पक्की सडकले सुगम बने पर्वतका ग्रामीण बस्ती

समाचार सारांश
- पर्वत जिल्लामा सडक सञ्जालको विस्तारले दुर्गम क्षेत्रमा यातायात सुविधा पुगेको छ।
- संघीयता कार्यान्वयनपछि तीनै तहका सरकारको पहलमा सडक स्तरोन्नति भएको छ, जसले कृषि उत्पादन बजारसम्म पुर्याउन सहयोग गरेको छ।
- ग्रामीण सडक कालोपत्रे गर्ने कार्यले गति लिएको छ, तर अब सडक स्तरोन्नति र दिगो विकासमा जोड दिनुपर्ने आवश्यकता छ।
पर्वत। कुनै समय थियो, सरकारी वा गैरसरकारी निकायका कर्मचारीको पर्वत जिल्लामा सरुवा भयो भने आउन मान्दैनथे । पर्वत भनेको डाँडाकाँडा मात्रै भएको विकट जिल्ला होला, सडक सुविधा छैन होला भन्ने आम सोच थियो ।
विसं २०४८ तिर जिल्लामा तत्कालीन भूपी शेरचन राजमार्गको रूपमा पोखरा–बागलुङ राजमार्ग विस्तार भयो । जसले सदरमुकाम कुस्मा बजारलाई जोड्यो । तर बागलुङबाट छुट्ने सबै सवारीसाधनमा पर्वत वा कुस्मा भनेर लेखिएको हुँदैनथ्यो । बागलुङ र म्याग्दी भन्ने मात्रै हुन्थ्यो ।
यति मात्र हैन कुनै बेला मकै, घ्यू, चामल, महलगायत स्थानीय उत्पादनको भारी बोकेर पैदल हिँड्दा पाँच दिनसम्मको यात्रा गरेर बुटवल पुगिन्थ्यो । आफूले लगेको वस्तुसँग नुन, चिनी, चियापती जस्ता वस्तु साटेर फेरि पाँच दिनको पैदल यात्रा गरेर फर्किन्थ्यो । उति बेला निकै दुःख थियो, सडक, बिजुली भन्ने कुरा कल्पनासमेत गरिएको थिएन ।
बिहादी गाउँपालिका–२ बर्राचौरका ८३ वर्षीया इन्द्रप्रसाद पराजुलीले चार दशकअघिका दुःख सम्झिँदै भने, “नुन बोक्न जाँदा कतिपय बाटोमै बित्थे, भीरबाट लडेर अङ्गभङ्गसमेत हुन्थ्यो, “म पनि कैयौँ पटक नुनको भारी बोक्न आफन्तसँग गएको थिए । अहिलेको यो परिवर्तन देख्दा र ती कहाली लाग्दा दिन उमेर सम्झेर अचम्म लाग्छ ।”
विकासले पिछडिएर जिल्लाकै कालापानी भनेर परिचित दक्षिण पर्वतका तीन पालिकाको अवस्था अहिले निकै फरक भइसकेको छ । उत्तर–दक्षिण जोड्ने सबैभन्दा छोटो मार्ग काली गण्डकी कोरिडोर विस्तारपछि कालापानीको परिचय फेरिएर सुगम क्षेत्र बन्न पुगेको छ ।
पर्वत जिल्लामा सङ्घीयताअघि नै तत्कालीन ५५ वटै गाविसमा सडक सञ्जालले छोएको थियो । वडा तहसम्म सडक सञ्जाल फैलिए हिउँदका केही महिना मात्र मुस्किलले यातायातको सुविधा पाइन्थ्यो । वर्षायाम लागेपछि ती सडकहरू ठप्प नै हुन्थे । समयमा मर्मत हुँदैनथ्यो, बजेट कम हुन्थ्यो ।
विसं २०६५ पछि दोविल्ला–फलेवास सडक र कुस्मा–दुर्लुङ्ग सडक तत्कालीन ग्रामीण पूर्वाधार विकास आयोजनामार्फत स्तरोन्नति थालियो । केही ग्रामीण सडक सञ्चालनमा आए । उत्तर–दक्षिण जोड्ने काली गण्डकी कोरिडोर पर्वत हुँदै ट्र्याक खोल्न सुरु गरेपछि जिल्लाको कालापानी भनेर चिनिने दक्षिण पर्वतको विहादी र पैंयुँ गाउँपालिकामा पनि सडकका पहुँच पुग्न थाल्यो । वर्षायामा नभए पनि हिउँदका महिनामा ग्रामीण क्षेत्रका नागरिकले सडक सुविधा पाउन थाले ।
अहिले पर्वतको परिचय पहिलेको जस्तो छैन । पर्वत सुगम जिल्लाको रूपमा परिचित छ । सङ्घीयता कार्यान्वयनसँगै तीनै तहका सरकारको पहलमा जिल्लाका सबै टोल बस्तीमा सडकको पहुँच पुगेको छ । सडकबाट घरसम्म जानका लागि जस्तोसुकै विकट बस्तीका नागरिकलाई पाँचदेखि १० मिनेटभन्दा बढी हिँड्नुपर्ने अवस्था नरहेको जिल्ला समन्वय समिति पर्वतका प्रमुख विष्णुराम विक बताउँछन् ।
पर्वतका सबै टोल बस्तीमा सहज रूपमा सडकको पुहुँच पुगिसकेको छ । जिल्लाका सात वटै स्थानीय तहसम्म कालोपत्रे सडकको सुविधा छ भने अधिकांश वडा कार्यालयसम्म कालोपत्रे सडकले छोएको अवस्था छ । आसपासका छिमेकी जिल्लाको तुलनामा पर्वत सडक पूर्वाधारमा उल्लेख मात्रामा विकास भएको विकको भनाइ छ ।
सडक सुविधा नहुँदा ग्रामीण क्षेत्रमा फलेका अन्नपात हुन वा बोटमा लटरम्म फलेका सुन्तला हुन बारीमै कुहाउनुपर्ने कुनै समयको बाध्यता थियो । तर अहिले हरेक कृषकको बगँैचासम्मै सडकको पहुँच पुगेको छ । जिल्लाको महाशिला–२ भोक्सिङका जीतबहादुर गुरुङ सडकको पहुँच पुगेसँगै फुरुङ बनेका छन् । विसं २०६७ देखि १२ रोपनी क्षेत्रफलमा सुन्तला फलाएका गुरुङले दुई वर्षअघिदेखि बारीबाटै सुन्तला बिक्री गर्न पाएकोमा हर्षित छन् ।
ग्रामीण सडक सञ्जालले गाउँलाई जोडेपछि फलेवास–१० कुर्घाका देवेन्द्र शर्मासहितका दर्जनौँ किसानको दुई वर्षयता सुन्तलालगायतका तरकारी तथा फलफूल बेचेर मनग्गे आम्दानी गर्न सफल भएका छन् । दैनिक एक हजार पाँच सय लिटर दूध पोखरा पठाउँदै आएका शर्मासहितका किसानले यसअघि सडक समस्याका कारण सास्ती खेप्दै आएका थिए ।
जीतबहादुर र शर्माजस्तै कैयौँ किसानको उत्पादन अहिले गाउँबाट सिधै सहरसम्म पुग्ने गरेको छ । स्थानीय सरकारको सक्रियता र तीन तहको सरकारको विकासमा होडबाजी चलेका कारण पछिल्लो आठ वर्षयता पर्वतका ग्रामीण सडक स्तरोन्नति हुने क्रम तीव्र रूपमा अघि बढेको छ ।
तत्कालीन जिल्ला विकास समितिकै तथ्याङ्कअनुसार पर्वतमा विसं २०७३ सम्म करिब दुई हजार दुई सय किलोमिटर सडकको कच्ची ट्र्याक खुलेको थियो । तर अहिले यसको दुरी बढेर दुई हजार छ सयको हाराहारीमा छ । चार सय ९४ वर्ग किलोमिटरमा फैलिएको पर्वत जिल्लामा सङ्घीयताको कार्यान्वयनसँगै स्थानीय तहले ती सडकको स्तर वृद्धिमा लगानी गरिरहेका छन् । प्रदेश र केन्द्रमा पहुँच हुने पालिका प्रमुखले मुख्य सडक स्तर वृद्धि तथा कालोपत्रेको काम तीव्र रूपमा अघि बढाउँदै गएपछि अहिले जिल्लाका अधिकांश वडामा गुणस्तरीय सडकको पहुँच विस्तार भएको छ ।
कुस्मा नगरप्रमुख रामचन्द्र जोशीका अनुसार नगरका सबैजसो वडामा कालोपत्रे सडक पुगेको छ । “कच्ची सडकले नछोएको कुनै बस्ती छैन”, उनले भने, “कालोपत्रे हुन बाँकीमा पनि चाँडै काम हुन्छ ।”
जिल्लाको महाशिला गाउँपालिकाका अध्यक्ष ईश्वरीप्रसाद भुसालका अनुसार पालिकाका सबैजसो वडामा बाह्रै महिना सवारी सञ्चालन हुने गरी सडक स्तरोन्नति गरिएको छ । “मुख्य सडक प्रदेश र केन्द्रको प्राथमिकतामा परेका छन्”, उनले भने, “केही ग्रामीण सडक हामीले कालोपत्रे गरेका छौँ, प्राथमिकताका आधारमा अब टोलटोलमा विस्तार जाने तयारी गरेका छौँ ।”
एक घर एक रोजगार, एक घर एक टनेललगायतका कार्यक्रम सफल कार्यान्वयन गरेको महाशिलाले किसानको उत्पादन बजार पुर्याउन सडक सञ्जालको स्तरोन्नतिमा ध्यान दिएको उनले बताए । महाशिलामा एक सय ८३ किलोमिटर ग्रामीण सडकमध्ये २१ किलोमिटर कालोपत्रे भएको छ ।
पर्वतका सातै पालिकाको तथ्याङ्कअनुसार हालसम्म करिब चार सय किलोमिटर ग्रामीण सडक कालोपत्रे भइसकेको छ । त्यसबाहेक करिब ५० किलोमिटर सडक ढलान छ । भिरालो र ओसिलो क्षेत्रको सडक कालोपत्रे गर्दा टिकाउ नहुने भएकाले ढलान गर्नुपरेको प्राविधिकको भनाइ छ ।
पूर्वाधार विकास कार्यालय पर्वतका प्रमुख सन्तोष अर्यालका अनुसार गत वर्ष २० किलोमिटर सडक कालोपत्रे भएको थियो । यस वर्ष १२ किलोमिटर सडक कालोपत्रे गर्ने लक्ष्य रहेको छ । डेढ सय किमी सडक कालोपत्रे गर्ने गरी ठेक्का सम्झौता भएकोमा केही सम्पन्न भएको छ भने केही सडक निर्माणाधीन अवस्थामा रहेका छन् ।
ग्रामीण भेगमै पर्ने काली गण्डकी कोरिडोर (लोकमार्ग) को काम तीव्र रूपमा भइरहेको छ । बिहादी र फलेवास नगरपालिकाका अधिकांश वडामा गतवर्ष नै कालोपत्रेसहितको राजमार्गको पहुँच पुगेको छ । लोकमार्गअन्तर्गत पर्वतको सेतीवेणीदेखि अर्मादीसम्म ४३ किलोमिटर सडकको काम धमाधम भइरहेको छ । त्यसैगरी फलेबास–अर्मादी सडक खण्डको १४ किलोमिटर भने निर्माण कम्पनीको लापरबाही कारण समयमा काम नहुँदा कालोपत्रेको काम अगाडि बढाउन सकिएको छैन । उक्त खण्डमा समयमा काम नहुँदा कालोपत्रेको कामको टेन्डर आह्वान हुन नसकेको र चालु आर्थिक वर्षमा बजेट सुनिश्चितता नभएको कार्यालयले जनाएको छ ।
जिल्लाका ६१ वटै वडाका हरेक टोलटोलमा सडक सुविधा पुगेको पर्वतमा नयाँ ट्र्याक खोल्नेभन्दा भइरहेका पुराना सडकलाई स्तरोन्नति र कालोपत्रे गर्नतर्फ बजेट केन्द्रित गर्नुपर्ने सरोकारवालाहरूको भनाइ छ । पर्वतमा सडक पूर्वाधारका लागि गण्डकी प्रदेश सरकारबाट चालु आर्थिक वर्षमा ९४ करोड विनियोजन भएको छ भने सङ्घीय सरकारबाट केही मुख्य सडकहरू स्तरोन्नतिका योजना सञ्चालनमा रहेका छन् । सङ्घीय योजनाहरू बागलुङमा रहेको सघन सहरी विकास तथा भवन निर्माण आयोजनामार्फत कार्यान्वयन हुने भएको छ ।
पुष्पलाल मध्य पहाडी लोकमार्ग र काली गण्डकी लोकमार्गले घेरिएसँगै पर्वत जिल्लाको विकासक्रमले बिस्तारै गति लिँदै गएको छ । सुविधा सम्पन्न सडक, विद्युत, सिँचाइ, खानेपानी, शिक्षा, स्वास्थ्यको पहुँच ग्रामीण क्षेत्र केन्द्रित बन्दै गएको छ तर ग्रामीण क्षेत्रहरू खाली हुँदै गइरहेको अवस्था छ । अब राज्यका तीनै तहका सरकारहरूले नागरिकलाई स्वरोजगारीमुखी र आत्मनिर्भरमुखी कार्यक्रम ल्याउन सकेमा मात्र दिगो र समुचित विकास हुने संविधानसभा सदस्य विकास लम्सालले बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
गाउँगाउँमा सडक कालोपत्रे भएपछि स्थानीय खुसी
-
उच्च अदालत सुर्खेतका ७९ प्रतिशत मुद्दा फर्छ्योट
-
चैते धानको समर्थन मूल्य नपाउँदा किसान चिन्तित
-
सप्तकोशीमा डल्फिनको सङ्ख्यामा वृद्धि
-
महात्मा गान्धीको दुर्लभ चित्र लन्डनमा लिलामी गरिँदै
-
१२ बजे १२ समाचार: बजेट निर्माणअघिनै मन्त्रालयमा प्रवेश निषेध, गोताखोर खोजीमा थप टोली परिचालन