सोमबार, १७ वैशाख २०८१
ताजा लोकप्रिय

किसुनजीले सपनामा देउवालाई सिंहदरबार पुर्‍याएको दुई दिनपछि परमादेश आयो : उपसभापति खड्का

आइतबार, ०८ पुस २०८०, १६ : ०८
आइतबार, ०८ पुस २०८०

काठमाडौँ । नेपाली कांग्रेसका उपसभापति पूर्णबहादुर खड्काले कृष्णप्रसाद भट्टराई ‘किसुनजी’ले सपनामा सभापति शेरबहादुर देउवालाई सिंहदरबार पुर्‍याएको दुई दिनपछि सर्वोच्चबाट परमादेश आएको बताएका छन् ।

‘सन्त नेता’को छवि बनाएका  किसुनजीको शताब्दी जन्म दिवसको अवसरमा आइतबार पार्टी कार्यालय सानेपामा आयोजित कार्यक्रममा उनले यस्तो सपना सुनाएका हुन् ।

उपसभापति खड्काका अनुसार गत २०७८ मा तत्कालीन प्रधानमन्त्री केपी ओलीले दोस्रो पटक संसद् विघटन गरेपछि परमादेशसहितको संसद् पुनर्स्थापनाका लागि सांसद सर्वोच्च अदालत गएका थिए । असार २८ गते सर्वोच्च अदालतले संसद् पुनर्स्थापना गर्दै देउवालाई प्रधानमन्त्री बनाउन परमादेश दिएको थियो ।  अदालतले फैसला गर्नुभन्दा दुई दिनअगाडि एक्कासी किसुनजी सपनामा प्रकट भएको खड्काले सुनाए  ‘जुन जीपमा उहाँ चड्नुहुन्थ्यो, अहिले त्यो जीप आश्रममा छ, त्यही जीपमा उहाँ चढेर आज म जहाँ बस्छु, त्यहाँ अपर्झट आइपुग्नु भयो । मलाई बोलाउनु भयो । पछाडि बस बन्नुभयो ।’

त्यसपछि सिँधै गाडी लिएर बुढानीकण्ठमास्थित सभापति देउवा कहाँ पुगेको उनले बताए । ‘त्यहाँ उहाँले ‘शेरबहादुरजी, शेरबहादुरजी... आउनुहोस् तल’ भन्नुभयो । सभापतिजी आउनु भयो । त्यही गाडीमा छेउको सिटमा राख्नुभयो,’ खड्का भन्छन्, ‘सिँधै त्यो गाडी सिंहदरबारमा पुर्‍याएर आफू ओर्लनु भयो । तपाई अगाडि जानुहोस् शेरबहादुरजी भन्नुभयो । मलाई पछाडि बस्नुहोस् भन्नुभयो । तपाईहरू भित्र जानुहोस् म हिँडे भनेर जानुभयो ।’

त्यसको दुई दिनपछि अदालतको परमादेशमा देउवा मुलुकको प्रधानमन्त्री भएको खड्काले बताए । त्यस्तो खालको भावनात्मक सम्बन्ध किसुनजीसँग रहेको उनको भनाइ छ । 

खड्काले पञ्चायतलाई परास्त गर्न किसुनजीको भुमिका महत्वपूर्ण रहेको बताए । पञ्चायत बिरुद्धको आन्दोलनलाई नेपाली माटोबाटै लडेर जित्नको लागि किसुनजीले स्वदेशमै बसेर आन्दोलनको नेतृत्व गरेको स्मरण गर्दै उनले भने, 'प्रजातन्त्र पुनर्थापनाको आन्दोलनमा किशुनजीको संघर्ष विशेष खालको रह्यो।' 

उपसभापति खड्काले भने, ‘नेता श्रद्धेय किसुनजी जसले पञ्चायतको बिरुद्धको आन्दोलन नेपाली माटोमै बसेर गर्नु पर्छ भन्ने धारको नेतृत्त्व गर्नुभयो l जननायक बिपी कोईराला लगायतका नेताहरु प्रवासमा जानु हुँदा पनि किसुनजीले नेपाल नछोडिकन नेपालभित्रै बसेर, नेपालकै माटोमा बसेर संघर्ष गर्नुपर्छ र यहीँ भित्रैबाट पञ्चायतलाई परास्त गर्नुपर्छ भनेर शान्तिपूर्ण आन्दोलनको अगुवाई गर्दै हिँड्नुभयो ।’

उपसभापति खड्काले नेता भट्टराईको निष्ठा र जीवनबाट सिकेर सरकार र नेपाली कांग्रेस पार्टीलाई अघि बढाउने प्रतिवद्धता जनाए ।

 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप