सोमबार, १७ वैशाख २०८१
ताजा लोकप्रिय

वर्तमान सरकार जनताको उन्नति र समृद्धिका लागि अग्रसर छ : उपप्रधानमन्त्री खड्का

मङ्गलबार, १२ मङ्सिर २०८०, १७ : ४४
मङ्गलबार, १२ मङ्सिर २०८०

सुर्खेत । नेपाल सरकारका उपप्रधान तथा रक्षामन्त्री पुर्णबहादुर खड्काले वर्तमान सरकार जनताको उन्नति र समृद्धिका लागि काम गरिरहेको बताएका छन् । सरकार जनताको सुख दुःखको साथी भएको बताउँदै खड्काले जनताको उन्नति र समृद्धिका लागि वर्तमान सरकार लागिपरेको बताए ।

त्यसका लागि संघीयताको पूर्ण कार्यान्वयन र संविधानमा लेखिएका नागरिकका अधिकारलाई स्थापित गर्नका लागि संघीय कानुनहरू कार्यान्वयन अन्तिम चरणमा पुगेको उनको भनाइ छ । आज सुर्खेतको चिङ्गाडमा आयोजित वृहत खेलकुद तथा सांस्कृतिक कार्यक्रमको उद्घाटन गर्दै खड्काले भने, ‘हिउँदे अधिवेशनबाट संघीय प्रहरी ऐन, शिक्षा ऐनलगायतका आवश्यक कानुनहरू पारित हुन्छन् ।’ 

अर्थतन्त्र कमजोर भएकाले विकास निर्माणका कामहरूमा सोचेजस्तो बजेट आउन नसकेको खड्काको भनाइ थियो । ‘काम रोकिएको ठाउँमा नअलमलिएर कामहरू अगाडि बढाउनुपर्ने हुन्छ,’ उनले भने, ‘अभावकै बिचमा पनि मैले जनताको बिचमा गरेका बाचाहरू पाँच वर्षभित्र पुरा गर्ने छु ।’ 

खड्काले विकासको कुरामा तीन तहका सरकारबिच सहकार्य हुन नसकेको बताए । तीन तहका सरकारको समझदारी भएर कुन काम कुनले गर्ने तरिकाले कामहरू नभएको उनको भनाइ छ । विकास–निर्माणका कुन काम कुन तहको सरकारले गर्ने भन्ने तय भएमा सोही अनुसार काम गर्न सहज हुने उनले बताए । ‘त्यसतर्फ बेलैमा सोच्न जरुरी छ,’ उनले भने ।

खड्काले ०८१ मङ्सिरमा कर्णालीमा हुने राष्ट्रिय खेलकुद प्रतियोगितालाई सबैले हातेमालो गरेर सम्पन्न गर्न लाग्नुपर्ने बताए । उनले अगाडि भने, ‘हामी जुन पार्टीबाट निर्वाचन लडे पनि पुग्ने गन्तव्य भनेको जनताको उन्नति प्रगतिमा हो ।’

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप