शुक्रबार, ०८ साउन २०८३
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट
सन्दर्भ : पुष्पलाल स्मृति दिवस

००८ सालमा नेकपाका संस्थापक महासचिव पुष्पलाललाई किन हटाइयो ?

बिहीबार, ०७ साउन २०८३, १७ : ३०
बिहीबार, ०७ साउन २०८३

सारांश

  • नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को स्थापना २००६ साल वैशाख १० गते भारतको कलकत्तामा भएको थियो, जसमा पुष्पलाल श्रेष्ठ संस्थापक महासचिव थिए।
  • २००८ साल असोज ५ गते पुष्पलाल प्रथम सम्मेलनबाट महासचिवमा निर्वाचित भए पनि केही महिनामै उनलाई हटाएर मनमोहन अधिकारीलाई महासचिव बनाइयो।
  • पुष्पलाललाई महासचिवबाट हटाउनुको मुख्य कारण भारतीय कम्युनिस्ट पार्टीमा चलेको वैचारिक विवाद रहेको वामपन्थी नेता बिष्णुहरि शर्माको जिकिर छ।

काठमाडौँ । २००६ साल वैशाख १० अर्थात् सन् १९४९ को २२ अप्रिल, लेनिन जन्म दिवसको सन्दर्भमा भारतको कलकत्तास्थित श्यामबजार ईलाकामा पर्ने नविन लेनमा नेपाल कम्युनिस्ट पार्टी (नेकपा) स्थापना भएको थियो । संस्थापक महासचिव पुष्पलाल श्रेष्ठको अगुवाइमा नेकपा स्थापना भएको थियो ।

संस्थापक सदस्यहरूमा नरबहादुर कर्माचार्य, निरञ्जन गोविन्द वैद्य र नारायणविलास जोशी थिए । पुष्पलालको मत अनुसार काठमाडौँबाट दुर्गा देवी (मोतीदेवी) पनि सहभागी भएकाले उनलाई संस्थापक सदस्य मानेका छन् । तर, अन्य तीन जना संस्थापक सदस्य पुष्पलालको कुरा मान्य तयार देखिएनन् । मोतीदेवीलाई संस्थापक सदस्य मान्नेमा अहिलेसम्म पनि वामपन्थीहरू विभाजित छन् ।

कार्ल मार्क्स र लेनिनलाई मात्र मार्गदर्शक सिद्धान्त मान्ने नेकपा एमाले, नेपाल कम्युनिस्ट पार्टी, साविक नेकपा एकीकृत समाजवादी (हाल नेपाली कम्युनिस्ट पार्टीका माधव नेपाल समूह), नेकपा संयुक्त लगायतले मोतीदेवीलाई संस्थापक सदस्य मान्दै आएका छन् ।

माओवादलाई मार्गदर्शक सिद्धान्त मानेका साविक नेकपा माओवादी केन्द्र (हाल नेपाली कम्युनिस्ट पार्टीका प्रचण्ड समूह), नेकपा माओवादी, क्रान्तिकारी कम्युनिस्ट पार्टी, नेकपा मसाल लगायतले चार जनालाई मात्र संस्थापक सदस्य मान्ने गरेका छन् ।

नेकपाका नेता लीलामणि पोखरेलले मोतीदेवीलाई संस्थापक सदस्य मान्ने भए वीरेन्द्रलाल श्रेष्ठ ‘काइँला बा’लाई पनि सदस्य मान्नुपर्ने जिकिर गरे । त्यतिबेला काइँला बा परीक्षामा रहेकाले बैठकमा सहभागी नभएको उनको भनाइ छ ।

‘मोतीदेवीलाई संस्थापक सदस्य मान्ने भए वीरेन्द्रलाल श्रेष्ठ झन् मान्नुपर्छ । नेकपा स्थापना मिति २२ अप्रिल २०४९ भनिएको छ,’ पोखरेलले भने, ‘त्यो दिन उहाँको जाँच परेका कारण बैठकमा बस्न पाउनुभएन । बेलुका उहाँहरू बसेर पार्टी स्थापना गरेको कुरा गर्नुभयो । त्यतिबेला त्यो सामान्य घटना बन्यो ।’

वामपन्थी नेता विष्णुहरि शर्मा पनि मोतीदेवीलाई संस्थापक सदस्य मान्ने विषयमा मतभेद रहेको बताउँछन् । शर्माका अनुसार क्रान्तिकारी कम्युनिस्ट पार्टीहरूले चार जनालाई मात्र संस्थापक सदस्यको रूपमा मान्दै आएका छन् ।

नेकपामा भारतीय कम्युनिस्ट पार्टीको प्रत्यक्ष प्रभाव थियो भन्ने कुरा नेकपा गठनको केही समयपछि देखि नै भाकपाका नेता अयोध्या सिंह (भाइ साहव) नेकपाको पोलिटब्यूरोमा २००८ सालसम्म रहेको कुराले पुष्टी हुने उनको तर्क छ ।

रोचक कुरा, २००८ साल असोज ५ गते नेकपाको प्रथम सम्मेलनबाट महासचिवमा पुष्पलाल निर्वाचित भएका थिए । तर, केही महिनामै महोत्तरीमा बसेको केन्द्रीय समिति बैठकले पुष्पलाललाई हटाएर मनमोहन अधिकारीलाई महासचिव बनायो । मनमोहन नेतृत्वमा आएसँगै मात्रिका कोइराला नेतृत्वको तत्कालीन सरकारले नेकपामाथि प्रतिबन्ध लगायो । पुष्पलाललाई महासचिवबाट हटाउनुको मुख्य कारण त्यतिबेला भारतीय कम्युनिस्ट पार्टीमा चलेको वैचारिक विवाद रहेको वामपन्थी नेता बिष्णुहरि शर्माको जिकिर छ ।

शर्माले आफ्नो पुस्तक नेपाली कम्युनिस्ट पार्टीको सामान्य इतिहासमा लेखेका छन्, ‘पुष्पलाललाई महासचिवबाट हटाएर मनमोहनलाई ल्याउनुको कारण भारतीय कम्युनिस्ट पार्टीमा चलेको वैचारिक विवादमा क्रान्तिकारी विचार राख्ने वी.टी. रण दिवेको स्थानमा नरमपन्थी विचारका पी.सी. जोशी भाकपाको महासचिवमा आएपछि त्यसको प्रभाव नेकपामा पनि परेको देखिन्छ ।’

किनकी नेकपामा भारतीय कम्युनिस्ट पार्टीको प्रत्यक्ष प्रभाव थियो भन्ने कुरा नेकपा गठनको केही समयपछि देखि नै भाकपाका नेता अयोध्या सिंह (भाइ साहव) नेकपाको पोलिटब्यूरोमा २००८ सालसम्म रहेको कुराले पुष्टी हुने उनको तर्क छ ।

नेतृत्व परिवर्तनबाट पार्टीमा सुधारवादी चिन्तन देखा परेको शर्माको बुझाइ छ । महासचिवको तर्फबाट पहिलो अधिवेशनमा मानमोहनद्वारा प्रस्तुत राजनीतिक प्रस्तावमा ‘पार्टीको कार्यक्रममा संशोधन किन ? भन्ने शीर्षकमा विगतमा पार्टीद्वारा लिइएका क्रान्तिकारी विचार तथा संघर्षका कार्यक्रमहरुलाई ‘भूलहरू’ भनेर आलोचना गरियो भने तात्कालीन नाराको रूपमा विधान सभाको नारालाई छाडी राजनैतिक सम्मेलनको नारा अगाडि सारिएको शर्माले पुस्तकमा लेखेका छन् । गणतन्त्रको विचारलाई परित्याग गरी ‘राज्यको प्रधानलाई कुनै विशेषधिकार नदिइयोस्’ भनेर घोषित रूपमै राजतन्त्रलाई स्विकार गरिएको उनको आरोप छ ।

प्रतिबन्धका बिच २०१० साल माघ (१३–१७) सम्म ललितपुरको पाटनमा भूमिगत रूपमा भएको पहिलो महाधिवेशनबाट महासचिवमा मनमोहन निर्वाचित भए । उक्त महाधिवेशनले तुलसीलाल अमात्य र डीपी अधिकारीलाई निलम्बन गरेको थियो । महाधिवेशनले २००७ सालको क्रान्तिको उपलब्धिलाई संस्थागत गरेर जाने निर्णय गर्‍यो । महाधिवेशनले पार्टीको नीति पुष्पलालको र नेतृत्व मनमोहनको अनुमोदन गरेसँगै मतभेद बढ्दै गयो । यद्यपि नेतृत्व हत्याउनका लागि पुष्पलाल पार्टी विभाजनको खेलमा लागेनन् ।

पहिलो राष्ट्रिय सम्मेलनबाट पुष्पलाललाई हटाइएको र प्रथम महाधिवेशनबाट मनमोहन महासचिवमा निर्वाचित भएको विषयलाई नेकपा मसालका महामन्त्री मोहनविक्रम सिंहले ‘सामान्य प्रक्रिया’का रूपमा टिप्पणी गरे ।

‘पार्टीमा को–कहिले महासचिव बन्छ वा हट्छ, त्यो एउटा सामान्य प्रक्रिया हो । त्यसलाई गम्भीर समस्याको रूपमा लिनु सही हुँदैन । पुष्पलालले आफ्नो समयमा सक्दो योगदान दिनुभयो । महाधिवेशनमा मतभेदहरू हुन्छन् र सोही आधारमा नेतृत्व परिवर्तन हुन्छ’, सिंहले भने ।

मसालका महामन्त्री सिंहका अनुसार दोस्रो महाधिवेशनमा पार्टीभित्र गणतन्त्र र संवैधानिक राजतन्त्रको विषयमा ठुलो मतभेद थियो ।

२०१४ सालमा काठमाडौँको दरबारमार्गस्थित फोहरा दरबारमा भएको नेकपाको दोस्रो महाधिवेशनमा डा. केशरजंग रायमाझी महासचिवमा निर्वाचित भए । पार्टीको नीति तथा पुष्पलालले पेस गरेको संविधानसभा र गणतन्त्र सम्बन्धी दस्तावेज पारित भयो । त्यतिबेला महासचिव मनमोहन उपचारका लागि चीनमा रहेकाले महाधिवेशनमा सहभागी थिएनन् ।

kesharjung-rayamajhi

नेतृत्वमा रायमाझी आएसँगै पार्टीभित्र झनै मतभेद तीव्र बन्दै गयो । २०१७ साल पुस १ गते तत्कालीन राजा महेन्द्र शाहले निर्वाचित संसद् भंग गरी बीपी कोइराला नेतृत्वको सरकारलाई अपदस्थ गरेका थिए । त्यतिबेला नेकपाका महासचिव रायमाझीले राजाको कदमलाई समर्थन गरेका थिए, जुन पार्टी नीति विपरीत आत्मघाती कदम थियो ।

मसालका महामन्त्री सिंहका अनुसार दोस्रो महाधिवेशनमा पार्टीभित्र गणतन्त्र र संवैधानिक राजतन्त्रको विषयमा ठुलो मतभेद थियो । ‘रायमाझी संवैधानिक राजतन्त्रको पक्षमा थिए । पुष्पलाल, मनमोहन र अरू साथीहरू पनि सुरुमा सुधारसहितको संवैधानिक राजतन्त्रकै पक्षमा हुनुहुन्थ्यो । रायमाझीको विचार अलि फरक थियो– सुधार गर्ने तर लेखेर नदिने, मौखिकमात्र भन्ने । महाधिवेशनमा तुलसीलाल अमात्य, शम्भुराम र अरूले गणतन्त्रको पक्षमा दह्रो कुरा राख्नुभयो’, सिंहले भने ।

सिंहका अनुसार मनमोहन त्यतिबेला चीनमा उपचारका लागि थिए । पछि पुष्पलाल पनि आफ्नो विचार बदलेर गणतन्त्रको पक्षमा उभिएको उनले बताए । ‘महाधिवेशनले गणतन्त्रको प्रस्ताव पारित गर्‍यो, तर केन्द्रीय कमिटी चुन्दा रायमाझीको पक्षमा बहुमत पुग्यो,’ उनले भने, ‘रायमाझीले क्षेत्रीयतावाद (उपत्यका बाहिरका मान्छेलाई उपत्यकाकाले हेप्छन् भन्ने सेन्टिमेन्ट) प्रयोग गरेर नेतृत्व हत्याएका थिए । यो कुनै सैद्धान्तिक विजय थिएन । बरु अराजनीतिक तरिकाले प्राप्त गरिएको नेतृत्व थियो ।’

नेकपाभित्र नीति र नेतृत्वबिच मतभेद बढ्दै जाँदा २०१९ सालमा भारतको वाराणसीमा भएको तेस्रो महाधिवेशन पार्टी विभाजन भयो । उक्त महाधिवेशनले तुलसीलाल अमात्यले पेस गरेको ‘राष्ट्रिय प्रजातन्त्र’को कार्यक्रम पारित गर्‍यो भने महासचिवमा पनि उनी आफैँ चुनिए । तेस्रो महाधिवेशनपछि कम्युनिस्ट आन्दोलन छिन्नभिन्न भयोे । नेकपा विभिन्न गुट उपगुटमा विभाजित भयो ।

२०२५ सालमा पुष्पलालले भारतको गोरखपुरमा तेस्रो सम्मेलन गरी पार्टी पुनर्गठन गरे । २०२८ साल मंसिर २० गते विभिन्न गुटमा विभाजित कम्युनिस्ट पार्टीलाई एकीकृत गर्ने उद्देश्यले मनमोहन अधिकारी, शम्भुराम श्रेष्ठ, मोहनविक्रम सिंह लगायत नेताहरूले पुष्पलाललाई सहभागी गराएर केन्द्रीय न्युक्लियस गठनको प्रस्ताव राखे । तर पुष्पलाल कुनै गुटमा लागेनन् । नेपालको वामपन्थी आन्दोलनलाई वैचारिक, सैद्धान्तिक र सांगठनिक रुपले नयाँ उचाइमा पुर्‍याउन महत्त्वपूर्ण भूमिका खेलका पुष्पलालको २०३५ साल साउन ७ गते ५४ वर्षको उमेरमा भारतको नयाँ दिल्लीमा उपचारको क्रममा निधन भएको थियो ।

पुष्पलालको निधनपछि उनकी श्रीमती साहना प्रधानले नेकपा पुनर्गठन गरिन् । २०४३ सालमा नेकपा र मनमोहनको पार्टी नेकपा (मार्क्सवादी) बिच एकता भई नेकपा (मार्क्सवादी) गठन भयो । २०४७ सालमा नेकपा(माले) र नेकपा(मार्क्सवादी)बिच एकता भइ नेकपा(एमाले) बनेको थियो । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप