मङ्गलबार, २५ वैशाख २०८१
ताजा लोकप्रिय

ओलीलाई व्यंग्य : रेल पोखरा आइसक्यो कि डिमुवामा माछा चिउरा खाँदैछ ?

शुक्रबार, २२ मङ्सिर २०८०, ०८ : ०६
शुक्रबार, २२ मङ्सिर २०८०

पोखरा । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली नेता कार्यकर्ता लिएर लावालस्कर सहित मध्येपहाडी लोकमार्गको संकल्प यात्रामा छन् । उनी बिहीवार बागलुङबाट कुश्मा हुँदै पोखरा आइपुगेर बास बसेका छन् । शुक्रवार विहानैदेखि उनको जनभेटघाट र यात्रा छ । ओलीले बिहीवार साँझ हेमजामा सम्बोधन गरे । त्यहाँबाट मध्येपहाडी छोडेर उनी पोखरातिर लागेका हुन् ।

पश्चिमदेखि पूर्वसम्म पूरै मध्येपहाडीको यात्रा गर्ने भनिएपनि कास्कीको एउटा खण्डमा ट्रयाक खुलेको छैन । त्यसैले उनी सीधै लमजुङ पुगेर मध्येपहाडी भेट्छन् । ओली पोखराबाट लेखनाथ, शिशुवा हुँदै लमजुङ निस्किने कार्यक्रम छ । यहाँका प्रभाव क्षेत्रका नागरिकहरुसँग सम्वाद गर्ने कार्यक्रम रहेको एमालेले जनाएको छ । खासगरी याम्दीदेखि भैंसेसम्मको ट्रयाकमा टेण्डर भैसकेर पनि काम अघि बढ्न सकेको छैन ।

अहिले पोखरामा बास बसेका ओलीलाई आलोचकहरुले ६ वर्षअघि गरेको भाषणका आधारमा व्यंग्य गर्न थालेका छन् । उनले अघिल्लो आम निर्वाचनका समयमा रेलमार्गको बारेमा आफ्ना वक्तव्य राखेका थिए, पोखराको भेलामा ।

काठमाडौंबाट आउने रेल पोखराबाट कुश्मा हुँदै आसपासका जिल्ला पुग्ने र कुश्मामा रेलको स्टेशन राखिने बताएका थिए । सोही भाषणलाई लिएर अहिले व्यंग्यात्मक तस्वीरहरु सहित उनको आलोचना भैरहेको छ । ‘कोरलादेखि जोमसोम, कुश्मा स्टेसनबाट पोखरा झरिसकेको हो कि डिमुवामा माछा चिउरा खाँदैछ रेलले ?’ कांग्रेस नेता प्रकाश मोहन खनालको व्यंग्य छ । ओलीकै भाषणका आधारमा गण्डकीको संस्थापक सरकारले पहिलो ५ वर्षमा ८० किलोमिटर रेलमार्ग निर्माण गर्ने पञ्चवर्षीय योजनामा समेटेको थियो । तर उक्त योजना ‘फुस्सा’ भइसकेको छ ।

पत्रकार कमल पौडेल अथकले तस्विर सहितको व्यंग्य फेसबुकमा पोष्ट गरेका छन्, ‘रेल आज पोखरामा आइपुगेको छ ।’ उनले केपी ओलीले डोकोमा रेल बोकेको व्यांग्यात्मक चित्र पनि पोष्ट गरेका छन् ।

राष्ट्रिय संगीतकर्मी संघ गण्डकीका अध्यक्ष कृष्णप्रसाद गौतमले सडक निर्माण समेत हुन नसकेको अवस्थामा रेलको सपना देखाउनु हाँस्यास्पद भएको तर्क गरे ।
‘एउटा मुल बाटो बन्न सकेको छैन, रेल । अबको ५०÷६० वर्ष पछि आएछ भने नि केपीले नै ल्याएका हुन् भने मात्रै हो । नत्र त सम्झने मात्रै हो,’ उनले भने ।

अहिले पर्वत र हेमजाको सभामा ओलीले रेलका कुरा उठाएनन् । उनले मध्येपहाडी लोकमार्ग आफ्नै सरकारले तीव्र निर्माण गरेको दावी गरे । देशैभरी विकास निर्माण गरेको दावी गरे ।

ओलीले भने, ‘हाम्रो पालामा धेरै विकास भएका छन् । तपाईं उभिएकै ठाउँमा बसेर हेर्दा देखिनेजति विकास एमालेले गरेको हो ।’ तर मध्येपहाडी लोकमार्गमा देखिएका समस्याहरुबारे भने उनले कुनै सम्बोधन गरेका छैनन् ।  
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप