शनिबार, ०९ साउन २०८३
ताजा लोकप्रिय

अमेरिकी मुक्केबाज विल्डर भन्छन्, ‘एन्थोनी जोसुआसँग मेरो सामना गर्ने मुटु नै छैन’

मङ्गलबार, ०३ पुस २०८०, १२ : ४३
मङ्गलबार, ०३ पुस २०८०

काठमाडौँ । चर्चित अमेरिकी मुक्केबाज डेयोन्टी विल्डरले ब्रिटिस बक्सर एन्थोनी जोसुआ आफूसँग भिडन्त गर्न डराएको भन्दै उनीप्रति व्यङ्ग्य गरेका छन् । ३८ वर्षीय विल्डरले आफूसँग भिडन्त गर्न प्रतिद्वन्द्वीहरूसँग बलियो मुटु हुनुपर्ने टिप्पणी पनि गरे ।

‘एन्थोनी जोसुआ मसँग भिडन्त गर्न चाहँदैनन् । उनीसँग मेरो सामना गर्ने मुटु नै छैन,’ विल्डरले भनेका छन् । यी दुवै मुक्केबाजले आगामी शनिबार साउदी अरेबियामा आ–आफ्ना प्रतिद्वन्द्वीसँग भिडन्त गर्दै छन् ।

यी दुवै मुक्केबाजले उक्त भिडन्तमा सफलता हात पारेमा निकट भविष्यमै उनीहरू बक्सिङ रिङमा आमने–सामने हुनेछन् । ‘उनी मसँग सतप्रतिशत डराएका छन् भनेर म दाबी गर्दिन । तर, पक्कै पनि मप्रति उनको मनमा ७५ प्रतिशत त्रास भने छ,’ विल्डर भन्छन् ।

अर्कोतिर जोसुआले पनि आफू विल्डरसँग भिडन्त गर्न आतुर रहेको बताएका छन् । ‘म पनि विल्डरसँग भिडन्त गर्न आतुर छु । तर, यसका लागि केही चरण पार गर्नु आवश्यक छ,’ सञ्चारकर्मीहरूसँगको कुराकानीमा ३४ वर्षीय जोसुआले भनेका छन् ।

हेभिवेट भिडन्तको इतिहासमा विल्डरलाई चर्चित ‘नकआउट पञ्चर’ को रूपमा लिइन्छ । भिडन्तका क्रममा शक्तिशाली मुक्का प्रहार गर्दै आफ्ना प्रतिद्वन्द्वीहरूलाई नकआउट गर्न उनी माहिर मानिन्छन् । साउदी अरेबियामा शनिबार हुने भिडन्तमा जोसुआले स्विडेनका मुक्केबाज वालिनको सामना गर्नेछन् ।

विल्डरले भने जोसेफ पार्करसँग भिडन्त गर्नेछन् । पछिल्लो तीन वर्षको अवधिमा विश्व च्याम्पियनको उपाधि गुमाएका जोसुआ र विल्डर लामो समयपछि पुनः च्याम्पियन बन्ने धुनमा छन् । दुईपटकका डब्लूबीए, डब्लूबीओ र आईबीएफ विजेता जोसुआले हालसम्म कीर्तिमानी रूपमा २६ जित र तीन हारको सामना गरेका छन् ।

सन् २०१५ देखि सन् २०२० सम्म डब्लूबीसी उपाधिमाथि कब्जा जमाएका विल्डरले ४३ मध्ये ४२ भिडन्तमा आफ्ना प्रतिद्वन्द्वीलाई नकआउट गरेका छन् । उनले ब्रिटिस मुक्केबाज टाइसन फुरीसँग पराजित भएपछि डब्लूबीसी उपाधि गुमाएका थिए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप