बुधबार, २६ वैशाख २०८१
ताजा लोकप्रिय

शल्यक्रिया नगरी मुटुको प्वाल टाल्ने प्रविधिले बिरामीलाई सहजता, के हो  ए. एस. डी. क्लोजर प्रविधि ?

शुक्रबार, ०६ पुस २०८०, १३ : २४
शुक्रबार, ०६ पुस २०८०

मोरङ । लेटाङका एक जना २३ वर्षका युवकको मुटुको प्वाल नोबेल मेडिकल कलेज टिचिङ हस्पिटलमा विना शल्यक्रिया टालिएको छ । लेटाङ निवासी अमिस मगरको विना शल्यक्रिया नोबेलका मुटुरोग विशेषज्ञ प्रा. डा. राजेश नेपाल नेतृत्वको चिकित्सा टोलीले ए. एस. डी. क्लोजर प्रविधिबाट मुटुको जन्म जात प्वाल टालेको हो ।

करिब डेढ वर्ष अगाडि शौचालय जाने क्रममा एक्कासि लडेका उनको परिवारले केही होइन होला भनी त्यति गम्भीरतापूर्वक नलिएको र छ महिना अगाडि पनि उनी फेरी बेसोहीमा लड्न पुगेका थिए । अस्पताल आउन भन्दा केही दिन पहिला यो घटना पुनः दोहोरिए पछि भने उनलाई परिवारले लेटाङमा नै जाँच गराउँदा मुटुमा प्वाल परेको थाहा भएको बिरामीकी आमाले बताइन् । उनको भनाई अनुसार लेटाङका नाम चलेका स्वास्थ्य कर्मी सिताराम लुइँटेलले रोग पत्ता लगाई नोबेलमा थप उपचारका लागि पठाएका थिए । नोबेलमा उनको विना शल्यक्रिया मुटुको प्वाल टालिएको छ । 

त्यस्तै  राजविराजका २६ वर्षीय मञ्जु देवी पण्डीतको पनि मुटुको प्वालको ए. एस. डी. डिभाइसबाट उपचार गरिएको छ । थकाई लाग्ने, हिँड्दा स्याइँ स्याइँ हुने, खाएको शरीरमा नलाग्ने समस्या भई उपचारका लागि नोबेल आएको उनको जम्मा तौल ३८ केजी मात्र रहेको र जाँचको क्रममा उनको मुटुको प्वालको आकार ठुलो रहेको पाइएकोले ३४ एम. एम. को ए. एस. डी. डिभाइस राखिएको थियो ।

डा. राजेश नेपालको भनाई अनुसार यो ए. एस. डी. भनेको मुटुमा हुने प्वाल हो । यो जन्म जात हुन्छ । धेरै मानिसहरूले यसलाई पहिला थाहा पाउँदैनन्, पछि मात्र थाहा पाउँछन् । किन भने लक्षण पछि मात्र देखा पर्न थाल्छ या अन्य कारणले इकोकार्डियोग्राम गर्दा थाहा हुन्छ । मुटुको प्वाल शल्यक्रिया गरेर वा नशाबाट छाता जस्तो सामाग्री (ए. एस. डी. डिभाईस) छिराएर प्वाल परेको स्थानमा टाल्ने गरिन्छ । मुटु जाँचको क्रममा टी. ई. ई. भन्ने परीक्षण गरे पश्चात भोको रहेको ६ घण्टा पछि क्याथ ल्याबमा यो प्रक्रिया गर्ने गरिन्छ । १५ देखि २० मिनटमा हुने यो प्रक्रिया सकिएको २ — ३ घण्टा पछि खाना खान मिल्ने हुन्छ । मुटुको प्वाल टालेको एक दिन पछि बिरामीलाई घर पठाउन मिल्ने डा. नेपालको भनाई छ । नोबेलमा यो प्रविधिबाट मुटुको प्वाल टाल्ने बिरामीको सङ्ख्या अहिले बढेको छ । मुटु रोगको पहिचान, सबै प्रकारका मुटुका समस्याहरूको उपचार र नेपाल सरकारको विपन्न नागरिक औषधी उपचार कोष अन्तर्गतका सेवा उपलब्ध हुने भएकोले बिरामीलाई नोबेल आई उपचार गर्न सहज भएको महाप्रबन्धक दीपेश राईले जानकारी दिए ।  

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप