सोमबार, १७ वैशाख २०८१
ताजा लोकप्रिय
विमानस्थलमा राजनीति

यामलाल कँडेललाई प्रश्न: सुर्खेत विमानस्थल विस्तार कार्यमा तपाईँले नै सहयोग नगरेको आरोप छ नि ?

‘हिजो सरकारका तर्फबाट गर्नुपर्ने कुनै पनि पहल गरेको देखिन्न, मलाई पनि कुनै समन्वय गर्नुभएन’
आइतबार, ०८ पुस २०८०, १४ : ००
आइतबार, ०८ पुस २०८०

सुर्खेत । सुर्खेत विमानस्थल विस्तार गर्ने विषयले यतिबेला सुर्खेत मात्र होइन सिङ्गो कर्णालीको राजनीतिमा तरङ्ग पैदा भएको छ । पूर्वी सुर्खेतको रामघाटमा बन्ने नयाँ विमानस्थल सञ्चालनमा आएपछि वर्तमान विमानस्थललाई वन क्षेत्रका रूपमा विकास गर्न सकिन्छ वा सकिँदैन ? भन्ने कुरा उल्लेख भएको डकुमेन्ट सार्वजनिक भएसँगै विमानस्थलबारे वादविवाद उत्कर्षमा पुगेको छ । सोही विषयमा सुर्खेत क्षेत्र नं.–२ का सांसदहरू चर्को विरोधमा उत्रिनुका साथै वर्तमान विमानस्थललाई नै विस्तार गर्नुपर्छ भन्दै केन्द्रसम्म धाउन थालेका छन् । शनिवार सुर्खेत क्षेत्र नं.–२ बाट प्रतिनिधि सभामा प्रतिनिधित्व गर्ने कांग्रेस सांसद हृदयराम थानी र २ (क) बाट प्रदेश सभामा प्रतिनिधित्व गर्ने, एमाले प्रदेश संसदीय दलका नेता यामलाल कँडेलले सँगै नागरिक उड्डयन प्राधिकरणका महानिर्देशक प्रदीप अधिकारीसँग विस्तारको विषयमा छलफल गरेका छन् । 

छलफलका क्रममा अधिकारीले विमानस्थल विस्तारका लागि पहिले देखिनै आफूहरू तयार रहेको जवाफ दिएका थिए । साथै अधिकारीले स्थानीय र प्रदेश सरकार तयार भएको खण्डमा विस्तारका लागि कुनै समस्या नहुने पनि बताएका छन् । नेता कँडेलले वर्तमान विमानस्थल विस्तार गर्नुको विकल्प नरहेको रातोपाटीसँग बताए  ।

यद्यपि उनै नेता कँडेललाई तत्कालीन अवस्थामा विमानस्थल विस्तार गर्नमा प्रदेश सरकारलाई सहयोग नगरेको आरोप लाग्ने गरेको छ । तत्कालीन मुख्यमन्त्री महेन्द्रबहादुर शाहीको अध्यक्षतामा बैठक बसेर विस्तारका लागि जग्गा रोक्का प्रक्रिया समेत अघि बढिसक्दा कँडेलले सहयोग नगरेको त्यो बेलाका मन्त्रीहरूको दाबी छ । जब अहिलेका उपप्रधान तथा रक्षा मन्त्री समेत रहेका सुर्खेत क्षेत्र नं.–१ का सांसद पूर्णबहादुर खड्काको पहलमा भेरीगंगाको रामघाटमा विमानस्थल बन्ने कार्य अघि बढ्यो, तब मात्रै कँडेल वर्तमान विमानस्थललाई नै विस्तार गर्नुपर्ने पक्षमा उभिएको आरोप उनीमाथि छ । 

स्वयं नेता कँडेलले पनि आफूमाथि उक्त आरोप आइरहेको  बताए । रातोपाटीले उनै कँडेलसँग विवादको केन्द्रमा रहेको विमानस्थलको विषयमा रहेर गरेको कुराकानीको सम्पादित अंश :

सुर्खेत विमानस्थलको विषयमा महानिर्देशकसँग तपाईँ र हृदयराम थानीज्यूले सँगै बसेर छलफल गर्नुभएछ, निष्कर्ष के आयो ? 

सबै तयार भए, हामी वर्तमान विमानस्थललाई विस्तार गर्ने कुरामा तयार नै छौँ भन्नुभएको छ । हिजो पनि हामीले क्यान्सिल गरेको हैनौँ, हिजो पनि तयार र आज पनि तयार छौँ भनेर उहाँले भन्नुभयो । तर, त्यो बेला प्रदेश सरकारले खासै इनिसेशन लिएन वा सङ्घीय सरकारले नयाँ निर्णय लिएन, तथापि हामी विस्तार गर्न तयार नै छौँ भन्ने कुरा महानिर्देशक ज्यूले भन्नुभयो । 

तपाईँहरूको कुरा चाहिँ के हो ? नयाँ विमानस्थल बन्ने भएपछि वीरेन्द्रनगर कमजोर हुन्छ भन्ने हो कि वा वर्तमान विमानस्थल विस्तार गर्नुपर्छ नयाँ किन चाहियो भन्ने हो ? खाँटी कुरा के हो ?

नयाँ तिरको कुरा नै छैन । अरूको कुरा के हो मलाई थाह छैन, तर मेरो कुरा के हो भने नयाँ विमानस्थल बनाउन निकै समय लाग्छ । स्रोत जुटाउनेदेखि सबै कुराको बन्दोबस्त हुन समय लाग्ने भएपछि त्यो बेलासम्म हवाई सेवालाई सुरक्षित गराउने कुराका लागि यसको पूर्वाधार विस्तारको आवश्यकता र जरुरी छ भन्ने हो । जसरी अहिले पक्ष र विपक्षका कुराहरू आइरहेका छन्, त्यो हैन । अहिलेको विमानस्थल भन्दा राम्रो, नयाँ कुरा कसैले ल्याउँछ भने त्यसमा मेरो समर्थन नै होला । तर, नयाँका नाममा भइरहेको हवाई यात्रालाई बन्द गराउने कुरा बेठिक छ ।

यदि त्यसो हो भने पूर्व मुख्यमन्त्री जीवनबहादुर शाहीले विस्तारको ‘च्याप्टर क्लोज’ गर्दा पनि तपाईँ दलको नेताकै हैसियतमा हुनुहुन्थ्यो, त्यो बेला चाहिँ विस्तार गर्ने कुरामा किन अग्रसरता देखाउनु भएन त ? 

यो सरासर झुट हो । त्यो बेलामा स्थानीय तहमा पनि एमालेको उपस्थिति थियो, प्रदेशमा म पनि थिएँ । तर, सरकारले दिनानुदिन के काम गर्छ, कुन मुडले अगाडि बढिरहेको छ, थाह पाइएपछि वा थाह दिइएपछि मात्रै आफ्नो सहभागिता जनाउने कुरा रहन्छ । मलाई लाग्छ जीवन शाहीले एउटा बैठक बोलाउनुभएको थियो, त्यहाँ मेरो सहभागिता थियो । मैले सरकार र क्यानका मान्छे भन्दा विपरीत विस्तार कार्यलाई रोक्न पाइँदैन, स्थानीय तहको समस्याको समाधान जनप्रतिनिधिका हिसाबले  गर्न म तयार छु भनेर भनेको हो । तर, उहाँहरू पछि किन ब्याक हुनुभयो मैले अहिलेसम्म पनि सोधेको छैन । त्यो उहाँहरूले जान्ने कुरा हो । 

तर, त्यो भन्दा पहिला तत्कालीन मुख्यमन्त्री महेन्द्रबहादुर शाहीको पालामा विस्तार कार्यका लागि जग्गा रोक्काको काम समेत भइसकेको थियो । त्यो बेला विस्तार कार्यमा तपाईँले नै सहयोग नगरेको आरोप छ नि ?  

यो त झन् वाहियात कुरा हो । किनभने भोलि जनताले आफ्नो मुआब्जाको कुरा माग्लान्, भोलि समस्या लिएर आउलान्, सङ्गठित होलान्, त्यो कुराको समाधान गरिदिने त सरकारमा रहेकाहरूले हो नि ! भोलि मुआब्जाको कुरा आउँदा जनताले चित्त नबुझाउन सक्छन्, आफ्नो तर्फबाट असहयोग, विरोध गर्न सक्छन् तर, त्यसलाई सबैको सहयोग लिएर समाधान गर्ने जिम्मेवारी त सरकारको हो । तपाईँले पनि सोध्नुहोस् र उहाँहरूसँग साक्षात्कार गर्नुहोस् कि देखिने गरी मसँग सहयोग मागेको एउटा पनि घटना छैन । बरु मैले नै जनस्तरमा गएर, जनतालाई भेला गरेर विस्तार यही हुन्छ तर, विस्तार गर्दा तपाईँहरूलाई अन्यायपूर्ण तरिकाले हटाउने कुरा हुन्न भनेर मैले सम्झाइ रहको अवस्था थियो । सम्बोधन हुने गरी क्षतिपूर्ति वा मुआब्जा दिनुपर्छ भनेर भन्ने मान्छे मै हो । हिजो उहाँहरूले सरकारका तर्फबाट गर्नुपर्ने कुनै पनि पहल गरेको देखिन्न । मलाई पनि कुनै समन्वय गर्नुभएन । तर, तपाईँले सोधेजस्तै प्रश्न जनस्तरबाट हिजो देखिनै मैलेँ बेहोरिरहेको छु । सरकारमा माओवादी र कांग्रेस हुने अनि सरकारले गर्ने काम कसैले विरोध गर्यो भनेर उम्किने तहको सरकार हुन्छ र ? 

मैले सुरु देखिनै भनिरहेको छु कि कर्णालीका कर्णाली र भेरी कोरिडोर तथा सुर्खेत विमानस्थलको विस्तार हुनुपर्छ । हिमाली जिल्लाहरूमा हवाई उडानको कार्यतालिका बनाउन सकियो भने ठुलो परिवर्तन आउँछ । पछिल्लो समय मैले यी दुई वटा कुराहरू मात्र उठाइरहेको छु । प्रधानमन्त्री आउँदा पनि मैलेँ त्यही भनेको छु, त्यो कुरा त सरकारले सहयोगको रूपमा लिए हुन्छ नि ! 

अनि अहिले जुन डकुमेन्ट आइरहेको छ, नयाँ विमानस्थल बनेपश्चात् वर्तमानलाई जङ्गलको रुपका विकास गर्ने कुरा छ, यसलाई चाहिँ कसरी लिनुभएको छ ?

यस्तो पनि हुन्छ र ? त्यो परम्परागत रिपोर्टको एउटा दफा हो । ल ठिक छ अर्को ठाउँमा एयरपोर्ट बने पनि अहिलेको एयरपोर्टलाई जङ्गल बनाउन सकिन्छ ? यत्ति कुरा उनीहरूलाई थाह छैन । एउटा खिसीटिउरी गर्ने कुरा भयो, त्यो दफाले । अन्त विमानस्थल बन्यो रे अनि त्यो दफा अनुसार अहिलेको विमानस्थललाई वनमा रूपान्तरण गर्ने कुरा सफल हुन्छ त ? हुँदैन । भइरहेकोमा ध्यान नजाने, नयाँ बनाउन नसक्ने भयो भने हामीहरू थप समस्यामा पर्न सक्छौँ । त्यतातिर सोच्न जरुरी छ ।  

yamlal - ratopati photo

अबको आन्तरिक रणनीति चाहिँ के हुन सक्छ त ?

म समग्र कर्णालीकै विकास गर्नुपर्छ भन्ने मान्यता राख्ने मान्छे हो । मबाट सबैले अपेक्षा पनि त्यही गरेका हुन्छन् । हामीले प्रदेशको राजधानी वीरेन्द्रनगरलाई बनायौँ । अनि प्रदेशका संरचना वीरेन्द्रनगर नबनेर कहाँ कालिकोट बन्छन् त ? कोही कतै बनाउने भए किन राजधानी तोक्नु ? माओवादी, कांग्रेसले प्रदेशको राजधानी तोके मुताबिक संरचना बनाउने नीति लिएको देखिन्न । त्यसमा कतिले तपाईँले भनेजस्तै आफ्नो पहुँच भएका बेलामा प्रभावका आधारबाट यो गरे नि भन्ने साथीहरूले काम गर्दै हुनुहुन्छ । आज उहाँहरूलाई मजा लागे पनि कालान्तरमा  पछुतो हुन्छ भन्ने मलाई लाग्छ । आवश्यकता र औचित्यका आधारमा काम गर्नुपर्छ भन्ने मेरो मान्यता हो । अहिले हाम्रो देशमा अर्थतन्त्र उत्साहजनक छैन, यसलाई पनि मध्यनजर गरेर आयोजना छान्न जरुरी छ । 

 

 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

पंखबहादुर शाही
पंखबहादुर शाही
लेखकबाट थप