शनिबार, २२ वैशाख २०८१
ताजा लोकप्रिय

साहित्यकार हितानलाई अरनिको अन्तर्राष्ट्रिय पुरस्कार

आइतबार, ०८ पुस २०८०, २० : ४३
आइतबार, ०८ पुस २०८०

लण्डन । गैरआवासीय नेपाली सङ्घको ‘अरनिको अन्तर्राष्ट्रिय पुरस्कार’ बेलायतका साहित्यकार विजय हितानलाई दिइने भएको छ । हितान्द्वारा लिखित उपन्यास ‘लाहुरे दाइको रेलिमाई’ लाई अरनिको अन्तर्राष्ट्रिय पुरस्कार प्रदान गरिने भएको हो ।

वि.सं २०७९ को पुरस्कारका लागि त्यस वर्षभरि प्रकाशित विविध विधाका नेपाली वाङ्मयका कृतिहरूमध्ये बेलायतमा बसोबास गर्ने साहित्यकार हितानद्वारा लिखित उपन्यास ‘लाहुरे दाइको रेलिमाई’ लाई प्रदान गर्ने निर्णय भएको हो ।

गैरआवासीय नेपाली सङ्घले एक बिशेष समारोहबीच हितानलाई २ लाख रुपैयाँ नगद र सम्मानपत्रसहित उक्त पुरस्कार प्रदान गर्ने गैरआवासीय नेपाली सङ्घ अरनिको अन्तर्राष्ट्रिय पुरस्कार ब्यवस्थापन समितिका अध्यक्ष हिक्मत थापाले जनाए ।

आइतबार सम्पन्न सङ्घको ‘अरनिको अन्तर्राष्ट्रिय पुरस्कार व्यवस्थापन समिति’ बैठकले छनौट समितिको उक्त सिफारिससँगै ‘लाहुरेको रेलिमाई’ लाई वर्ष २०७९ को अरनिको अन्तर्राष्ट्रिय पुरस्कारका लागि अनुमोदन गरेको छ ।

गीत सङ्गीतमार्फत् नेपाली जातिको जागरणमा जीवनपर्यन्त लागेका मास्टर मित्रसेन थापाको जीवनकथामा आधारित आख्यान ‘लाहुरेको रेलिमाई’ ले गायक थापाको दृष्टिविन्दूबाट प्रथम विश्वयुद्धको विदारक चित्रण प्रस्तुत  गरेको छ । 

त्यससँगै उनको सङ्घर्षपूर्ण जीवन र उनी बाँचेको समाजका अनेक पाटाहरूलाई पनि उपन्यासले प्रभावशाली र प्रमाणिकरूपमा उद्घाटित गरेको छ।

समितिले गैरआवासीय नेपाली साहित्यकारहरूद्वारा लेखिएका नेपाली भाषाका कृतिमध्ये सर्वश्रेष्ठ एक कृतिलाई वि.सं २०७७ सालदेखि प्रत्येक वर्ष २ लाख नगदराशी र सम्मानपत्रसहित ‘अरनिको अन्तर्राष्ट्रिय पुरस्कार’ प्रदान गर्ने गर्छ । 

पहिलोपटक २०७७ सालमा उक्त पुरस्कार हरि अधिकारीको ‘संकलित गद्य रचना’ लाई प्रदान गरिएको थियो । त्यसैगरी २०७८ मा चेतनाथ आचार्यको उपन्यास‘ रुइबा’ लाई पुरस्कृत गरिएको थियो । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप