शुक्रबार, २१ वैशाख २०८१
ताजा लोकप्रिय
राजनीति

विदेशतिर सर्‍यो दलहरूको ‘मिसन ०८४’

बिहीबार, २१ मङ्सिर २०८०, १२ : ४२
बिहीबार, २१ मङ्सिर २०८०

काठमाडौँ । प्रवासमा रहेका नेपालीलाई पनि मतदान गर्ने अधिकार दिने भएसँगै दलहरूको ध्यान विदेशतिर केन्द्रित हुन थालेको छ । विभिन्न दल यतिबेला ०८४ सालमा हुने आमनिर्वाचन लक्षित हुँदै राजनीतिक गतिविधि केन्द्रित गर्न थालेका छन् । सोही क्रममा ‘मिसन ०८४’ विदेशमा पनि विस्तार गरिरहेका छन् ।

नेपालका हरेक दलको विदेशमा संगठन छन् । विदेशको मत तान्नका लागि उनीहरूले ती संगठनलाई सक्रिय तुल्याएका छन् भने नेताहरू पनि विदेशमा आयोजना हुने राजनीतिक कार्यक्रममा व्यस्त हुन थालेका छन् ।

माओवादी केन्द्र, कांग्रेस, एमाले, नेकपा एकीकृत समाजवादी, जनता समाजवादी पार्टी, जनमत पार्टी, राष्ट्रिय स्वतन्त्र पार्टीलगायतले २०८४ मा हुने आमनिर्वाचनलाई लक्षित गरी विभिन्न कार्यक्रम गर्दै आइरहेका छन् । त्यसमध्ये कतिपय दलले आफ्ना कार्यक्रम विदेशमा समेत गर्दैछन् ।

पछिल्लो समय राष्ट्रिय स्वतन्त्र पार्टी ‘मिसन ०८४’ लिएर मलेसिया पुगेको थियो । केही नेताका साथमा मलेसिया पुगेका रास्वपाका सभापति रवि लामिछाने मंगलबारमात्र फर्केका छन् । अब उनी कतार जाने तयारीमा छन् ।

ck raut

त्यस्तै, जनमत पार्टीका अध्यक्ष सीके राउतले पनि दुबई पुगेर त्यहाँका नेपाली कामदारलाई आफूतिर तान्ने प्रयास गरेका छन् । कोप सम्मेलनमा भाग लिन दुबई पुगेका उनले त्यहाँका नेपालीहरूसँग विभिन्न क्याम्पमा गएर भेटेका छन् । उनको साथमा उपाध्यक्ष अब्दुल खान पनि थिए ।

rabi lamichhane

जनमत पार्टीका अध्यक्ष राउतले अमेरिका हुँदा नै गैरआवासीय मधेसी संघ गठन गरेका थिए । त्यो संगठन अझै क्रियाशील छ । त्यही संगठनले उनको पार्टीको भ्रातृ संगठनको रूपमा विभिन्न देशमा काम गरिरहेको छ ।

पार्टीका कोषाध्यक्ष सुरेन्द्रनारायाण यादव अहिले संगठनकै काम लिएर विदेशमा छन् । राउत दुबईबाट नेपाल फर्किसकेका छन् भने उपाध्यक्ष खान त्यहाँबाट कुवेत जाने भएका छन् ।

गत चुनावमा प्रवासमा रहेका नेपालीहरूबाट रास्वपा र जनमत पार्टीले निकै सहयोग लिएका थिए । त्यहाँ काम गर्ने नेपालीले आआफ्नो घरमा फोन गरेर ती पार्टीलाई मतदान गर्न दबाब दिएका थिए । यी दुई नयाँ पार्टी वैकल्पिक शक्तिको रूपमा एकाएक उदाउनुमा वैदेशिक रोजगारमा गएका नेपालीहरूको ठुलो हात छ ।

मलेसियाबाट फर्केका रास्वपाका सहमहामन्त्री एवं संगठन विभाग प्रमुख कवीन्द्र बुर्लाकोटीले आफूहरू पार्टीकै कार्यक्रम लिएर मलेसिया गएको बताए । उनले यसलाई ‘मिसन ०८४’ का रूपमा भन्दा पनि पार्टीको कार्यक्रमका रूपमा व्याख्या गर्नु उचित हुने बताए ।

407589325_335499955856672_3989185294792533505_n

‘हामीले त्यहाँ पार्टी निकट नेपाली तथा अन्य सरोकारवालाहरूसँग भेट्यौँ, त्यहाँ काम गर्ने नेपालीहरूको बारेमा छलफल ग¥यौँ, त्यहाँको नेपाली दूतावासमा गएर त्यहाँका श्रमिक नेपालीको बारेमा आफ्नो कुरा राख्यौँ,’ उनले भने ।

केही समय पहिले जनता समाजवादी पार्टी नेपालका अध्यक्ष उपेन्द्र यादव पनि अमेरिका पुगेका थिए । पार्टीका भ्रातृ संगठनले गरेको विभिन्न कार्यक्रममा सहभागी हुनका साथै उनले त्यहाँ रहेका नेपालीहरूसँग भेट गरेर निर्वाचनमा प्रवासीले पाएको आधिकारको कुरा गरेका थिए ।

जसपाका प्रचार विभाग प्रमुख पूर्ण बस्नेतले भने, ‘पहिला विदेशमा रहेका नेपालीहरूबाट आर्थिक सहयोग हुँदा आकर्षण थियो, अहिले त मतदानको अधिकार दिएपछि झन् आकर्षण बढ्नु स्वाभाविक हो ।’

प्रवासमा संगठन गठन तथा पुनर्गठन गर्ने काम भइरहेको बताउँदै उनले भौतिक तथा भर्चुअल उपस्थितिमा अधिवेशन गराउने काम धमाधम जारी रहेको जानकारी दिए ।

16125542134

अमेरिका, इजराइल लगायतका मुलुकमा अधिवेशनको तयारी भइरहेको बताउँदै उनले आफ्नो पार्टीले ‘मिसन ०८४’ भनेर अभियान नचलाए पनि संगठनलाई सक्रिय बनाउँदै गएको प्रस्ट पारे ।

हालै संगठनको काम लिएर भारतको विभिन्न ठाउँमा कार्यक्रम सम्पन्न गरी फर्केका नेकपा माओवादी केन्द्रका केन्द्रीय एवं प्रवास कमिटीका अध्यक्ष ओम शर्माले प्रवासमा रहेका सबै कमिटी सक्रिय रहेको बताए । २०८४ मा हुने चुनावमा माओवादी केन्द्रलाई त्यताबाट व्यापक सहयोग हुने अपेक्षा आफूले लिएको बताउँदै उनले यसका लागि संगठनले दिनरात काम गरिरहेको प्रस्ट पारे ।

भारतको पञ्जाव, गोवा, बेंग्लोर, दिल्ली, मुम्बईमा संगठनको कार्यक्रमहरू सकेर शर्मा नेपाल फर्किसकेका छन् । माओवादीले सञ्चालन गरेको तीन महिने अभियान अन्तर्गत नै यी सबै कार्यक्रम भइरहेको उनले बताए ।

पञ्जाबमा माओवादीको जनसंगठन अखिल भारत नेपाली एकता मञ्चले कार्यक्रम गरेको थियो । त्यहाँ माओवादी केन्द्रका केन्द्रीय सदस्य लक्ष्मण पन्तले सम्बोधन गरेका थिए । दिल्लीमा संयुक्त राज्यस्तरीय जनसभा भएको थियो जहाँ पार्टीका उपमहासचिव मातृका यादवले सम्बोधन गरेका थिए ।

बेंग्लोरमा पार्टीका वैकल्पिक केन्द्रीय सदस्य ईश्वरी भण्डारी र मञ्चका महासचिव चक्र मलातीले सम्बोधन गरेका थिए । यसरी भारतका विभिन्न ६ वटा सहरमा कार्यक्रम भएको र त्यहाँ संगठन क्रियाशील रहेको शर्माले बताए ।

हालै कतारबाट फर्केका एमालेका केन्द्रीय सदस्य उमाशंकर अरगरियाले प्रवासमा एमालेको संगठन निकै बलियो रहेको बताए । आफूलाई संगठनकै काम दिएर पार्टीले कतार पठाएको बताउँदै उनले त्यहाँ जनमत पार्टीका कयौँ कार्यकर्तालाई आफू गएर एमालेतिर तानेको दाबी गरे । अरगरियाले अब मलेसिया, दुबई जाने तयारी भइरहेको जनाए ।

विजयकुमार गच्छदारको तत्कालीन मधेसी जनअधिकार फोरम लोकतान्त्रिकमा विदेश विभाग प्रमुख भएर काम गरेको अनुभवको आधारमा एमालेले पनि अरगरियालाई विदेश पठाएर संगठन विस्तारमा खटाएको छ ।

उनले भने, ‘विदेशमा रहेका नेपालीबाट चुनावमा पार्टीहरुलाई निकै सहयोग प्राप्त भइरहेको छ, अहिले मताधिकार दिने कुरा भएको छ, त्यसले उत्साहित बनाएको छ । यसअघि पनि चुनावमा सहयोग भइरहेको थियो ।’

विदेशमा रहेका नेपालीले भनेकै आधारमा उनीहरूका घरका सदस्यले पनि मत दिने भएका कारण दलहरूले प्रवासमा रहेका नेपालीलाई महत्त्व दिएका हुन् ।

यदि विदेशमा कुनै पार्टीको २० हजार कार्यकर्ता छन् भने उनीहरूले नेपालमा ८० हजारदेखि एकलाख मत उक्त पार्टीलाई दिलाउन सक्ने आकलन एमाले नेता अरगरियाको छ । विदेशबाट उनीहरूले जसलाई मत हाल्न भन्छन्, उसैलाई उनीहरूका परिवारले मत दिने अरगरियाको भनाइ छ । त्यही भएर पछिल्लो समय दलहरूको आकर्षण विदेशतिर बढ्दै गएको उनले बताए ।

नेपाली कांग्रेसका केन्द्रीय सदस्य एवं अन्तर्राष्ट्रिय सम्बन्ध र पर्यटन समितिका सदस्य रहेका उदयशम्शेर राणा यतिखेर अस्ट्रेलियामा छन् । व्यक्तिगत कामले अस्ट्रेलिया पुगेका उनी संगठनको काममा पनि लागेका छन् । त्यहाँका कांग्रेस निकट जनसम्पर्क समितिले शुक्रबार आयोजना गरेको अन्तरक्रिया कार्यक्रममा उनी सहभागी हुने भएका छन् ।

रातोपाटीसँग कुरा गर्दै राणाले भने, ‘म व्यक्तिगत कामका लागि यहाँ आएको हुँ, यस क्रममा पार्टीका साथीभाइसँग भेटघाट तथा अन्तरक्रिया कार्यक्रम गर्ने गरेको छु ।’

अस्ट्रेलियामा कांग्रेसको राम्रो संगठन रहेको बताउँदै उनले अन्य देशमा पनि कांग्रेसका कार्यकर्ता, नेता तथा शुभचिन्तक रहेको र सबै क्रियाशील रहेको बताए ।

आ–आफ्नो दाबी

प्रवासमा रहेका नेपालीलाई मताधिकार दिने लगभग पक्का भएको छ । निर्वाचन आयोग त्यसको तयारीमा लागिसकेको छ । प्रवासीले मताधिकार पाउनुमा आफ्नो भूमिका महत्त्वपूर्ण रहेको भन्दै विभिन्न दलले दाबी गर्न थालेका छन् ।

हरेकजसो दलका नेताले आफ्नो पार्टीको दबाबका कारणले मात्र प्रवासीले मताधिकार पाएको दाबी गर्दै आइरहेका छन् । कतिपय दलले प्रवासको मत तान्नका लागि यसलाई चुनावी एजेण्डा पनि बनाएको देखिन्छ ।

२०१५ को चुनावमा समेत दलहरूले आफ्नो घोषणापत्रमा प्रवासीलाई मताधिकारको कुरा उठाएका थिए । त्यतिबेला सीमित देशमा निकै थोरै नेपाली पुगेका थिए । अहिले त सयभन्दा बढी देशमा नेपाली पुगिसकेका छन् । ८७ वटा देशमा एनआरएनएको संगठन विस्तार भएको छ ।

विदेशमा करिब ६० लाख नेपाली छन् । तीमध्ये करिब ५० लाख मतदाता नै छन् । यिनै मतदातालाई आकर्षित गर्न दलहरूको बिचमा होडबाजी चलेको छ ।

अहिलेसम्म भएका प्रयास

२०३६ सालको जनमतसंग्रहमा पहिलो पटक विदेशमा रहेका नेपालीले निर्वाचनमा भाग लिएका थिए । त्यसबेला एसिया महादेशलगायत अमेरिका, बेलायत, भारत, अस्ट्रेलिया, जापानबाट नेपालीहरूले मतदान गरेका थिए ।

२०७२ मा तत्कालीन संसदको अन्तर्राष्ट्रिय श्रम व्यवस्थापन समितिको संसदीय टोलीले खाडी मुलुक र मलेसियासहितका अन्य देशमा रहेका नेपालीलाई कसरी मतदान प्रक्रियामा सहभागी गराउने भन्नेबारे अध्ययन प्रतिवेदन नै सरकारलाई बुझाएको थियो ।

निर्वाचन आयोगले पनि २०६९ सालदेखि पटकपटक विभिन्न देशमा पुगेर प्रवासीको मताधिकारबारे अध्ययन गरेर सरकारलाई प्रतिवेदन बुझाइसकेको छ । अहिले पनि निर्वाचन आयोगले विदेशमा मतदाता नामावली संकलनको तयारी गरिरहेको स्रोतले जनाएको छ । मतदाता नामावली संकलनका लागि कार्यविधि तयार गरी आयोगले सरकारलाई बुझाइसकेको छ ।

२०८४ को प्रतिनिधिसभा चुनावमा प्रवासमा रहेका नेपालीहरूले समानुपातिकतर्फ मतदान गर्न पाउने गरी आयोगले कार्य अगाडि बढाएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एसके यादव
एसके यादव

एसके यादव रातोपाटीमा राजनीतिक तथा समसामयिक विषयमा रिपोर्टिङ गर्छन् ।

लेखकबाट थप