आइतबार, २३ वैशाख २०८१
ताजा लोकप्रिय

‘चमत्कार गर्न नसक्दा जनतामा निराशा’

शनिबार, २३ मङ्सिर २०८०, २१ : ४९
शनिबार, २३ मङ्सिर २०८०

काठमाडौँ ।  नेकपा (माओवादी केन्द्र) का उप महासचिव वर्षमान पुन अनन्तले जनतालाई चमत्कार चाहिएको तर, त्यसो हुन नसक्दा निराशा बढेको बताएका छन् । शनिबार भक्तपुरमा कार्यकर्ता प्रशिक्षण कार्यक्रमलाई सम्बोधन गर्दै नेता पुनले सोकुरा प्रष्ट पारेका हुन् ।

जनताले कुनै हिरो वा हिरोइन आएर देश सम्पन्न बनाउने सपना देख्दा लोकप्रियतावादले प्रश्रय पाएको र यसले जनतामा झनै निराशा बढाउने उनले बताए । ‘नेपाली जनता सधैं सत्ताको विपक्षी जस्ता बनेका छन् । यसको फाइदा हल्लाखोरहरुले उढाइरहेका छन्’ उनले भने ।

   सूचना प्रविधिको विकासले गर्दा जनताले विकसित देश हेरेर नेपालमा त्यस्तै हुनुपर्ने सोच राख्नु जायज भयपनि रातारात त्यस्तै परिवर्तन खोज्नु जायज नभएको उनको भनाइ छ ।

‘पन्चायतको र बहुदलको समय भन्दा तुलनात्मक रुपले गणतन्त्रको १५ वर्षमा धेरै उपलब्धि भएपनि केही नभए जस्तो अफवाह फैलाइएको छ’ उनले भने । तथ्य र प्रमाणमा बहस नगरी भ्रम र अफवाह फैलाइएको उनले बताएका हुन् ।

मेरिटको वकालत गरेर आधारभूत वर्गलाई अवसर दिने समानुपातिक समावेशीको विरोध गर्नेहरु पश्चगामी भएका तर लोकप्रिय बन्ने होडमा नेता कार्यकर्ताले प्रतिरोध नगरेका भन्दै उनले दुख ब्यक्त गरे । ‘आधारभूत जनताको हकहितलाई सुनिश्चित गरेर सबै तहका जनतालाई विकासमा सहभागि गराउनु पर्छ’ उनले भने ।

पार्टी अध्यक्ष एवं प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सुशासनको कार्य अगाडि बढाएको मन नपरेका तत्वले बालुवाटार जग्गा प्रकरण, भुटानी शरणार्थी, सुनकाण्ड र एनसेल कर छली र मिटरब्याज विरुद्धको सरकारको अभियानलाई उल्टो व्याख्या गरेर सुशासनको आन्दोलन कमजोर पार्न खोजेका जिकिर गरे । ‘सिङ्गो पार्टी र जनता माफियाकरणका विरुद्धमा एकजूट भएर सरकारलाई साथ दिनुपर्दछ’ उनले भने ।

उनले सरकार केही ठूला भ्रष्टाचारका फाइल खोल्ने तयारीमा रहेको खुलासा समेत गरेका छन् । उक्त अवसरमा नेता पुनले कार्यकर्तालाई आलोचनात्मक चेत सहित सरकारलाई सहयोग र खबरदारी गर्न प्रोत्साहित गर्दै सरकारमा नरहेका प्रदेश र स्थानीय सरकारमा सशक्त प्रतिपक्षीको भूमिका निर्वाह गरि जनताको पक्षमा उभिन स्थानीय पार्टी र कार्यकर्तालाई अपिल पनि गरेका छन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप