वित्तीय अनुशासनलाई कडाइका साथ पालना गरिन्छ : अर्थमन्त्री पौडेल

समाचार सारांश
- उपप्रधानमन्त्री तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेलले पूर्वाधार विकास आयोजनामा बजेट कार्यान्वयन गर्न सरकार प्रतिबद्ध रहेको बताए।
- अर्थमन्त्री पौडेलले पुँजीगत खर्च बढाउन र चालु खर्च नियन्त्रण गर्न सरकार गम्भीर रहेको बताए, साथै निर्माण सामग्रीको अभावबारे समाधान खोज्ने प्रतिबद्धता जनाए।
- मन्त्री पौडेलले बजेट कार्यान्वयन, वित्तीय अनुशासन र स्रोतको उच्चतम परिचालनमार्फत जनतामा आशा जगाउन सरकार कटिबद्ध रहेको बताए।
काठमाडौँ । उपप्रधानमन्त्री तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेलले पूर्वाधार विकास आयोजनाहरूमा विनियोजित बजेटको प्रभावकारी कार्यान्वयन गर्न सरकार प्रतिबद्ध रहेको बताएका छन् । नेपाल पूर्वाधार पत्रकार समाजले आयोजना गरेको ‘पूर्वाधारमा बजेट कार्यान्वयन’ विषयक अन्तरक्रिया कार्यक्रममा बोल्दै अर्थमन्त्री पौडेलले यस्तो बताएका हुन्। उनले बजेटको विश्वसनीयता कायम राख्दै वित्तीय अनुशासनलाई कडाइका साथ पालना गरिने बताए।
अर्थमन्त्री पौडेलले विगतमा पुँजीगत खर्च अपेक्षित रूपमा हुन नसकेको स्वीकार गर्दै चालु आर्थिक वर्षमा यसमा सुधार ल्याउने दृढता व्यक्त गरे । उनले भने, ‘बजेटको आकार ठुलो भयो भन्ने आलोचना यसपटक खासै सुनिएन, यो सकारात्मक छ । तर हाम्रो मुख्य चुनौती पुँजीगत खर्च बढाउने र चालु खर्च नियन्त्रण गर्ने हो। यसमा हामी गम्भीर छौँ’
उनले साना ठूला सबै आयोजनाहरूमा स्रोतको सही सदुपयोग र जबाफदेहिता सुनिश्चित गरिने उल्लेख गरे। ‘तीन करोडसम्मका आयोजनामा देखिएका समस्या र सार्वजनिक खरिद ऐनका केही प्रावधानले पारेको अप्ठ्यारोबारे सरकार सचेत छ र आवश्यक सहजीकरणको लागि प्रयासरत छ,’ मन्त्री पौडेलले भने ।
अर्थमन्त्री पौडेलले निर्माण सामग्री, विशेष गरी बालुवा र गिट्टी जस्ता स्रोतहरूको सहज उपलब्धता नहुँदा पूर्वाधार आयोजनाहरूको प्रगतिमा बाधा पुगेको स्वीकार गरे । उनले भने, ‘निर्माण सामग्रीको अभावले समयमै काम सम्पन्न गर्न कठिनाइ भएको छ। यस विषयमा सम्बन्धित निकायहरूसँग समन्वय गरी समाधान खोजिनेछ।’
उनले सरकार बजेट कार्यान्वयन, वित्तीय अनुशासन र स्रोतको उच्चतम परिचालनमार्फत जनतामा आशा जगाउन र सरकारप्रतिको विश्वास अभिवृद्धि गर्न कटिबद्ध रहेको दोहोर्याए । अर्थमन्त्रीले पूर्वाधार विकासमा देखिएका चुनौतीहरूको सामना गर्दै नतिजामुखी काम गर्न आफू र आफ्नो मन्त्रालय दत्तचित्त भएर लाग्ने बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
मधेस प्रदेश सरकारको नीति तथा कार्यक्रम आज प्रस्तुत हुँदै
-
चौघेरा रत्ननाथ मठ : जग्गा जोत्ने किसान, मोही खाने नेता !
-
आज चारवटा संसदीय समितिको बैठक बस्दै, हेर्नुहोस् कार्यसूची
-
वायु प्रदूषणको अवस्था हेर्न ‘ड्यासबोर्ड’ सार्वजनिक
-
सङ्घीय संसद्का दुवै सदनको बैठक बस्दै, यस्ता छन् कार्यसूची
-
स्थानीय, पश्चिमी र मनसुनी वायुको प्रभाव : आज यी प्रदेशमा हुनेछ चट्याङसहित वर्षा