बुधबार, २६ वैशाख २०८१
ताजा लोकप्रिय

निर्वाचनसम्म एमाले सरकारमा भएको भए अरु पार्टीको राजनीतिक पसल बन्द भइसक्थ्यो : अध्यक्ष ओली

बिहीबार, २१ मङ्सिर २०८०, २० : २५
बिहीबार, २१ मङ्सिर २०८०

पोखरा । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले गत निर्वाचनसम्म आफ्नो पार्टी सरकारमा भएको भए अहिले अन्य दलका राजनीतिक पसल बन्द भइसक्ने बताएका छन् ।  पाेखरामा भएको कार्यक्रममा बोल्दै उनले देशमा एमाले मात्रै राष्ट्रवादी शक्ति भएको उल्लेख गरे । 

 ‘एमालेको सरकार चुनावसम्म भएको भए यिनिहरुको राजनीतिक सटर बन्द हुन्थे । यिनका सहयोगीहरु, अभिभावकहरु, वैदेशिक शक्तिहरु पनि डराए । देशी विदेशी शक्ति मिलेर एमालेलाई ढलाए,’ उनले भने, ‘तर एमाले सकिएको छैन । अझै सशक्त भएर आउँछ । देशभरिका जनतासँग भेटेर, मागपत्र लिएर विकास निर्माणका कामहरु गर्छौं ।’ 

अध्यक्ष ओलीले आगामी २०८४ को निर्वाचनपछि एमालेको एकल सरकार बनाउन अहिलेको अभियान चलाएको बताए ।

पूर्व प्रधानमन्त्री समेत रहेका ओलीले नेपालमा अब कहिल्यै पनि राजतन्त्र नफर्किने दाबी गरेका छन् । ‘१६ वर्ष अगाडि मरेर चिहानमा पुगिसकेको राजतन्त्र अब फर्किनेवाला छैन,’ उनले भने, ‘नेपाली जनताको गरिबीको कारण, कष्ट, दुखको कारण, नेपाल विकसित हुन नपाउनको प्रमुख कारण राजतन्त्र हो । त्यो सामन्ती राजतन्त्रलाई फेरि फर्किन दिइने छैन ।’ 

देशका भू–भाग मिचिँदा समेत राजतन्त्रले फिर्ता ल्याउन नसकेको उनको आरोप छ । ‘राजतन्त्रले त्यत्रो समय राज गर्दा हामीले भोगचलन गरेको लिपुलेक, लिम्पियाधुरा, कालापानी किन फिर्ता ल्याएन ?,’ उनको प्रश्न छ, ‘किन भारतले कब्जा गरेको छ भनेर बोल्न सकेन ? सत्ताका लागि राष्ट्र मिचिन दिएका छन् ।’

अध्यक्ष ओलीले आफू प्रधानमन्त्री भएपछि मात्रै विकासको गति तीव्र भएको दाबी गरे । ‘म प्रधानमन्त्री हुनुअघि १ वर्षमा १० किलोमिटर बाटो पिच हुन्थ्यो । म प्रधानमन्त्री भएपछि एकैदिनमा १० किलोमिटरभन्दा बढी पिच गर्न थाल्यो । त्यो पनि सिंगल लेन होइन, डवल लेन, फोर लेन, सिक्स लेनको,’ उनले थपे, ‘एमालेले गरेका काम आफू उभिएकै ठाउँबाट हेर्न सकिन्छ । धेरै विकास गरेको छ ।’ 

लोकतन्त्रलाई संस्थागत गर्न एमाले जुनसुकै संघर्ष गर्न पनि तयार रहेको ओलीको भनाइ छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप