्रेलियन खेलाडीले मानवता भने भुलेनन् । 

खेलपछि अस्ट्रेलियन खेलाडीहरुले द्वन्द्वको मार खेपिरहेका गाजा क्षेत्रका सर्वसाधारणका लागि आफ्नो ‘म्याच फि’ (खेल खेलेवापत खेलाडीले पाउने रकम) सहयोग गर्ने घोषणा गरे । आफ्ना खेलाडीको मानवीय अभियानमा अस्ट्रेलियन फुटबल संघले पनि होस्टेमा हैँसे मिलाउने निणर्य गरेको छ । 

गत अक्टोबर ७ तारिखमा हमासले आक्रमण सुरु गरेयता इजरायल—गाजा द्वन्द्वमा एक हजार दुई सयभन्दा बढीले आफ्नो जीवन गुमाइसकेका छन् । गाजाका स्वास्थ्य अधिकारीहरुले त ११ हजारभन्दा बढीले ज्यान गुमाइसकेको दाबी गर्दै आएका छन् । हसासले अझै पनि दुई सय ४० भन्दा बढीलाई बन्धक बनाएर राखेका छन् । 
आफ्ना तीनजना प्रभावशाली खेलाडी डिफेन्डर इब्राहिम अबुइमेइर, अहमद कुल्लाब र खालिद अल नाब्रिस गाजाको द्वन्द्वमा फसेका कारण अस्ट्रेलियाविरुद्धको खेलमा प्यालेस्टाइनको टोली केही कमजोर पनि बनेको थियो । 

प्यालेस्टाइनले पछिल्लोपटक आफ्नो घरेलु मैदानमा सन् २०१९ मा साउदी अरेबियासँग फुटबल खेलेको थियो । त्यसयता प्यालेस्टाइनले घरेलु मैदानमा फुटबल खेल्ने अवसर पाएको छैन । विश्व फुटबल महासंघको पछिल्लो वरीयतामा प्यालेस्टाइन ९६औँ स्थानमा छ । 

दोस्रो चरणको विश्वकप छनोटमा समूह ‘आई’ मा चारवटै टोलीले दुई—दुई खेल खेलिसकेका छन् । ६ अंकसहित अस्ट्रेलिया तालिकाको पहिलो स्थानमा छ । दुई अंकसहित लेबनान दोस्रो, एक अंकसहित प्यालेस्टाइन तेस्रो र एक अंकसहित बंगलादेश चौथो स्थानमा छन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप