आइतबार, ०६ जेठ २०८१
ताजा लोकप्रिय
माओवादी नेसपा एकता

माओवादी र नेसपा एकता छलफल : बाबुराम अध्यक्षसहित वैचारिक मोर्चा प्रमुख, महिन्द्र उपनेता

आइतबार, १७ मङ्सिर २०८०, १७ : ०५
आइतबार, १७ मङ्सिर २०८०

काठमाडौँ । नेकपा (माओवादी केन्द्र) र बाबुराम भट्टराई नेतृत्वको नेपाल समाजवादी पार्टी(नेसपा)बिच पार्टी एकताका लागि अनौपचारिक छलफल अगाडि बढिरहेको छ । छलफल वैचारिक, राजनैतिक कार्यदिशा, सांगठनिक संरचना र समायोजनको मोडालिटीबारे केन्द्रित रहेको दुवै पार्टीका शीर्ष नेताहरूले बताएका छन् ।

प्रधानमन्त्री एवं माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ कोप–२८ सम्मेलनमा भाग लिन युएई गएकाले औपचारिक वार्ता वा छलफल हुन सकेको छैन । प्रचण्ड आइतबार स्वदेश फर्किँदै छन् । उनी फर्किएपछि एकताका लागि औपचारिक वार्ता र छलफल हुने उनीहरूको भनाइ छ ।

एक उच्च नेताका अनुसार एकतापछि प्रचण्ड कार्यकारी अध्यक्ष र भट्टराईलाई दोस्रो अध्यक्षसहित वैचारिक तथा आर्थिक मोर्चाको प्रमुख बनाउने गरी विधान संशोधन गर्नेबारे छलफल केन्द्रित छ । अर्का अध्यक्ष महिन्द्र राय यादवलाई संसदीय दलको उपनेता बनाउन पहिल्यै सहमति भइसकेको ती नेताले दाबी गरेका छन् । यद्यपि यस विषयमा औपचारिक निर्णय नभएको उनले बताए ।

गत पुस ७ गते माओवादी केन्द्रको संसदीय दलको नेतामा प्रचण्ड सर्वसम्म चयन भए पनि उपनेताको जिम्मेवारी अहिलेसम्म कसैलाई दिइएको छैन । त्यतिबेला उपनेता बन्न वर्षमान पुन र जनार्दन शर्माले चासो देखाएका थिए । प्रमुख सचेतकमा हितराज पाण्डे सर्वसम्मत चयन भएका थिए ।

विधानमा बाबुरामलाई सम्मान हुने गरी दुई अध्यक्षको व्यवस्था गर्ने वा संघीय परिषद्को अध्यक्ष बनाउने भन्नेबारे आपसी सहमतिमै टुङ्ग्याउने गरी दुवै पार्टीका वार्ता टोली र शीर्ष तहमा छलफल भइरहेको छ । उन्नत समाजवादको लक्ष्य प्राप्तिका लागि समाजवादी मोर्चाबिच एकता आवश्यक रहेको भन्दै अन्य विषयमा पार्टीभित्र अन्तरसंघर्ष गर्दै जान सकिने नेताहरूको भनाइ छ । तथापि दुई पार्टीबिच एकता हुनेमा कुनै शंका नभएको दुवै पार्टीका शीर्ष नेताहरूले बताएका छन् ।

माओवादी केन्द्रमा २२ पदाधिकारीसहित ४११ सदस्यीय केन्द्रीय समिति छ । नेसपामा नौ जना पदाधिकारीसहित १८९ जना केन्द्रीय सदस्य छन् । एकताअघि नै राष्ट्रिय सम्मेलन गरी केन्द्रीय सदस्य विस्तार गर्ने तयारीमा नेसपा छ । त्यसले केन्द्रीय समितिको आकार झन् बढ्ने देखिन्छ । एकतापछि दुवै पक्षका नेताहरूको व्यवस्थापन गर्न निकै कठिन देखिन्छ ।

एकताका लागि माओवादीको तर्फबाट अध्यक्ष प्रचण्डको नेतृत्वमा समायोजन समिति गठन गर्ने सहमति भए पनि उनको कार्यव्यस्तताको कारण बैठक बस्न नसकेको महासचिव देव गुरुङले बताए ।

मंसिर ६ गते काठमाडौँको जडीबुटीमा बसेको नेसपाको केन्द्रीय समिति बैठकले अध्यक्ष भट्टराईको नेतृत्वमा एकता समायोजन समिति बनाएको थियो । उक्त समितिमा अर्का अध्यक्ष एवं खानेपानीमन्त्री महिन्द्र राय यादव, सहअध्यक्ष एवं बागमती प्रदेशका आन्तरिक मामिलामन्त्री गंगानारायण श्रेष्ठ, उपाध्यक्ष दुर्गा सोव, महासचिव रमेशप्रसाद यादव र डा. जनक यादव सदस्य छन् ।

एकताका लागि माओवादीको तर्फबाट अध्यक्ष प्रचण्डको नेतृत्वमा समायोजन समिति गठन गर्ने सहमति भए पनि उनको कार्यव्यस्तताको कारण बैठक बस्न नसकेको महासचिव देव गुरुङले बताए ।

‘नेसपासँग पार्टी एकताका लागि समायोजन समिति बनाउने विषयमा निर्णय लिन बैठक बोलाउने तयारी भइरहेको छ । कोप–२८ सम्मेलनबाट अध्यक्षज्यू फर्किएपछि बैठक बस्ला’, गुरुङले भने ।

वार्ता टोलीका सदस्यसमेत रहेका उनले पार्टी एकताबारे अनौपचारिक छलफल भइरहेको बताए । नेसपाबाट वार्ता टोलीका सदस्य रहेका महासचिव यादवले दुवै पार्टीका शीर्ष नेताहरूबिच अनौपचारिक वार्ता र छलफल भइराखेको जानकारी दिए ।

अहिले प्रचण्ड विदेशमा रहेका र जनार्दन शर्मा पनि भूकम्प प्रभावित गृहजिल्लामा रहेकाले औपचारिक छलफल नएको उनी बताउँछन् । यद्यपि महासचिवसहित अन्य शीर्ष नेताहरूसँग निरन्तर छलफल भइरहेको यादवले बताए ।

‘एकताका लागि दुवै पार्टीबाट अध्यक्षकै नेतृत्वमा समायोजन समिति बानउने सहमति भइसकेको छ । माओवादीबाट प्रचण्डको नेतृत्वमा समायोजन समिति बनेपछि औपचारिक वार्ता र छलफल हुन्छ’, एकताका लागि पछिल्लो अवस्थाबारे जानकारी दिँदै उनले भने, ‘अनौपचारिक छलफलमा एकताको मोडालिटी, कार्यदिशा, सांगठनिक संरचना, पार्टीको नाम, वैचारिक तथा राजनैतिक दस्तावेज बनाउने विषयमा छलफल केन्द्रित छ ।’

माओवादीका प्रवक्ता अग्निप्रसाद सापकोटाले एकता समायोजन समिति बनाउने विषयमा बैठक बोलाउने तयारी भएको बताए । अध्यक्ष प्रचण्ड आइतबार स्वदेश फर्किएपछि बस्ने पदाधिकारी बैठकले समिति गठन हुनसक्ने उनको आकलन छ ।

माओवादीका सचिव देवेन्द्र पौडेलले सांगठनिक स्वरूप, राजनैतिक तथा वैचारिक सिद्धान्त, पार्टीको नाम लगायत विषयमा अनौपचारिक छलफल भइरहेको जिकिर गरे ।

‘पार्टीको तर्फबाट एकता समायोजन समिति बनाउने विषयमा कुनै छलफल भएको छैन । अध्यक्षज्यू स्वदेश फर्किएपछि पदाधिकारीको बैठक बस्ने तयारी छ । सोही बैठकले यस विषयमा निर्णय गर्ला’, सापकोटाले भने ।

यस्तै नेसपाका तर्फबाट वार्ता टोलीका संयोजक एवं सहअध्यक्ष श्रेष्ठले एकताका लागि दुवै दलभित्र शीर्ष तहका अनौपचारिक छलफल भए पनि ठोस निष्कर्षमा नपुगेको बताए । माओवादी केन्द्रबाट एकता समायोजन समिति गठन भएपश्चात् मात्र एकता प्रक्रियाले मूर्त रुप लिन सक्ने उनले विश्वास व्यक्त गरे ।

‘पार्टी एकताका लागि दुवै दलबाट अनौपचारिक छलफल जारी छ । प्रचण्डजी फर्किएपछि माओवादीबाट एकता समायोजन समिति बन्ला । त्यसपछि एकता प्रक्रिया अगाडि बढ्ला । अहिले ठोस रूपमा केही भएको छैन’, श्रेष्ठले भने ।

यस्तै माओवादीका सचिव देवेन्द्र पौडेलले सांगठनिक स्वरूप, राजनैतिक तथा वैचारिक सिद्धान्त, पार्टीको नाम लगायत विषयमा अनौपचारिक छलफल भइरहेको जिकिर गरे ।

‘दुवै पार्टीका शीर्ष नेताहरूबिच अनौपचारिक छलफल भइरहेको छ । अध्यक्ष फर्किएपछि पार्टीले समायोजन समिति बनाउने विषयमा निर्णय गर्नेछ’, पौडेलले भने ।

गत वर्ष संघ र प्रदेशसभा निर्वाचनअघि नै दुई पार्टीबिच एकता पश्चात् नेकपा(समाजवादी) बनाउने सहमति भएको शीर्ष नेताहरूले दाबी गरेका छन् । पार्टी एकता गर्ने पूर्वसहमति अनुसार गत चैतमा नेसपा वार्ता टोलीको तर्फबाट माओवादीलाई ९ बुँदे आधार पत्र पठाएको थियो । सोही पत्रको जवाफ दिँदै माओवादी केन्द्रले गएको भदौ ३० गते एकताका लागि माओवादी केन्द्र छोड्न बहस र छलफल गर्न सकिने बताएको थियो । तर अध्यक्ष बाबुरामलाई बाइपास गरी पत्र पठाएको भन्दै नेसपाभित्र निकै विवाद भयो । अध्यक्ष यादव र सहअध्यक्ष श्रेष्ठ लगायत नेताहरूको विशेष पहलकदमीले विवाद साम्य भएको थियो ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

गणेश पाण्डे
गणेश पाण्डे

रातोपाटीका वरिष्ठ संवाददाता पाण्डे राजनीतिक तथा समसामियक विषयमा रिपोर्टिङ गर्छन् ।

लेखकबाट थप