सोमबार, १७ वैशाख २०८१
ताजा लोकप्रिय
आर्थिक मन्दी

किन धमाधम बन्द हुँदैछन् व्यावसायिक सटर ?

घट्दैछ व्यापार, घट्दैछन् व्यापारी
शुक्रबार, १५ मङ्सिर २०८०

काठमाडौँ । यतिबेला उपत्यकासहित देशभरका व्यापारिक सटरहरु धमाधम बन्द भइरहेको देख्न सकिन्छ । यसअघि भरिभराउ भइरहेका सटरसमेत यतिबेला ‘टू–लेट’ लेखेर राखेको देखिन्छ । यसको मूख्यकारण व्यापार नहुँदा व्यवसायीहरु पलायन हुँदै जानु नै रहेको स्वयम् व्यवसायीहरु बताउँछन् ।

लत्ताकपडा, जुत्ताचप्पल, विद्युतीय वस्तु लगायत सबैजसो वस्तुको थोक बजारका रुपमा लिइने न्यूरोड क्षेत्रमा समेत आर्थिक मन्दीको प्रभाव परेको छ । यो क्षेत्रलाई देशकै सबैभन्दा ठुलो थोक बजारका रुपमा लिइन्छ । चीन र भारतबाट वस्तु आयात गर्नेहरुले यहीँ गोदाम राख्छन् र देशभर वस्तुको आपूर्ति गर्दै आइरहेका छन् ।

न्यूरोड, वटुटोल, महाबौद्ध, असन र इन्द्रचोक लगायतका क्षेत्रमा समेत आर्थिक मन्दीको असर देखिन्छ । न्यूरोड क्षेत्रमा व्यापारीका रुपमा स्थापित नेपाल राष्ट्रिय व्यवसायी महासंघका अध्यक्ष नरेश कटुवाल पछिल्लो समय देशभर ३० प्रतिशतभन्दा बढी सटर खाली भइरहेको बताउँछन् । रातोपाटीसँगको कुराकानीमा कटुवाल भन्छन्, ‘व्यवसाय सञ्चालनका लागि लिइएको ऋण तिर्न नसक्दा सटर बन्द वा पेसा परिवर्तन भइरहेको छ ।’

उनका अनुसार विगत एक दशकको तुलनामा कोभिड–१९ महामारीपछिको जस्तो स्थिति यसअघि आएको थिएन । व्यवसाय सञ्चालनका लागि लिइएको ऋण तिर्नै नसक्नेगरी व्यापार खस्किँदा चिनेजानेका कयौँ व्यापारीले आत्महत्या समेत गरेको कटुवालको भनाइ छ ।

न्यूरोड क्षेत्रमा विगत एक दशकदेखि व्यवसाय गर्दै आएका लोकनाथ गुरागाइँ व्यवसाय पूरै खस्किएको बताउँछन् । लकडाउनका कारणले धेरै व्यापारी विस्थापित भएको र सरकारको गैरजिम्मेवारीका कारण व्यवसायी पलायन भइरहेको उनको भनाइ छ । उनी आफूले चिनेकामध्ये ५ प्रतिशत हाराहारी व्यापारी पलायन भएको सुनाउँछन् ।

सोही क्षेत्रका व्यापारी सूर्य कार्की आफ्ना चिनेजानेका व्यापारी साथी धेरै विदेश पलायन भइसकेको बताउँछन् । रातोपाटीसँगको कुराकानीमा उनले थपे, ‘मेरो एक जना साथी आज व्यापार छाडेर पोर्चुगल पुगेको छ । उसले मासिक ५÷७ लाख रुपैयाँ घर पठाउँछ ।’

पछिल्लो समय पासपोर्ट बनाउने योजनामा रहेको र व्यवसायको हिसाबकिताब मिलाएपछि बिदेसिने योजनामा रहेको उनी सुनाउँछन् ।

shattar to let

वटुटोलमा दशकदेखि व्यापार व्यापार गर्दै आएकी संगीता श्रेष्ठ अघिल्ला वर्षको तुलनामा ५० प्रतिशतभन्दा धेरैले व्यापार खस्केको बताउँछिन् । उनका अनुसार दसैँ तिहारको पर्खाइमा रहेका व्यापारी अब पलायनतर्फ लम्कनेछन् । श्रेष्ठले भनिन्, ‘धेरै व्यापारी दसैँ र तिहारको पर्खाइमा थिए । तर, चाडपर्वमा समेत व्यापार नहुँदा सबै व्यापारी समस्यामा परेका छन् ।’

रञ्जना मलका व्यापारी रोहित पौडेल आफ्नै पसल अघिको सटर बन्द भएको सुनाउँछन् । उनकाअनुसार ती पसलेले कोरियामा कमाएको रकम लगानी गरेका थिए । तर, उनको लगानी लगत्तै आएको कोभिड महामारीका कारण बन्दाबन्दी भयो । फलस्वरुपः व्यापारले लय लिनै सकेन र वितग एक साता यता उक्त सटर बन्द भएको पौडेलको भनाइ छ । एक करोडभन्दा बढीको लगानी रहे पनि सबै डुबेको र अब उठ्न नसक्ने स्थिति आउने सक्ने उनले बताए ।

२०६५ सालदेखि न्यूरोड क्षेत्रमा व्यापार गरिरहेका रामकुमार तिमल्सिना अहिलेसम्म यस्तो मन्दी नदेखेको अनुभव सुनाउँछन् । उनले आफ्नो पसल अघिको सटरसमेत बन्द हुने अवस्थामा पुगेको सुनाए । ‘यही अघिको सटरसमेत बन्द हुने अवस्थामा छ । बन्द गरौँ भने बजारबाट करोडौँ उठाउन बाँकी छ,’ उनले भने, ‘खोलौँ भने बैंक वित्तीय संस्थाको व्यबहार मिलाउन सक्ने स्थिति छैन ।’

Capture

अहिले बजारमा यो खालको मन्दी आउनुमा भने दुर्गा प्रसाईंलाई मुख्य कारण मान्छन् तिमल्सिना । प्रसाईंको आन्दोलनका कारण ऋणीले ऋण नतिरेको र बैंक वित्तीय संस्थाले आफ्नो निक्षेप नपाएको उनले बताए । फलस्वरुपः समग्र बजारको कारोबारको चक्र नै बिग्रिएर व्यापारी मारमा पर्न थालेको उनी सुनाउँछन् ।

भन्सार विभागको तथ्याङ्कअनुसार चाडपर्वमा समेत नेपालको आयात घटेको छ । चालु आर्थिक वर्षको कात्तिक महिनासम्मको अवधिमा आयात ३.७९ प्रतिशतले खुम्चिएको छ । यो गत वर्षको कात्तिक महिनाको तुलनामा हो । गत वर्ष असोज महिनामा चाडपर्व परेको थियो । यो महिना कात्तिकमा परेको थियो ।

गत वर्षको सामान्य महिनाको तुलनामा यो वर्षको चाडपर्वको समयमा समेत आयात नबढ्नुले बजारको मन्दीलाई पुष्टि गर्छ । यस अवधिसम्ममा ५ खर्ब १२ अर्ब रुपैयाँको आयात भएको छ । जबकि, गत वर्षको यही अवधिमा ५ खर्ब ३२ अर्ब रुपैयाँको आयात भएको थियो ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया