आइतबार, २३ वैशाख २०८१
ताजा लोकप्रिय

तनहुँका चार स्थानीय तहमा राष्ट्रपति रनिङशिल्ड

बिहीबार, २१ मङ्सिर २०८०, २२ : ५३
बिहीबार, २१ मङ्सिर २०८०

दमौली  । तनहुँ जिल्लाका चार स्थानीय तहमा राष्ट्रपति रनिङशिल्ड प्रतियोगिता सुरु भएको छ । जिल्लाको म्याग्दे, आँबुखैरेनी, ऋषिङ र घिरिङ गाउँपालिकामा आजदेखि राष्ट्रपति रनिङशिल्ड प्रतियोगिता सुरु भएको हो । 

अन्य पालिकाले पनि रनिङशिल्डको तयारी गरेका छन् । अन्या स्थानीय तहमा पनि मङ्सिर महिनाभित्रै पालिकास्तरीय रनिङशिल्ड प्रतियोगिता हुँदैछ । पालिकास्तरीय रनिङशिल्ड सुरु भएपछि  स्थानीय तह खेलकुदमय भएको छ । 

जिल्ला खेलकुद विकास समिति तनहुँले आगामी पुस ९ र १० गते जिल्लास्तरीय राष्ट्रपति रनिङशिल्ड प्रतियोगिता गर्ने निर्णय गरेको छ । खेलकुद विकास समितिका अध्यक्ष अनिल पाण्डेले पालिकास्तरको राष्ट्रपति रनिङशिल्ड प्रतियोगिता मङ्सिर मसान्तभित्र गरिसक्ने र त्यसपश्चात् जिल्लास्तरीय प्रतियोगिता गर्ने निर्णय भएको जानकारी दिए । 

खेलकुद विकास समितिले प्रत्येक वर्ष दशवटै पालिकाबाट छनोट भएर आएका खेलाडीलाई सहभागी गराएर राष्ट्रपति रनिङशिल्ड प्रतियोगिता आयोजना गर्दै आएको छ । पाण्डेले भने, “मङ्सिरभित्र सबै स्थानीय तहमा पालिकास्तरीय प्रतियोगिता हुनेछ, त्यहाँबाट छनोट भएर आएका विद्यार्थीले जिल्लामा सहभागिता जनाउनेछन् ।”

गत वर्ष आयोजित जिल्लास्तरीय राष्ट्रपति रनिङशिल्डको उपाधि व्यास नगरपालिकाले जितेको थियो । त्यसक्रममा व्यास नगरपालिकाले ११ स्वर्ण, पाँच रजत र छ कास्य पदक जितेको थियो । प्रतियोगितामा १३ पदकसहित भानु नगरपालिका द्वितीय भएको थियो भने भिमाद नगरपालिका १२ पदक सहित तेस्रो भएको थियो । 

आँबुखैरेनी गाउँपालिकाले आजदेखि २३ गतेसम्म पालिकास्तरीय रनिङशिल्ड आयोजना गरेको छ । जिल्ला खेलकुद विकास समितिको निर्णय बमोजिम उक्त मितिमा पाँचौ राष्ट्रपति रनिङशिल्ड आयोजना गरिएको हो ।

प्रतियोगितामा छात्र छात्रा भलिबल, कराँते, एथलेटिक्सतर्फ एक सय मिटर दौड, दुई सय मिटर दौड, तीन सय मिटर दौड, चार सय मिटर दौड, रिले दौड, लङजम्प, हाइजम्प, सटपुट, ज्याभलिङ थ्रो लगायतका खेल हुने गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत विष्णुप्रसाद शर्माले जानकारी दिए । 

व्यास नगरपालिकाले मङ्सिर ३० गतेदेखि पुस २ गतेसम्म निर्मल माध्यमिक विद्यालयको खेलमैदानमा पाँचाँै रनिङशिल्ड गर्ने निर्णय गरेको छ । त्यसका लागि मङ्सिर २५ गतेभित्र खेलाडीको नामावली निर्मल माविको प्रशासन शाखामा पेश गर्न सूचित गरिएको छ । 

रनिङशिल्डमा छात्रछात्रा भलिबल, कबड्डी, दौड, मार्सल आर्ट, कराते लगायतका खेल सञ्चालन हुने प्रतियोगिताका सदस्य एवं गणेशचन्द्र बस्नेतले जानकारी दिए ।  चालु शैक्षिक शत्रमा माध्यमिक विद्यालयको कक्षा १२ सम्म नियमित रुपमा अध्ययन गरिरहेका विद्यार्थीले मात्र प्रतियोगितामा सहभागिता जनाउन पाउने बस्नेतले बताए ।  

म्याग्दे गाउँपालिकाले मङ्सिर २१ गतेदेखि पालिकास्तरीय रनिङशिल्ड सुरु गरेको छ । म्याग्दे गाउँपालिका–२ दमसेरा खेलमैदानमा सञ्चालन हुने प्रतियोगितामा छात्रछात्रा भलिबल, कबड्डी, दौड, मार्सल आट लगायतका विधामा प्रतिस्पर्धा गराइने गाउँपालिकाका शिक्षा शाखा प्रमुख बुद्धिसागर खनालले जानकारी दिए ।

भानु नगरपालिकाले मङ्सिर २९, ३० र पुस १ गते भानु नगरपालिका–२ ब्राइटफ्युचर युवा क्लवको खेलमैदानमा प्रतियोगिता गर्ने तयारी गरेको छ । प्रतियोगितामा छात्रछात्रा भलिबल, कबड्डी, दौड लगायतका विधामा खेलाडीबीच प्रतिस्पर्धा गराइने जनाइएको छ ।
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रासस
रासस

राष्ट्रिय समाचार समिति नेपालकाे  सरकारी समाचार संस्था हाे ।

लेखकबाट थप