सोमबार, २४ वैशाख २०८१
ताजा लोकप्रिय

प्रहरीको सहयोगमा यमुनामाईका प्रमुख प्रशासकीय अधिकृत हाजिर

आइतबार, ०८ पुस २०८०, २० : ३३
आइतबार, ०८ पुस २०८०

रौतहट । यमुनामाई गाउँपालिकामा प्रमुख प्रशासकीय अधिकृतको रुपमा ओमप्रकाश यादव आइतबार हाजिर भएका छन् । उनी प्रहरीको सुरक्षा लिएर पालिकामा हाजिर भएका हुन् ।

गत मङ्सिर २२ गते संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले यमुनामाईको प्रमुख प्रशासकीय अधिकृत रामश्रेष्ठ राय यादवको ठाउँमा ओम प्रकाश यादवलाई जिम्मेवारी दिएको थियो । मन्त्रालयको पत्रसहित हाजिर हुन गएका यादवलाई गाउँपालिका अध्यक्ष मोहम्मद सऊदले हाजिर नगराउने भन्दै मन्त्रालयको नाउँमा पत्र दिएर यादवलाई फिर्ता पठाएका थिए ।

त्यसपछि यादवले उच्च अदालत जनकपुर अस्थायी इजलास बीरगंजमा लिखित उजुरी दिएका थिए । अदालतको आदेशपछि आइतबार कार्यालयमा हाजिर हुन गएका यादवलाई गाउँपालिका अध्यक्षका समर्थकले कार्यालयको मुख्य गेटमा बसेर अवरोध गरेका थिए ।

प्रमुख प्रशासकीय अधिकृत यादवलाई हाजिर हुन नदिन जनप्रतिनिधि र उनीहरुका समर्थक धर्नामा बसेपछि प्रहरीले सुरक्षा दिएर उनलाई कार्यालयमा प्रवेश गराएको हो ।

उता दुर्गा भगवती गाउँपालिकाको प्रमुख प्रशासकीय अधिकृतको रुपमा आइतबार परमानन्द ठाकुर हाजिर भएका छन् । ठाकुरलाई पालिका प्रमुख शम्भु सिंहले स्वागत तथा सम्मान गर्दै प्रमुखको रुपमा हाजिर गराएका हुन् ।

संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले पटकपटक प्रमुख प्रशासकीय अधिकृत फेरिरहेको कारण यमुनामाई गाउँपालिका जस्तै बृन्दाबन नगरपालिका र फतुवा विजापुर नगरपालिकामा जनप्रतिनिधिबिच लामो समयदेखि विवाद देखिएको छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप