शुक्रबार, २१ वैशाख २०८१
ताजा लोकप्रिय
राज्य व्यवस्था समिति बैठक

प्रधान सेनापति र सांसदबिच सवाल–जवाफ : सिपाहीलाई प्राविधिक, डाक्टर र प्रोफेसर बनाइयो !

बुधबार, ०४ पुस २०८०, १५ : ३५
बुधबार, ०४ पुस २०८०

काठमाडौँ । जन्म मिति र प्रमाणपत्रबारे विवादमा मुछिएका नेपाली सेनाका जर्नेल ताराध्वज पाण्डेबारे प्रधान सेनापति प्रभुराम शर्मा र सांसदहरुबिच सवाल–जवाफ भएको छ ।

राज्य व्यवस्था तथा सुशासन समितिको बैठकमा प्रधान सेनापति र सांसदहरुबिच पाण्डेको बारेमा सवाल–जवाफ भएको हो ।  

सांसद रघु पन्तले ताराध्वजको प्रमाणपत्र बारेमा बाहिर आएका चर्चा र वास्तविकता के हो भन्दै प्रधानसेनापतिलाई प्रश्न गरेका थिए । त्यसक्रममा उनले बढुवाको सिफारिस पनि गर्ने र विवादमा आएपछि राजीनामा दिन लगाउने भनेर जिज्ञासा राखे । साथै उनले सेनाले गरेको छानबिन दूधको दूध, पानीको पानी नभएको भन्दै यसले सेनामाथि गम्भीर आशंका जन्माएको बताए । ‘उमेर सम्बन्धमा तपाईहरुको रेकर्ड के छ ? राती ५ घण्टासम्म हेडक्वार्टर राखेर राजीनामा दिन बाध्य पारियो भन्ने छ यो के हो ?’, उनले प्रश्न गरे । 

पन्तपछि सांसद राजेन्द्र पाण्डेले  राजीनामा दिँदैमा उन्मुक्ति पाइन्छ भनेर प्रश्न गरे ।

सवालमा प्रधान सेनापति शर्माले ताराध्वज पाण्डेको बढुवा सिफारिस नभएको बताए । ‘बढुवा सूचना प्रकाशित गरेको हो । त्यसमा उमेर मात्र होइन, बोलाई लेखाइ ख्वाई, साइक्राटिक छ कि भनेर सातदिने सूचना निकालिएको हो । त्यो पत्रपत्रिकामा आयो । मैले पत्र नै ल्याएको छु’, कागज देखाउँदै उनले भने, ‘यो खोस्टो छोपेर एउटा गिरोहले देखाइयो । यो सबै मिडिया हाउसमा छ । संशोधित मिति देखाउन म च्यालेन्ज गर्छु ।’

उनले कसैको पनि जागिर खाने नखाने प्रमाणपत्र भनेको एसएलसीको सर्टिफिकेट भएको पनि बताए । ‘अहिले पो अस्पतालमा जन्मेको कार्ड दिन्छ । पहिला त्यस्तो थिएन । हामीले जिल्ला प्रशासन कार्यालय, युनिभर्सिटीलाई पनि सोध्यौँ ठिक छ भन्ने जवाफ आयो’, उनले भने, ‘नेपाली सेनामा व्यक्तिगत गुण पनि चाहिन्छ । देशको कानुनको बारेमा जानकारी नहुने, नेतृत्व क्षमता, पेसागत क्षमता छ कि छैन सबै हेरिन्छ ।’

उनले सोल्टी होटलमा जाँड खाएर झगडा गरेको थियो कि थिएन त्यो पनि हेरिने भन्दै त्यस्तो विवाद आएपछि आफूले आधा घण्टा केरकार गरेको र त्यसक्रममा पाण्डेले ‘म सक्दिन’ भन्ने जवाफ दिएको बताए ।

शर्माले अर्का जर्नेल अशोक सिग्देलको पनि नागरिकता हेरेको बताए । ‘उसको दुईवटा नागरिकता छ । एउटा रुपन्देहीबाट र अर्को जाजरकोटबाट तर १७  वर्षकै छ’, पाना पल्टाउँदै शर्माले भने, ‘मैले प्रमाण ल्याएको छु ।’ बिचमा रवि लामिछानेले थपे, ‘देशको आर्मी चिफले भनेपछि पत्याउनै पर्‍यो नि ।’ त्यसपछि शर्माले भने, ‘सेनालाई गलत देखाउने तत्वहरुको खेल हो ।’

शर्माले सुवेदीको हकमा पनि जाजरकोट र रुपन्देहीमा सोध्दा सबै ठिकठाक रहेको बताए । बरु उनले विवाद ल्याउनेलाई कारबाही गर्नुपर्ने धारणा राखे ।

सवाल–जवाफको अन्तिमतिर प्रधान सेनापति शर्माले हाँस्दै आफू सिपाही भएपनि आज प्राविधिक, डाक्टर र प्रोफेसर बनाइएको बताए । ‘म सिपाहीलाई आज प्राविधिक, डाक्टर, प्रोफेसर बनाइयो’, उनले यति भनेपछि जर्नेलहरुका कागजात हेर्न मिल्छ भनेर प्रश्न गरे । सवालमा उनले भने, ‘हेर्न मिल्छ, तर  गर्नुपर्छ । अर्काको निजी डकुमेन्ट लैजान मिल्दैन ।’ 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप