शनिबार, २२ वैशाख २०८१
ताजा लोकप्रिय

कर राजश्वमा उच्च योगदान गर्ने व्यक्ति तथा संस्थाहरूलाई नेपाल उद्योग परिसंघको सम्मान

आइतबार, १७ मङ्सिर २०८०, १६ : ५५
आइतबार, १७ मङ्सिर २०८०

काठमाडौं । नेपाल उद्योग परिसंघले राष्ट्रिय कर दिवस २०८० को अवसरमा नेपाल सरकारबाट सम्मानित हुनुभएका उच्च करदाताहरूलाई सम्मान गरेको छ । सरकारले राष्ट्रिय कर दिवसको अवसरमा कुल १६ जना (संस्था तथा व्यक्ति)लाई उच्च करदाताको रूपमा सम्मान गरेको थियो ।

सम्मानितमध्ये २ वटा सरकारी लगानी रहेका कम्पनीहरू छन् भने १४ वटा निजी एवं सार्वजनिक क्षेत्रका छन् । परिसंघले निजी एवं सार्वजनिक क्षेत्रका १४ उच्च करदातालाई सम्मान गरेको हो । सम्मानित भएका १४ मध्ये ११ करदाता नेपाल उद्योग परिसंघका सदस्यहरू छन् ।

राष्ट्रिय कर दिवस २०८० को अवसरमा आर्थिक वर्ष २०७८/७९ मा निर्यात कारोबारमध्येबाट सबैभन्दा बढी कर तिर्ने करदाता डाबर नेपाल, विशेष उद्योगमध्येबाट सबैभन्दा बढी कर तिर्ने एसियन पेन्टस्, कृषि एवं पशुपछीजन्य उद्योगमध्येबाट सबैभन्दा बढी कर तिर्ने ओसीबी फुड्स एण्ड फिड्सलाई परिसंघले सम्मान गरेको हो ।

यस्तै, सहकारी तथा लघुवित्तको कारोबार गर्ने संस्थामध्येबाट सबैभन्दा बढी कर तिर्ने छिमेक लघुवित्त वित्तीय संस्था, बैंक वित्तीय संस्थाको कारोबार गर्ने संस्थामध्ये ग्लोबल आइएमई बैंक, बीमा व्यवसायमध्येबाट सबैभन्दा बढी कर तिर्ने लाइफ इन्स्योरेन्स कर्पोरेशन (नेपाल) समेत सम्मानित बनेका छन् । यसबाहेक, स्वास्थ्य तथा शिक्षा सेवा प्रदायक संस्थामध्येबाट सबैभन्दा बढी कर तिर्ने नोबेल मेडिकल कलेज टिचिङ हस्पिटल, पर्यटन व्यवसायमध्येबाट सबैभन्दा बढी कर तिर्ने मनकामना दर्शन सम्मानित भएका छन् ।

यसैगरी, भाटभटेनी सुपरमार्केट, भोटेकोशी पावर, आईएमई लिमिटेड समेत सम्मानित हुँदा व्यक्तिगत आय तर्फ सबैभन्दा बढी कर तिर्ने विजयकुमार शाहलाई समेत परिसंघले सम्मानित गरेको छ । यसबाहेक, सबैभन्दा बढी कुल आन्तरिक राजस्व दाखिला गर्ने र आर्थिक वर्ष २०७९/८० मा सबैभन्दा बढी मूल्य अभिवृद्धि कर दाखिला गर्ने सूर्य नेपाल प्रा.लि.लाई परिसंघले सम्मान गरेको छ ।

आज परिसंघ सचिवालयमा आयोजित सम्मान कार्यक्रममा नेपाल उद्योग परिसंघका अध्यक्ष राजेशकुमार अग्रवालले उच्च करदातालाई सम्मान गरेका हुन् । उनले उच्च करदाता हुनु व्यक्तिगत एवं संस्थागत उपलब्धि मात्रै नभएर राज्यप्रतिको महत्त्वपूर्ण योगदान भएको बताए । यो योगदानको कदर गर्दै निजी क्षेत्रको प्रतिनिधिमूलक संस्थाको रूपमा उच्च करदातालाई परिसंघले सम्मान गरेको उनले बताए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप