सोमबार, १७ वैशाख २०८१
ताजा लोकप्रिय

बैंक तथा वित्तीय संस्थाहरूको निक्षेप चालु आर्थिक वर्षमा १४.९ प्रतिशतले वृद्धि छ : गभर्नर अधिकारी

बुधबार, २० मङ्सिर २०८०, १७ : ४०
बुधबार, २० मङ्सिर २०८०

काठमाडौँ । नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले बैंक तथा वित्तीय संस्थाहरूको निक्षेप चालु आर्थिक वर्षमा १४.९ प्रतिशतले बढेको बताएका छन् । 

बुधबार प्रतिनिधि सभा अन्तर्गतको अर्थ समिति बैठकमा बोल्दै गभर्नर अधिकारीले यस्तो बताएका हुन् । उनले बैंक तथा वित्तीय क्षेत्रतर्फ गत वर्ष २०७९ असोजमा ५.३ प्रतिशतले बढेको विस्तृत मुद्राप्रदाय २०८० असोजमा १४ प्रतिशतले बढेको बताए ।  उनले बैंक तथा वित्तीय संस्थाहरूको निक्षेप गत वर्ष ८.२ प्रतिशतले बढेकोमा चालु वर्ष १४.९ प्रतिशतले बढेको पनि बताए । 

गभर्नर अधिकारीले बैंक तथा वित्तीय संस्थाहरूबाट निजी क्षेत्रमा प्रवाह भएको कर्जा अघिल्लो आर्थिक वर्षको तीन महिनाको तुलनामा १०९ अर्ब रुपैयाँले बढेको बताए । उनले तरलतामा आएको सुधार र ब्याजदर घट्दै गएकोले कर्जा प्रवाह थप बढ्ने आँकलन राष्ट्र बैंकको रहेको बताए । उनले मौद्रिक नीतिको लचकताको कारण बैंकको ब्याजदर निरन्तर रुपमा घटिरहेको बताए । उनले गत वर्ष टेजरी बिलको भारित ब्याजदर १०.१४ प्रतिशत रहेकोमा २०८० असोजमा ४.९४ प्रतिशत रहेको बताए । 

गभर्नर अधिकारीले ९१ दिने टेजरी विलको भारित औसत ब्याजदर थप घटेर २.६२ प्रतिशत रहेको बताए । उनले गत वर्षको तुलनामा अल्पकालिन ब्याजदरहरु घट्दै गएको बताए । उनले बैंकहरुको अन्तर ब्याजदर पनि असोजमा २.२६ प्रतिशत रहेको ब्याजदर थप घटेर १ प्रतिशतको हाराहारीमा रहेको बताए । उनले बैंकहरुको बेस रेट घटेर ९.९४ प्रतिशत भएर एकल अंकमा आएको भन्दै कर्जाको ब्याजदर पनि गत वर्ष माघमा १३ प्रतिशत रहेकोमा अहिले घटेर १२.१ प्रतिशतमा झरेको बताए । उनले बैंकहरुको निक्षेपको ब्याजदर घटाउँदै ल्याएकाले कर्जाको ब्याजदर पनि थप घट्ने क्रममा रहेको बताए । 

गभर्नर अधिकारीले चालु आर्थिक वर्षमा ४ देखि ५ प्रतिशतको आर्थिक वृद्धि हुने आँकलन गरेको बताए । उनले चालु आर्थिक वर्षमा पर्यटक आगमन र विप्रेषण आप्रवाह उल्लेख्य रूपमा बढेको, ब्याजदर घटिरहेको र कर्जा प्रवाह बढ्न सुरु भएकोले ४ देखि ५ प्रतिशत आर्थिक वृद्धि हुने बताए । उनले उपभोक्ता मूल्यवृद्धिमा सुधार आउने अपेक्षा गरिएको बताए । उनले देशको आर्थिक स्थितितर्फ आर्थिक वर्ष २०७९÷०८० असोजको मूल्यवृद्धि ७.५ प्रतिशत रहेको बताए । 

गभर्नर अधिकारीले बाह्य क्षेत्र थप सुदृढ हुँदै गएको पनि बताए । उनले लामो समयसम्म घटिरहेको आयात २०८० असोज मसान्तसम्म १.७ प्रतिशतले बढेकोमा कार्तिकमा आएर पुनः ३.८ प्रतिशतले र व्यापार घाटा पनि ३.३ प्रतिशतले घटेको बताए । उनले २०८० असोजसम्म विप्रेषण आप्रवाह ३० प्रतिशतले बढेका कारण चालु खाता ५९ अर्ब रुपैयाँले वचतमा रहेको बताए । 

गभर्नर अधिकारीले पर्यटक आगमन सन् २०२२ को १० महिनाको तुलनामा ७१ प्रतिशतले बढेको बताए । उनले वैदेशिक रोजगारीको लागि जाने व्यक्तिहरू अघिल्लो दुई आर्थिक वर्षमा बढेकोमा चालु आर्थिक वर्षको तीन महिनासम्ममा २१ प्रतिशतले घटेको उल्लेख गरे ।

गभर्नर अधिकारीले राष्ट्र बैंकले बाह्य क्षेत्रको स्थायित्व, बैंक तथा वित्तीय क्षेत्रमा स्थिरता कायम गर्ने र बजार मूल्य स्थिर राख्ने काममा होसियार पूर्वक काम गरिरहेको बताए । उनले यी तीन विषयमा स्थायित्व दिनेसके मात्रै समग्र अर्थतन्त्रमा स्थायित्व कायम हुने बताए । उनले अर्थतन्त्रका यी तीनवटा विषयमा राम्रो अवस्था रहेको बताए ।  

त्यस्तै, नेपाल राष्ट्र बैंकको अनुसन्धान विभागका कार्यकारी निर्देशक डा. प्रकाशकुमार श्रेष्ठले ब्याजदर एकल अंकमा ल्याउँदा टिकाउन नसकिने बताए । उनले ब्याजदर एकल अंकमा आउनासाथ आयात बढ्ने र यसले सञ्चितिमा दबाब पर्ने दाबी गरे । उनले ब्याजदर एकल अंकमा आउनासाथ अर्कोतर्फ घर जग्गालगायत सम्पत्तिको मूल्य बढ्ने र यसले अर्थतन्त्रमा नकारात्मक असर पार्ने पनि बताए ।

 

 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप