सोमबार, १७ वैशाख २०८१
ताजा लोकप्रिय

नेताहरूले नै प्रदेश रहने कुरामा आशङ्का व्यक्त गरिररहेका छन् : जगमान गुरुङ

शनिबार, ३० मङ्सिर २०८०, १६ : ५८
शनिबार, ३० मङ्सिर २०८०

काठमाडौँ । वरिष्ठ संस्कृतिविद् जगमान गुरुङले नेपालमा संघीयता कायम रहनेमा आशङ्का व्यक्त गरेका छन् । शनिवार काठमाडौँमा सुदूरपश्चिम र कर्णाली क्षेत्रको लोक साहित्य र संस्कृतिमा आधारित पुस्तक ‘काली–कर्णालीको लोक साहित्य र संस्कृति’ लोकार्पण समारोहलाई सम्बोधन गर्दै उनले यस्तो आशङ्का व्यक्त गरेका हुन् । 

यस पुस्तक देउडा गीतका गायक यज्ञराज उपाध्यायले रचना गरेका हुन्। ९८४ पृष्ठको उक्त पुस्तकमा सुदूरपश्चिम र कर्णाली प्रदेशमा प्रचलित लोक साहित्यका विभिन्न विधा–उपविधाहरूलाई केलाइएको छ । 

कार्यक्रममा बोल्दै गुरुङले चुनाव जितेर आएर मात्रै माननीय नहुने र माननीय हुनका लागि लोकले मान्नुपर्ने बताए । लोकले मानेन भने राष्ट्रपति हुँदैमा सम्माननीय नभइने उनको भनाइ छ । उनले नेताहरूले नै प्रदेश रहने कुरामा आशङ्का व्यक्त गरिरहेको जिकिर गरे । ‘ चुनाव जितेर आएर मात्रै माननीय हुँदैन, लोकले मान्नुपर्छ । अहिलेका कतिपयलाई लोकले मानेको छ ? मानेको छैन । राष्ट्रपति हुँदैमा सम्माननीय हुँदैन । लोकले मान्नुपर्छ । हामीले राष्ट्रको प्राज्ञिक आवश्यकताको परिपूर्ति गर्नुपर्छ । विश्वविद्यालय, प्रज्ञा प्रतिष्ठानले गर्नुपर्ने भन्ने कुरा आयो । गर्छु भनेर पनि सरकारले सहयोग गर्दैन । आफू आफूमा माननीयहरूले पाँच करोड, कति कति राख्छन्,’ उनले भने ।

गुरुङले आफू नेपाल प्रज्ञा प्रतिष्ठानमा रहँदा सात वटै प्रदेश चिनाउने ग्रन्थ रचना गर्ने भनेर लागे पनि सरकारले सहयोग नगरेको गुनासो गरे ।  उनले राष्ट्रको प्राज्ञिक आवश्यकताको परिपूर्ति गर्नुपर्ने भन्दै देशलाई चिनाउने इनसाइक्लोपिडिया रचना गर्न बजेट माग्दा सरकारले सहयोग नगरेको बताए । उनले भने, ‘नेपाल प्रज्ञा प्रतिष्ठानमा आएपछि मैले के कुरा उठाएँ भने सत्यमोहन जोशीको संयोजकत्वमा यस्तो काम गरेको छ । नेपाल चिनाउने ग्रन्थ छैन, अहिले नेपाल सात प्रदेशमा विभाजित भयो, सातै प्रदेशको सर्वाङ्गीण विषय समेटिएको ग्रन्थ रचना गर्नुपर्छ भनेर एउटा परियोजना सञ्चालन गर्ने लक्ष्य राखेको थियौँ । तर नेपाल सरकारबाट सहयोग भएन । प्रज्ञा प्रतिष्ठानको बजेट कटाएर अहिले समस्या कहाँ छ त, कुन प्रदेशमा छ भन्दा मधेस प्रदेश । मधेसको अनुसन्धान गर्नुपर्छ, तर पहाडकाले होइन, मधेसकैले हो । हाम्रो इतिहास अर्कोले लेखेर बिगारिदियो भन्छ । त्यसैले उनीहरूलाई नै लेख्न लगायौँ । ग्रन्थ तयार भयो तर हामी अवकाश पायौँ । छापेर ठिक्क प्रेसमा जान लागेको छ । त्यो ग्रन्थ तुहिएको होइन, अझै छ । कुनै बेला आउला । त्यो सातै प्रदेशको इतिहास समेटिएको पुस्तक आउनेछ । सातै प्रदेश रहन्छ की रहँदैन, रहँदैन भन्छन्, नेताहरू । तर नेपाल त रहन्छ । नेपालको सर्वाङ्गीण विषय समेटिएको ग्रन्थ सम्पादन हुन्छ र प्रकाशन हुन्छ । यसले राजाको मात्रै कुरा गर्छ भन्लान् । नेपाललाई चिनाउने इन्साइक्लोपिडिया छ त ? छैन । तर देशलाई चिनाउने इनसाइक्लोपिडिया रचना गर्छौँ पैसा देऊ भन्दा मान्दैन ।’

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप