आइतबार, १६ वैशाख २०८१
ताजा लोकप्रिय
सन्दीप लामिछाने प्रकरण

सन्दीप लामिछाने प्रकरणमा १४ कागजात जसले देखाउँछ उमेर विवादको फेहरिस्त

शनिबार, ०७ पुस २०८०, १७ : २५
शनिबार, ०७ पुस २०८०

काठमाडौँ । क्रिकेटर सन्दीप लामिछानेविरुद्ध दायर भएको जबरजस्ती करणी मुद्दाको अन्तिम सुनुवाइका लागि पुस ८ गते आइतबारको पेशी तारेख दिइएको छ । अन्य सबै कुरा यथावत् रहेमा आइतबार सन्दीप लामिछानेविरुद्ध दायर भएको जबरजस्ती करणी मुद्दाको किनारा लाग्नेछ । काठमाडौँ जिल्ला अदालतमा चलिरहेको मुद्दामा सन्दीपले अभियोग दाबीबाट सफाइ पाए उनी सामान्य जीवनमा फर्कन सक्नेछन् भने अदालतले दोषी ठहर गरेमा उनी कम्तीमा १० वर्ष जेलमा बस्नुपर्ने हुन्छ ।

काठमाडौँ जिल्ला अदालतमा चलिरहेको मुद्दामा अहिलेसम्मको सम्पूर्ण विवादको विषय जबरजस्ती करणी भयो कि भएन भन्ने विषय भन्दा पनि जाहेरवाली किशोरीको उमेर कति हो भन्ने विषयमा नै केन्द्रित छ । वादी नेपाल सरकार, जाहेरवाली किशोरी, किशोरीलाई कानुनी सहायता गरिरहेको एनजिओका कानुन व्यवसायीको किशोरीको उमेर वारदात भयो भनिएको समयमा १८ वर्षभन्दा कम भएको बताइरहेका छन् भने प्रतिवादीपक्षका कानुन व्यवसायी र प्रतिवादी आफैँले पेस गरेका केही कागजातमा किशोरीको उमेर वारदात भयो भनिएको समयमा १८ वर्ष पुगिसकेको जिकिर लिएका छन् ।

थुनछेकका क्रममा उच्च अदालत पाटन र सर्वोच्च अदालतले आदेश गर्ने समयमा पनि उक्त मुद्दामा करणी भयो कि भएन भन्दा पनि किशोरीको उमेर विवादलाई नै महत्त्व दिएर सोही अनुरूप प्रमाण बुझी फैसला गर्नुपर्ने कुरा औँल्याएको छ । अहिले सतहमा आएको उमेर विवादमा किशोरीको जन्म मितिमा मुख्यतः ४ वटा फरकफरक जन्म मिति विवादमा आएको छ । किशोरीको जन्म मिति २०६१ जेठ १८, २०६१ असार १८, २०६२ जेठ १८ र २०६३ असार १८ गतेको उमेर आएको छ ।

वारदात भएको भनिएको मिति २०७९ भदौ ५ गते हो र त्यस मितिमा किशोरीको जन्म वर्ष २०६२ भएमा उनी १८ वर्षभन्दा कम हुन्छिन् भने २०६१ भएमा उनको उमेर १८ वर्ष पुगिसकेको हुन्छ । त्यस कारण यस मुद्दामा मुख्यतः उमेर विवाद नै मुख्य विवाद देखिएको छ । किनभने उक्त प्रकरणमा जबरजस्तीको कुनै सङ्केत प्रहरी तथा वादीको तर्फबाट पेस गरिएको छैन । उक्त मुद्दामा पेस भएको प्रमाणमा किशोरीको उमेर नै मुख्य आधार हो र मुलुकी अपराध संहिताको दफा २१९ को उपदफा २ अनुसार १८ वर्ष नपुगेकाको मञ्जुरीमै करणी लेनदेन गरेमा पनि त्यसलाई मञ्जुरी मान्न नसकिने र त्यो करणी हुने उल्लेख छ । सोही दफाका आधारमा सन्दीपमाथि १० देखि १२ वर्षसम्मको कैद सजाय मागदावी लिई अदालतमा मुद्दा दायर भएको छ ।

अब किशोरीको उमेर विवादसँग सम्बन्धित उपलब्ध कागजातको सुरुवातदेखि अन्तिम कागजातलाई बिस्तारमा केलाएर हेरौं ।

यस्तो छ जाहेरवाली किशोरीको उमेर विवादसँग जोडिएका १४ कागजात

  • कागज नम्बर १ : किशोरीको नागरिकताको प्रमाणपत्र

जाहेरवाली र वादी नेपाल सरकारका तर्फबाट पेस भएको किशोरीको नागरिकताको प्रमाणपत्रमा किशोरीको उमेर वारदातको समय अर्थात् २०७९ भदौ ५ गते १८ वर्षभन्दा कम भएको उल्लेख छ । जाहेरवाली गौशाला २६ को नागरिकताको प्रमाणपत्र २०७९ असार १४ गते जारी भएको छ । नुवाकोटको एक स्थानीय तहबाट जारी भएको प्रमाणपत्रमा गौशाला २६ को जन्म मिति २०६२ जेठ १८ गते रहेको उल्लेख छ । यस आधारमा वारदातको समयमा किशोरीको उमेर १७ वर्ष ३ महिना मात्रै हुन्छ ।

  • कागज नम्बर २ : एसएलसीको सर्टिफिकेट

गौशाला २६ नाबालिग रहेको भन्दै काठमाडौँ जिल्ला अदालतमा पेस गरिएको उनको एसइईको सर्टिफिकेटमा उनको जन्म मिति २०६२ जेठ १८ गते रहेको उल्लेख छ । कास्कीको एक विद्यालयबाट एसइई उत्तीर्ण गरेकी उनको जन्म मिति अनुसार वारदातको समयमा उनी १८ वर्षभन्दा कम नै रहेको देखिन्छ ।

  • कागज नम्बर ३ : किशोरीको जन्मदर्ताको प्रतिलिपि

वादी नेपाल सरकार र जाहेरवालीको तर्फबाट पेस भएको जन्मदर्ताको प्रमाणपत्रको प्रतिलिपिमा किशोरीको जन्म मिति २०६२ जेठ १८ गते नै रहेको उल्लेख छ । नागरिकता बनाउने समयमा किशोरीले जन्मदर्ताको प्रमाणपत्रको प्रतिलिपि लिएको र उक्त समयमा सिफारिस लिने क्रममा एसइईको कागजात अनुसार नै जन्म मिति २०६२ जेठ १८ गते रहेको पाइएको छ ।

  • कागज नम्बर ४ : नारायणी अस्पतालको लगबुक

प्रतिवादीका तर्फबाट अदालतमा पेस गरिएको नारायणी अस्पताल वीरगन्जको लगबुकको रेकर्डमा किशोरीको जन्म मिति २०६१ जेठ १८ गते रहेको दाबी गरिएको छ । २०६१ जेठ १८ गतेको अस्पतालको लगबुकमा किशोरीको आमाको नामको पछाडि देवी राखिएको छ भने आमाको उमेर २८ वर्ष रहेको उल्लेख गरिएको छ । त्यसैगरी जन्म समय बिहान ६ बजे उल्लेख छ र छोरी जन्मिएको उल्लेख छ । किशोरीले उनका एक साथीलाई पठाएको ह्वाट्सएप म्यासेजमा पनि आफ्नो जन्मस्थान पर्सा, जन्म समय बिहान ६ः३० बजे र जन्म मिति २०६१ जेठ १८ गते रहेको उल्लेख गरेकी छिन् । अदालतमा बयान गर्ने समयमा पनि उक्त म्यासेज आफूले एक साथीलाई पठाएको स्वीकार गरेकी छिन् ।

  • कागज नम्बर ५ : बसाइसराइको सूचना फारम

जाहेरवाली गौशाला २६ को उमेर विवादमा प्रतिवादीका कानुन व्यवसायीबाट पेस भएको अर्को कागज हो, नुवाकोटको एक स्थानीय तहमा बसाइसराइ गरी जाँदा भरिएको सूचना फारम । २०७३ साल असोज ११ गते भरिएको बसाइसराइको सूचना फारममा पनि परिवारको चारैजना सदस्यको उमेर उल्लेख गरिएको छ । उक्त सूचना फारममा किशोरीको बुवाको जन्म मिति २०३१ फागुन १२ गते, किशोरीको आमाको जन्म मिति २०५३ फागुन २१, किशोरीको दाजुको जन्म मिति २०५९ कात्तिक ८ र किशोरीको जन्म मिति २०६१ असार १८ गते उल्लेख रहेको छ ।

  • कागज नम्बर ६ : बसाइसराइको पत्रमा खुलेको उमेर

काठमाडौँको एक स्थानीय तहबाट २०७३ असोज ६ गते किशोरीका बुवाले बसाइसराइको पत्र लिएका छन् । उक्त पत्रमा चार जनाको जन्म मिति उल्लेख भएको देखिन्छ । सरकारी तथ्याङ्कमा देखिने पहिलो जन्म मिति खुल्ने कागजात पनि सोही नै हो । उक्त कागजातमा किशोरीको बुवाको जन्म मिति २०३१ फागुन १२ गते, किशोरीको आमाको जन्म मिति २०५३ फागुन २१, किशोरीको दाजुको जन्म मिति २०५९ कात्तिक ८ र किशोरीको जन्म मिति २०६१ असार १८ गते उल्लेख रहेको छ । पछि आमाको उमेरमा विवाद आएपछि भएको प्रमाणीकरणमा उनको जन्म मिति २०३५ फागुन २१ गते रहेको उल्लेख भएको छ ।

  • कागज नम्बर ७ : बसाइसराइको प्रमाणपत्र

किशोरीको परिवार काठमाडौँको एक स्थानीय तहबाट बसाइसराई गरी नुवाकोटको एक स्थानीय तहमा जाँदा नुवाकोटको एक स्थानीय तहले दिएको बसाइसराइको प्रमाणपत्रमा पनि जन्म मिति कागज नम्बर ६ मै रहेको हुबहु छ । २०७३ असोज ११ गते जारी प्रमाणपत्रमा किशोरीको बुवाको जन्म मिति २०३१ फागुन १२ गते, किशोरीको आमाको जन्म मिति २०५३ फागुन २१, किशोरीको दाजुको जन्म मिति २०५९ कात्तिक ८ र किशोरीको जन्म मिति २०६१ असार १८ गते उल्लेख रहेको छ ।

  • कागज नम्बर ८ : जन्म सूचना फारम

जाहेरवाली किशोरी गौशाला २६ का तर्फबाट नुवाकोटको एक स्थानीय तहमा बसाइसराई गरी गएपछि भरेको जन्म सूचना फारममा पनि किशोरीको जन्म मिति २०६१ असार १८ गते रहेको उल्लेख छ । किशोरीका बुवाले २०७५ पुस १८ गते स्थानीय तहमा भरेको जन्म सूचना फारममा पनि किशोरीको जन्म मिति २०६१ असार १८ गते रहेको भरेका छन् ।

  • कागज नम्बर ९ : जन्मदर्ताको प्रमाणपत्र

जन्म सूचना फारम भरेसँगै किशोरीलाई नुवाकोटको एक स्थानीय तहले जन्मदर्ताको प्रमाणपत्र दिएको देखिन्छ । रातोपाटीलाई प्राप्त केही अस्पष्ट जन्मदर्ताको प्रमाणपत्रको प्रतिलिपिमा किशोरीको जन्म मिति २०६१–०३–१८ अर्थात् असार १८ नै उल्लेख रहेको छ । २०७५ पुस १८ गते जारी गरिएको प्रमाणपत्र नम्बरमा पनि पहिले जन्म मिति उल्लेख गरी त्यसपछाडि स्थानीय तहको दर्ता नम्बर दिने गरेको पाइएको छ । उक्त दर्ता प्रमाणपत्रमा दर्ता नम्बर २०६१०३१८००५९२ उल्लेख छ ।

  • कागज नम्बर १० : जन्मदर्ता प्रमाणपत्रको प्रतिलिपि

प्रतिवादी सन्दीप लामिछानेका कानुन व्यवसायीले अदालतमा पेस गरेका जन्मदर्ता प्रमाणपत्रको प्रतिलिपि पनि वादी नेपाल सरकारले पेस गरेको कागजात नै हो । तर उसले त्यसमा देखाएको कैफियतमा नुवाकोटको स्थानीय तहले जन्मदर्ता गर्दा सुरुको चार अङ्क जन्म वर्ष, त्यसपछिको २ अङ्क जन्म महिना र त्यसपछिको दुई अङ्क जन्मदिन तथा त्यसपछिका बाँकी अङ्क स्थानीय तहको लगबुकमा रहेको दर्ता नम्बर अनुसार दिने गरेको दाबी गरेका छन् । यसरी हेर्दा किशोरीको जन्मदर्ता प्रमाणपत्र नम्बर २०६१०३१८००५९२ ले किशोरीको जन्म मिति २०६१–०३–१८ अर्थात् २०६१ असार १८ रहेको दाबी गरेका छन् ।

  • कागज नम्बर ११ : नुवाकोटको स्थानीय तहले अदालतलाई लेखेको पत्र

किशोरीको जन्ममितिका सम्बन्धमा विवाद भएपछि काठमाडौँ जिल्ला अदालतले नुवाकोटको एक स्थानीय तहलाई पत्र लेखी किशोरीको जन्म मिति यकिन गरी पठाइदिन भनेको थियो । त्यसको जवाफमा नुवाकोटको एक स्थानीय तहले दिएको अदालतलाई पठाएको जवाफमा किशोरीको परिवारले भरेको जन्म सूचना फारममा किशोरीको उमेर २०६१–०३–१८ उल्लेख रहेकाले सोही मितिलाई आधार लिनुपर्ने उल्लेख छ ।

  • कागज नम्बर १२ : नुवाकोटको स्थानीय तहले अदालतलाई लेखेको दोस्रो पत्र

नुवाकोटको स्थानीय तहले काठमाडौँ जिल्ला अदालतलाई लेखेको दोस्रो पत्रमा पनि किशोरीको जन्ममिति २०६१ असार १८ गते नै रहेको उल्लेख गरिएको छ ।

उक्त पत्रमा किशोरीका बुवा आफैँले जन्म सूचना फारम भरेको, जन्मदर्ता प्रमाणपत्र लिँदा अभिभावक  आफैँले भरेको सूचना अनुसार जन्ममिति २०६१ असार १८ गते कायम गरी २०७५ पुस १८ गते प्रमाणपत्र दिइएको र प्रमाणपत्र नम्बर २०६१०३१८००५९२ रहेको उल्लेख गरेको छ ।

त्यसैगरी उक्त पत्रमा पछि के कसरी जन्ममिति परिवर्तन भयो भन्ने कुराबारे पनि उल्लेख गरेको छ ।

उक्त स्थानीय तहको पत्रमा भनिएको छ,

‘पछि गौशाला २६ ले सुरुको जन्मदर्ता प्रमाणपत्र हराएको र नागरिकता बनाउनको लागि जन्मदर्ता आवश्यक परेकोले जन्मदर्ता प्रमाणपत्रको प्रतिलिपि माग गरेकोले निजको एसइई ग्रेड सिट अनुसारको मिति उल्लेख गरी उक्त प्रतिलिपि फर्म दर्ता नम्बर २०६१०३१८००५९२ स्वतः साबिकको नै हुने हुँदा सो प्रतिलिपिमा जन्ममिति २०६२।०२।१८ निजको माग अनुसार उल्लेख गरी जन्म दर्ता प्रमाणपत्रको प्रतिलिपि मिति २०७९।०३।१४ मा जारी भएको ब्यहोरा जानकारीको लागि अनुरोध गरिन्छ । साथै निजको जन्ममिति २०६१।०३।१८ प्रमाणित हुने जानकारी जन्मसूची बसाइसराई अभिलेख किताब र निजको प्रथम जन्मदर्ता प्रमाणपत्रबाट देखिन्छ ।’

त्यस्तै सोही पत्रको बुँदा नम्बर ३ मा वडा कार्यालयले के कति कारणले फरक जन्ममिति भएको सिफारिस गर्‍यो भन्ने कुरा पनि उल्लेख गरेको छ ।

पत्रको बुँदा नम्बर ३ मा भनिएको छ,

‘निजको प्रतिलिपि मागको समयमा निज एसइई ग्रेडसिट अनुसारको जन्ममिति उल्लेख गरी प्रतिलिपि पाउँ भनी अनुरोध गरेकोमा प्रतिलिपि दिइएको तर उक्त प्रतिलिपि फारम दर्ता मिति २०७५।०९।१८ र फारम दर्ता नम्बर ०६१०३१८००५९२ नै कायम रही मिति २०७९।०३।१४ मा प्रतिलिपि जारी गरिएको साथै उक्त समयमा अनलाइनमार्फत कार्य भएकोले कार्यालयमा जन्मदर्ता किताब अभिलेख नरहेको र अनुसूची फारमलाई नै आधार मानी जन्मदर्ता प्रमाणपत्र जारी गरिएको र सम्बन्धित कागजात र सोको सक्कल यसअघिको आदेश बमोजिम अदालतसमक्ष पठाइएको ब्यहोरा अनुरोध गर्दै उक्त कागजातको फोटोकपी यसैसाथ संलग्न रहेको ब्यहोरा अनुरोध गरिन्छ ।’

  • कागज नम्बर १३ : किशोरीले पढेको कास्कीको विद्यालयको जन्म विवरण

प्रतिवादी सन्दीप लामिछानेका कानुन व्यवसायीले पेस गरेको कागजातमा किशोरीले अध्ययन गरेको कास्कीको एक विद्यालयको रेकर्डमा रहेको विद्यार्थीहरूको जन्म मिति खुल्ने विवरण पनि उल्लेख गरेको छ । विद्यालयले किशोरीले पेस गरेको जन्मदर्ताको प्रमाणपत्रका आधारमा उल्लेख गरेको किशोरीको जन्ममितिमा किशोरीको जन्ममिति २०६१।०३।१८ रहेको छ । जन्म मिति खुल्ने विद्यालयको सो लगबुकको क्रम सङ्ख्या ४२ मा किशोरीको बुवा र आमाको नाम समेत उल्लेख गरेर जन्ममिति राखिएको छ भने उक्त विवरणमा उनीसँगै अध्ययन गर्ने सहपाठीहरूको नाम पनि उल्लेख छ । सोही लगबुकको दर्ता नम्बर ४३ मा किशोरीका दाजुको नाम पनि उल्लेख गरिएको छ भने अन्य विद्यार्थीहरूको नाम समेत उल्लेख गरी उनीहरूको जन्ममितिसमेत उल्लेख गरिएको छ ।

  • कागज नम्बर १४ : काठमाडौँको स्थानीय तहको कम्प्युटर रेकर्ड

काठमाडौँको एक स्थानीय तहमा रहेको किशोरीको जन्ममिति २०६३ असार १८ गते रहेको समेत पाइएको छ । सुरुमा कति लेखिएको हो भन्ने स्पष्ट नभएपनि पछि केही केरमेट गरेर किशोरीको जन्ममिति २०६३–०३–१८ गते रहेको उल्लेख गरिएको छ र कम्प्युटरमा पनि किशोरीको जन्ममिति २०६३ असार १८ गते रहेको उल्लेख छ । यद्यपि किशोरीको जन्ममिति २०६३ असार १८ हो भनेर अहिलेसम्म कसैले पनि दाबी गरेका छैनन् । उक्त लगबुकमा केरमेट गरी सच्याइएको भने स्पष्ट बुझिन्छ । सोही स्थानीय तहबाट दिइएको अन्य कागजातमा भने किशोरीको जन्ममिति २०६१ असार १८ गते रहेको उल्लेख छ ।

(उमेर विवादसँग जोडिएका १४ कागजात रातोपाटीसँग सुरक्षित रहेको छ ।)

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

मदन ढुङ्गाना
मदन ढुङ्गाना
लेखकबाट थप