आइतबार, १६ वैशाख २०८१
ताजा लोकप्रिय

बबई लिफ्टिङका लागि पाइप विस्तार सुरु

बुधबार, १३ मङ्सिर २०८०, १६ : ०६
बुधबार, १३ मङ्सिर २०८०

तुलसीपुर । दाङको तुलसीपुरमा खानेपानी आपूर्तिका लागि निर्माण थालिएको बबई लिफ्टिङ आयोजनाअन्तर्गत पाइप बिछ्याउन थालिएको छ । आजदेखि पाइप विस्तार सुरु भएको तुलसीपुर खानेपानी उपभोक्ता तथा सरसफाइ संस्थाका अध्यक्ष सीताराम शर्माले जानकारी दिए ।

अध्यक्ष शर्माका अनुसार बबई नदीबाट तुलसीपुर बजार ल्याउन लागिएको उक्त पानीका लागि मुख्य लाइनको पाइप विस्तार सुरु भएको हो । त्यहाँबाट टरिगाउँ एयरपोर्टस्थित ट्याङ्की र तत्कालीन अञ्चाल प्रहरी कार्यालय नजिकको ट्याङ्कीमा पानी ल्याइनेछ । त्यसपछि अन्य सहायक ट्याङ्कीमा पानी वितरण हुने अध्यक्ष शर्माले बताए । 

पाइप विस्तार कार्यको तुलसीपुर १२ का वडाध्यक्ष खुसीराम चौधरीले शिलान्यास गरे । ट्याङ्की निर्माणकार्य अन्तिम चरणमा पुगिसकेकाले पाइप विस्तारको कार्यलाई अघि बढाइएको हो । सल्यानरोडस्थित खानेपानी कार्यालय परिसरमा रहेको ट्याङ्की र बबई नदीमा ट्याङ्की निर्माण भइसकेको छ भने मोतिपुर, कबर्डहल र एयरपोर्टको ट्याङ्की निर्माण भइरहेको छ । 

सहलगानी खानेपानी तथा सरसफाइ आयोजनाअन्तर्गत बबई लिफ्टिङको काम हालसम्म ३५ प्रतिशत पूरा भएको छ । रु ५६ करोड ८० लाख २४ हजार छ सय ३० रुपैयाँको लागतमा बबई लिफ्टिङको काम अघि बढेको हो । नेपाल सरकारको ७० प्रतिशत अनुदान तथा उपभोक्ताको ३० प्रतिशत लगानीमा खानेपानी आयोजनाको काम बढेको हो । 

सरकारले रु ३८  करोड ८३ लाख, १७ हजार दुई सय ४१ र उपभोक्ताको १७ करोड सात लाख तीन सय ८८ रुपैयाँ लाग्छ । उपभोक्ताको तर्फबाट अहिले ५ प्रतिशत र बाँकी २५ प्रतिशत नगर विकास समितिबाट ऋण ल्याएर काम अघि बढाइएको छ । नगर विकास समितिबाट रु १४ करोड २२ लाख ५६ हजार एक सय ५८ ऋण लिएको र बाँकी दुई करोड ८४ लाख ५१ हजार दुई सय ३१ रुपैयाँ उपभोक्ताले तिरेका छन् । 

तुलसीपुर–अमिलिया सडकको बबई पुलदेखि पूर्वतिर तीन वटा सम्पवेल (इनारजस्तै पानी सङ्कलन गर्ने प्रविधि) बन्नेछ । त्यसको तीन सय  मिटर उत्तरमा ट्रिटमेन्ट प्लान बन्नेछ । जहाँ र्यापिड स्यान्ड फिल्टर दुई वटा शीतलपुरमा र मल्टिग्रेड प्रेसर फिल्टर ६ वटा निर्माण हुनेछन् । मल्टि ग्रेड फिल्टर जहाँ ट्याङ्की निर्माण हुन्छ, त्यही स्थानमा निर्माण हुनेछन् । 

त्यस्तै शीतलपुरमा आरभिटी कलेक्सन चेम्बर पाँच सय घनमिटर, इन्टर मिडियट आरभिटी टकी सङ्तनिरङकारी नेर तीन सय घनमिटर, प्रदेश प्रहरी कार्यालय नजिक इन्टर मिडियट आरभिटि तीन सय घन मिटर बन्नेछ ।  

त्यस्तै चारवटा ओभरहेड ट्याङ्की निर्माण हुनेछन् । शिखर कोलेनीमा चार सय ५० घनमिटर, झुमरेमा चार सय ५० घनमिटर , मोतिपुरमा दुई सय २५ घनमिटर, इन्द्रनगरमा चार सय ५० मिटर घनमिटर ओभरहेड ट्याङ्की पनि निर्माण हुनेछन् । दुईवटा अन्डर ग्राउन्ड ट्याङ्की निर्माण हुनेछन् । डुम्रिगाउँमा छ सय घनमिटर र खानेपानी कार्यालय परिसरमा तीन सय घनमिटर अन्डरग्राउन्ड ट्याङ्की निर्माण हुनेछन् ।  

त्यस्तै प्रसारण पाइपलाइन २८ दशमलव ३१५ किलोमिटर हुनेछ भने पानी वितरण पाइप एक सय २५ दशमलव ७५२ किलोमिटर हुनेछ । साथै सातवटा सुरक्षागार्ड हाउस र १० वटा पम्प हाउस पनि निर्माण हुनेछन् । बबई लिफ्टिङबाट डिपबोरिङबाट प्रतिसेकेन्ड ६०/६० लिटर पानी आपूर्ति गर्न सकिनेछ । त्यस्तै ६ वटा डिपबोरिङ निर्माण हुनेछन् । 

गोलौरा, सन्तनिरङ्कारी भवन नजिक, खानेपानी संस्थाको कार्यालय परिसर, सीप विकास कार्यालय नजिक, इन्द्रनगर र पहिलेको सङ्घीय प्रहरी कार्यालय गरी विभिन्न ६ स्थानमा डिपबोरिङ पनि निर्माण हुनेछन् । जसबाट प्रतिसेकेन्ड ४० लिटर पानी उत्पादन गरिनेछ । 

तुलसीपुर खानेपानीका अहिलेसम्म आठ हजार दुई सय २६ धारा रहेका छन् । तर, बबई लिफ्टिङको काम पूरा भएमा पाँच हजार पाँच सय धारा थप हुनेछन् । हाल  तुलसीपुर खानेपानीका मुलकोट, राम्री, चिसापानी, धैरनी, बाख्रे, छरछरे,  पहर र लाहुरेचौर गरी आठ वटा ग्राभेटी मुहान छन् । 

त्यस्तै  कार्यालय परिसरमा डिपबोरिङ,  डुम्रिगाउँ, रजौरा, एयरपोर्ट, साविक अञ्चल प्रहरी कार्यालय परिसर, खर्चवा, झुमरे, रेड्क्रस परिसरमा भूमिगत मुहानस्रोत रहेका छन् । त्यस्तै रानीजरुवा, पातुखोला र रानीघाटमा सम्पवेल मुहान रहेका छन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रासस
रासस

राष्ट्रिय समाचार समिति नेपालकाे  सरकारी समाचार संस्था हाे ।

लेखकबाट थप