बिहीबार, ०८ जेठ २०८२
ताजा लोकप्रिय

माओवादीका शीर्ष नेता मारिए

बुधबार, ०७ जेठ २०८२, २३ : १३
बुधबार, ०७ जेठ २०८२

समाचार सारांश

  • छत्तीसगढमा सुरक्षा बल र माओवादीबीचको मुठभेडमा २७ माओवादी मारिए, जसमा माओवादी महासचिव नम्बाला केशव राव उर्फ बसवराजु पनि परेका छन्।
  • भारत सरकारले 'अपरेशन ब्ल्याक फरेस्ट' अन्तर्गत कारबाही गर्दा ५४ माओवादी पक्राउ परेका छन् भने ८४ जनाले आत्मसमर्पण गरेका छन्।
  • विश्लेषकहरूका अनुसार सन् १९७० मा सुरु भएको माओवादी आन्दोलन हालसम्मकै कमजोर अवस्थामा पुगेको छ, र बीजेपी सरकारले कडा रणनीति लिएको छ।

नयाँदिल्ली । छत्तीसगढ राज्यमा भारतीय सुरक्षा बलले गरेको कारबाहीमा २७ जना माओवादी लडाकु मारिएको दाबी गरिएको छ। बस्तर क्षेत्रको नारायणपुर, बीजापुर र दन्तेवाडा जिल्लाको सीमामा बुधबार भएको मुठभेडमा सीपीआई (माओवादी) का महासचिव एवं शीर्ष नेता नम्बाला केशव राव उर्फ बसवराजू पनि मारिएको पुष्टि भएको प्रहरीलाई उदृत गर्दै बीबीसी हिन्दीले उल्लेख गरेको छ । 

भारतका गृहमन्त्री अमित शाहले समेत सामाजिक सञ्जाल एक्समा लेख्दै भनेका छन्, ‘नक्सलवाद अन्त्य गर्ने लडाइँमा ऐतिहासिक उपलब्धि। आज, छत्तीसगढको नारायणपुरमा भएको एक कारबाहीमा, हाम्रा सुरक्षा बलहरूले २७ जना माओवादीहरूलाई मारेका छन्, जसमा भाकपा(माओवादीका महासचिव, शीर्ष नेता र नक्सलवादी आन्दोलनको मेरुदण्ड, नम्बाला केशव राव उर्फ ​​बसवराजु पनि समावेश छन्।’

शाहका अनुसार ‘अपरेशन ब्ल्याक फरेस्ट’ नाम दिइएको यस कारबाहीमा ५४ जना माओवादीलाई गिरफ्तार गरिएको छ भने ८४ जनाले आत्मसमर्पण गरेका छन्।

छत्तीसगढमा पछिल्लो समय माओवादी विरोधी कारबाहीहरू तीव्र बनेका छन्। सरकारले हालै सम्पन्न २१ दिन लामो अपरेशनमा ३१ माओवादी मारिएको तथा पछिल्लो मुठभेडमा थप २७ मारिएको बताएको छ।

राज्यका गृहमन्त्री विजय शर्मा भन्छन्, ‘ओरछा क्षेत्रको पहाडी इलाकामा ५० घण्टासम्म सर्च अपरेशन चलाइयो। अहिले पनि खोजी कार्य जारी छ। राज्यलाई ‘लाल आतङ्क’ मुक्त बनाउने हाम्रो अभियान जारी छ।’

सन् २०२५ को सुरुवाती चार महिनामा मात्र ७०० भन्दा बढी माओवादीले आत्मसमर्पण गरिसकेको सरकारी तथ्यांक छ। छत्तीसगढका पूर्व मुख्यमन्त्री तथा कांग्रेस नेता भूपेश बघेलले मुठभेडमा सुरक्षाबलको योगदानको प्रशंसा गर्दै भने, ‘हामी सत्तामा हुँदा ६०० गाउँ नक्सलमुक्त बनाएका थियौं। अहिलेका अपरेशन बाँकी क्षेत्रहरू लक्षित गरेर भइरहेका छन्।’

सन् २०२५ मा  १८० भन्दा बढी माओवादीको मृत्यु भइसकेको छ। पछिल्लो १५ महिनामा  करिब ४०० जनाभन्दा बढी माओवादी मारेको सुरक्षाबलको दाबी छ।

विश्लेषकहरूका अनुसार सन् १९७० मा सुरु भएको माओवादी आन्दोलन अहिलेको जस्तो कमजोर अवस्थामा कहिल्यै देखिएको थिएन। विशेषगरी सन् २०२३ मा छत्तीसगढमा बीजेपी नेतृत्वको सरकार बनेपछि माओवादीविरुद्धको रणनीति कडा बनाइएको छ।
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप