बिहीबार, ०८ जेठ २०८२
ताजा लोकप्रिय
कोशी प्रदेशसभा बैठक

अस्तिको पाँच लाख रुपैयाँ खोई भन्दै प्रहरीले तस्करसँग पैसा असुल्छ : पूर्वमुख्यमन्त्री केदार कार्की

‘दुई जना घुमुवा पठाएर रकमको ताकेता गरेको प्रमाण मसँग छ’
बुधबार, ०७ जेठ २०८२, १८ : ०९
बुधबार, ०७ जेठ २०८२

समाचार सारांश

  • कोशी प्रदेशका पूर्व मुख्यमन्त्री केदार कार्कीले प्रदेश सरकार सुशासन कायम गर्न असफल भएको आरोप लगाए।
  • उनले विपद् व्यवस्थापन, स्वास्थ्य सेवा, र सीमा क्षेत्रको तस्करी नियन्त्रणमा सरकारको कमजोरी औंल्याए।
  • कार्कीले संघीय सरकारसामु प्रदेश सरकार निरीह बनेको र पहिचानका मुद्दाहरूलाई बेवास्ता गरेकोमा असन्तुष्टि व्यक्त गरे।

मोरङ । कोशी प्रदेशसभाका सांसद तथा पूर्व मुख्यमन्त्री केदार कार्कीले सुशासन कायम गर्न तथा सेवा प्रवाहलाई चुस्त बनाउन सरकार असफल भएको टिप्पणी गरेका छन् ।

कोशी प्रदेशसभाको बुधबार बसेको बैठकमा सत्तारुढ दल नेपाली कांग्रेसको तर्फबाट विशेष समय लिएर बोलेका कार्कीले विपद्मा क्षतिग्रस्त संरचनाको पुनर्निमाण गर्न, जनतामा आशा जगाउन, सीमा क्षेत्रबाट हुने चोरी तस्करी नियन्त्रण गर्न तथा नागरिकहरुलाई सहज र सर्वसुलभ स्वास्थ्य उपचार सेवा उपलब्ध गराउने जस्ता कार्यमा प्रदेश सरकारले उल्लेखनीय काम गर्न नसकेकोमा सरकारको ध्यानाकर्षण गराए ।

प्रदेश सरकारले आफ्नो गरिमा र मर्यादा कायम राख्न नसकेको भन्दै पूर्वमुख्यमन्त्री कार्कीले संघीय सरकारसामु निरीह भएर लुरुलुरु हिंडेको र संघ सरकारको दासता स्वीकार गरेको भन्दै कडा शब्दमा सरकारको आलोचना गरे । 

कार्कीले प्रदेशको अधिकारको लागि अझ दृढ भएर लड्नुपर्ने आवश्यकतामा जोड दिए । ‘अहिले प्रदेशले संघ सरकारसँग अधिकार खोजिरहेका छैनौं, के हामी तलब खानमात्र आएका हौं कि सहिदको रगतले लेखेको संविधान कार्यान्वयन गरेर प्रदेशको समृद्धि गराउँछौं भनेर आएका हौं ?,’ उनले प्रश्न गरे । 

कार्कीले प्रदेशमा सुशासनको अभावको विषयमा गम्भीर चिन्ता पनि व्यक्त गरे । विशेषगरी नाकामा हुने भ्रष्टाचार र अनियमितताको बारेमा उनले सदनमा गम्भीर कुरा उठाए । ‘नाकामा झोलेपोकेलाई तर्साएर ट्रक छिराउने सुशासनको पक्षमा हामी छैनौं, अरुण सिनेमा हलको पश्चिमतर्फ भत्किएको पर्खालबाट रातपरेपछि रेल भन्दा पनि लामो लाइन छिर्छ, प्रहरीले बाटो बाटोमा टर्च बालेर बाटो देखाउँछ अनि कसरी राजश्व उठ्छ र सुशासन कायम हुन्छ ?,’ उनले विराटनगरको सिमा क्षेत्रबाट भइरहेको तस्करीप्रति लक्षित गर्दै प्रश्न गरे । 

जनप्रतिनिधि र प्रहरी प्रशासनको अनुशासनको बारेमा पनि कार्कीले गम्भीर प्रश्न उठाए । ‘जनप्रतिनिधिहरुले ठेक्का लिने गरेका छन् र उनीहरुसँगै एसपी साबले पैसा असुली रहेका छन् । अस्तिको पाँच लाख रुपैयाँ खोइ भनेर भर्खरै घुमुवा पठाएको सूचना पाएको छु, जो रक्षक उनै भक्षक छन्, अनि हामीले सुशासनको कुरा गरेर मात्र हुन्छ ?,’ कार्कीले भने । 

आफ्नो कार्यकालमा स्थापना गरेको जलन अस्पताल स्थापना गर्ने कार्यक्रम सरकारले समावेश नगरेकोमा आक्रोश व्यक्त गरे ।

उनले भने, ‘जलन अस्पताल बनाउन सहरकाले सहमति गरेको थियो, त्यसको डिपिआरदेखि सबै काम भएर अगाडि बढाइएको थियो । यो प्रदेशका जनतालाई निःशुल्क उपचार गर्ने भनिएको थियो, मधेशले पनि फाइदा लिनसक्थ्यो, प्रदेशको जनताको मुटु उपचार गर्नलाई पैसा राखिएको छैन तर, निजी व्यक्तिको ब्याट्री उद्योगलाई पैसा दिन रकम छुट्याइएको छ ।’

पूर्व मुख्यमन्त्री कार्कीले पहिचानका मुद्दाहरूलाई सम्बोधन नगरिएकोमा पनि सरकारको आलोचना गरे । ‘पहिचानवादीहरुसँग पहिले गरेको वार्ता र सहमति कार्यान्वयन भएको छ कि छैन ? सरकारले काम गरिरहेको छ कि छैन ? हिंजो भएको सहमति अनुसार काम भएन र यो आन्दोलन फेरि उठ्यो भने के गर्ने फेरि गोली ठोक्ने ?’, उनले प्रश्न गरे । 

सरकारले आगामी वर्ष कोशी प्रदेशका पूर्व प्रधानमन्त्री तथा ठूला नेताहरुको घर संरक्षण गर्ने नीति ल्याएकोप्रति पनि उनको असन्तुष्टि देखियो ।

उनले भने, ‘ठुला नेताका घर संरक्षण गर्ने नीति तथा कार्यक्रम आएको छ तर मलाई लाज लाग्छ आकासको तारालाई छानो बनाएका सर्वहाराले आफ्नो घर बनाउँदा लिने कर्जामा ब्याज अनुदान दिउँ भन्ने कार्यक्रम यहाँ भेटिएन ।’

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप