सोमबार, १७ वैशाख २०८१
ताजा लोकप्रिय
अन्तरवार्ता

‘मेरो मिस युनिभर्स यात्राले कीर्तिमान रच्यो, बलिउडबाट अफर आएको छ’

पहिले प्लस साइज भनेर दुःखी थिएँ, अहिले खुसी छु : दीपिका ग्यारेट
शुक्रबार, ०६ पुस २०८०, ११ : ३०
शुक्रबार, ०६ पुस २०८०

काठमाडौँ । ‘मिस युनिभर्स’ को प्लेटर्फमा अक्सर विजेताको चर्चा हुन्छ । यो वर्ष भने टप २० बाटै बाहिरिएकी नेपाली युवतीको चर्चा बढी भयो । ती हुन् जेन दीपिका ग्यारेट । ‘प्लस साइज’ शरीरकी उनको ‘मिस युनिभर्स’ यात्रा नै चर्चाको विषय बन्यो । उनको उपस्थितिले सौन्दर्य प्रतियोगिताको कथित मापदण्ड त भत्कियो नै, एउटा कीर्तिमान समेत रह्यो । 

‘मिस युनिभर्स नेपाल २०२३’ की विजेतासमेत रहेकी सुन्दर अनुहारकी २३ वर्षीया दीपिका सीएनएनदेखि विश्व प्रतिष्ठित मिडिया ‘प्लस साइज’ मोडलका रूपमा छाउन सफल भइन् । मानसिक स्वास्थ्य, सकारात्मक सोच र हर्मोनल स्वास्थ्यको पक्षमा समेत वकालत गर्दै आएकी दीपिकाको मोडलिङ, अभिनय र महिला स्वास्थ्यको विषयमा काम गर्ने इच्छा छ । जसका लागि यो चर्चाले काम गरिरहेको छ । यतिबेला उनलाई बलिउड फिल्मको अलवा विश्वका विभिन्न देशबाट मोडलिङको अफर पनि मिलिरहेको छ । यिनै जेन दीपिका ग्यारेटसँग रातोपाटीले गरेको सङ्क्षिप्त कुराकानी ।

–पछिल्लो समय केमा व्यस्त हुनुहुन्छ ?

अन्तर्राष्ट्रिय मोडलिङ पनि गर्र्दै छु । अभिनय सिक्ने र गर्ने प्रोससमा छु । सामाजिक सञ्जालमा कन्टेन्ट क्रिएटरको कामसमेत गरिरहेकी छु । विभिन्न फेसन, बिजनेस हाउस लगायतसँग ब्रान्ड प्रमोसनको काममा समेत आबद्ध भएकी छु । अस्पतालहरूसँग मिलेर मानसिक स्वास्थ्य, सकारात्मक सोच र हर्मोनल स्वास्थ्यलगायतको विषयमा महिलालाई चेतनामूलक काम गरिरहेकी छु । 

dipika garet (1)

–‘मिस युनिभर्स २०२३’ मा पुगेर फर्किनुभयो । त्यो यात्राको अनुभव कस्तो रह्यो ?

मेरो जीवनका लागि त्यो यात्रा निकै महत्त्वपूर्ण रह्यो । सहभागीका क्रममा मलाई कहिल्यै थाहा नभएको र जीवनभर काम लाग्ने विभिन्न कुराको अनुभव गर्न पाए । त्यो यात्रा निकै राम्रो थियो । त्यो यात्रा मैले जीवनमा कहिल्यै बिर्सन सक्दिनँ । त्यहाँ धेरै साथी बनाए । आफूलाई धेरै कुरामा निखार्न पाएँ । मेरो मिस युनिभर्स यात्राले एउटा कीर्तिमानसमेत रच्यो । किनभने पहिलो पटक प्लस साइज मोडल ‘मिस युनिभर्स’ को प्लेटफर्ममा उभियो । मिस युनिभर्सको कथित परम्परा र मान्यता मेरो उपस्थितिले तोडियो । त्यो कुराले मलाई खुसी दियो ।

–‘मिस युनिभर्स’ को प्लेटफर्ममा तपाईंको सहभागिता नेपालमा लागि शून्य उपलब्धि भन्छन् त ?

त्यो कुरामा म पनि दुःखी छु । त्यो प्लेटफर्ममा पुगेर पनि मैले नेपालको लागि उपाधि ल्याउन सकिन । त्यो प्लेटर्फममा राजनीति धेरै रहेछ । त्यहाँ पूरै जर्जहरू स्पेनिस थिए । त्यहीको सहभागीले उपाधि जिते । त्यो प्लेटफर्मको टप १० मा मात्र ६ जना स्पेनिस केटीहरू थिए । त्योबाट नै अनुमान लगाउन सकिन्छ । त्यहाँ कत्तिको राजनीति भयो भनेर । टप २० मा हामीलाई भित्र्याए पनि १० मा सबैलाई निकाल्यो । मैले धेरै मेहनत गरेकी थिएँ, सबै खेर गयो ।

–‘मिस युनिभर्स’ को उपाधि हासिल नभए पनि विश्वमा ‘प्लस साइज मोडल’ को रूपमा चर्चामा पाउनु त भयो नि, हैन र ?

मेरा लागि यो सबैभन्दा ठुलो उपलब्धि भयो । विश्वले मलाई चिन्यो । मसँगै नेपालको पनि चर्चा भयो । विभिन्न अन्तर्राष्ट्रिय ब्रान्डहरूले मोडलिङका लागि अहिले फलो गरिरहेका छन् । मेरो आफ्नो सामाजिक सञ्जालमा पनि फलोअर्स बढेको छ । यो सुरुवात मात्र हो । मैले अब धेरै गर्नु छ । मेरो सपना मोडलिङ र अभिनय पनि हो । अब त्यो पूरा गर्छु ।

dipika garet (2)

पहिले प्लस साइज भनेर दुःखी थिएँ । अहिले दुःखी छैन । संसारले मलाई प्लस साइज मोडलका रूपमा हेर्‍यो । त्यसमा खुसी छु । मेरो कारणले धेरै प्लस साइजलाई अगाडि बढ्न हौसला मिलेको छ । पहिले आफ्नो प्लस साइजको कारण प्रेसर थियो । विभिन्न कुरा खेल्थ्यो । म नराम्री भएँ भन्ने पनि लाग्थ्यो । अहिले त्यो कुराबाट राहत महसुस गरिरहेकी छु । शरीर मेन्टेनको प्रोसेस पनि गर्दैछु ।

–‘मिस युनिभर्स’ मा पुग्नुभयो, अबको लक्ष्य के छ ?

मोडलिङमा लागेर संसार घुम्ने छ । चबी, प्लस साइज केटीका लागि सेक्सी देखिने, सेल्फ कन्फिडेन्ट बुस्ट गर्ने आफ्नै फेसन ब्रान्ड बनाउने सोच छ । अध्ययन नर्सिङ भएकाले मानसिक स्वास्थ्य, सकारात्मक सोच र हर्मोनल स्वास्थ्यको पक्षमा पनि धेरै काम गर्नु छ ।

–अभिनयमा पनि आउने, किन ?

अभिनय मेरो रुचि र सोखको विषय हो । फिल्म अभिनय गर्न निकै मन लागेको छ । म नेपाली, हिन्दी, अङ्ग्रेजी सबै प्रकारको फिल्म हेर्छु । अभिनय पनि सबै  प्रकारको फिल्ममा गर्ने इच्छा छ ।

–अभिनयको अफर मिलेको छ त ?

भर्खर बलिउडको एक फिल्मबाट अफर आएको छ । राम्रो ब्यानर र निर्माता निर्देशकले अफर गरेका छन् तर त्यसको विषयमा रिसर्च गर्दै छु । त्यस विषयमा बुझेर, रिसर्च गरेर निर्णय लिन्छु । 

–नेपाली कलाकार मन पर्छ कि पर्दैन ?

अभिनेत्री साम्राज्ञी राज्यलक्ष्मी शाह, प्रियङ्का कार्की, अभिनेता अनमोल केसी र ‘छक्का पन्जा’ टिम सबै मन पर्छ । 

dipika garet (5)

–फेसनमा पनि रुची हो ?

फेसनमा त मेरो सानैदेखिको रुचिको विषय । परिहनमा सबै खालको मन पर्छ । लेहङ्गा, सारी, वानपिसलगायत सबै प्रकारको पहिरन लगाउँछु । 

–अन्य रुचिको विषय के के छन् नि ?

मलाई गीत गाउन, लेख्न मन पर्छ । साथीभाइसँग समय बिताउन, घुमघाम गर्न, फिल्म हेर्न पनि रुचाउँछु । 

–सपना पनि छन् कि ?

चर्चित अन्तर्राष्ट्रिय मोडल, सफल महिला व्यवसायी, अभिनेत्री र अन्तर्राष्ट्रिय मोटिभेसन स्पिकर्स बन्ने इच्छा छ ।

–राजनीतिमा रुचि नि ?

राजनीतिमा रुचि छ, चासो दिन्छु । राजनीतिमा म लाग्छु लाग्दिनँ, अहिल्यै भन्न सक्दिनँ । भविष्यमा राजनीतिमा लाग्न पनि सक्छु । 

dipika garet (3)

–सामाजिक काम ?

सामाजिक काम पनि गर्छु । महिलाहरूको मानसिक स्वास्थ्य, सकारात्मक सोच र हर्मोनल स्वास्थ्यको पक्षमा काम गर्नु भनेको सामाजिक काम नै हो । यो काम सरकासँग पनि मिलेर काम गर्न मन लागेको छ । नेपालमा यो विषयमा शिक्षा र सहयोगीको कमी छ ।

–सौन्दर्य प्रतियोगितामा नेपाललाई अगाडि लैजान के गर्नुपर्ला ?

धेरै काम गर्नुपर्ने देखिन्छ । पहिलो कुरो त यहाँ लगानीको कमी छ । यसमा धेरै लगानी गर्नुपर्छ । त्यसपछि विभिन्न ट्रेनिङहरूको विकास गर्नु पर्छ । उदाहरणका रूपमा थाइल्यान्डलाई लिन सकिन्छ । त्यहाँको ‘मिस युनिभर्स’ करोडौँ लगानी भएको हुन्छ । त्यहाँको युनिभर्सको आम्दानी र ब्रान्ड प्रमोसन कल्पना पनि गर्न नसकिनेछ । त्यसैले त सौन्दर्य प्रतियोगितामा थाइल्यान्ड धेरै चर्चित छ । नेपालमा त्यो अनुसारको पैसा, रिसोर्स र सहभागिता छैन ।

–तपाईंलाई सौन्दर्य प्रतियोगितामा आउन कसले सुझायो ?

सानैदेखि मेरो ‘मिस युनिभर्स’ मा जाने इच्छा थियो । तर पहिले अध्ययन र करियर महत्त्वपूर्ण ठानेर त्यतातिर लागेँ । अध्ययन सकाएपछि मोडलिङमा रुचि बढ्यो । त्यसको सिलसिलामा ‘मिस युनिभर्स २०२२’ की विजेता सोफिया भुजेलसँग भेट भएको थियो । उहाँसँग मैले यसमा सहभागी हुने इच्छा राखेँ । आफ्नो प्लससाइज शरीरको बारेमा बताए । उहाँले कोसिस गर्न हौसला दिनुभयो । त्यो हौसलाले सहभागी भएँ, अन्ततः  उपाधि पनि हात पर्‍यो । यसमा सहभागी हुँदा घरपरिवार, आमाबुवा कसैको पनि सपोर्ट थिएन । अहिले भने साथ मिलिरहेको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

कुवेर गिरी
कुवेर गिरी

कुवेर गिरी कला/मनोरञ्जन बिटमा रिपोर्टिङ गर्छन् ।

लेखकबाट थप