सिर्जना, गजेन्द्र, पूर्णलक्ष्मी र मुकेशलाई स्वर्ण
काठमाडौँ । आर्मीका सिर्जना पाण्डे, गजेन्द्र राई, पूर्णलक्ष्मी न्यौपाने र मुकेश पालको टिमले राष्ट्रिय मिक्स रिले दौडमा शनिबार स्वर्ण जितेका छन् ।
कीर्तिमानी धावक वैकुण्ठ मानन्धरको सम्मानमा एथलेटिक्स परिवार नेपालद्वारा आयोजित प्रतियोगिताको निर्धारित १० किलोमिटर दूरी आर्मीले ३२ मिनेट ५८.८६ सेकेन्डमा पूरा गरे । एक टिमबाट समान २–२ पुरुष/महिला गरी खेलाडी दौडेका थिए । प्रत्येक खेलाडीले २.५ किलोटिमर तय गर्नु पर्ने थियो ।
नेपाल प्रहरीका राममाया बुढा, सन्तोषनाथ योगी, सुमित्रा चौधरी र नागेश्वर अहिर ३३ मिनेट ४५.५६ सेकेन्ड समयमा दौड पूरा गर्दै दोस्रो भए । ३४ मिनेट २२.७३ सेकेन्डमा दौड पूरा गरेका फुलमती राना, सञ्जीव नेपाली, सीमा चौधरी र राजेन्द्र तामाङ एपीएफको टोली तेस्रो भयो । शीर्ष ३ स्थान हात पार्नेले क्रमशः ३२ हजार, २४ हजार र १६ हजार नगद पुरस्कार पाए ।
आर्मीका गजेन्द्र पुरुष खुला ५ किलोमिटर दौडमा पनि स्वर्ण जित्न सफल भए । उनले निर्धारित दूरी १६ मिनेट १०.९२ सेकेन्डमा तय गरे । रजत र कांस्य पनि आर्मीकै खेलाडीले जिते । मुकेश पाल १६ मिनेट १२.४२ सेकेन्ड समयमा दोस्रो तथा सञ्जय श्रेष्ठ १६ मिनेट १६.८३ सेकेन्ड समयमा तेस्रो बने । सो स्पर्धाको महिलामा प्रहरीकी राममाया बुढा पहिलो भइन् । राममायाले १८ मिनेट ५६.३५ सेकेन्ड समय निकालिन् । आर्मीकी पूर्णलक्ष्मी (१९ मिनेट १५.४८ सेकेन्ड) दोस्रो तथा आर्मीकै सिर्जना (१९ मिनेट ४०.८५ सेकेन्ड) तेस्रो भए । पुरुष/महिला दुवैमा पहिलो हुनेले १० हजार, दोस्रोले ७ हजार र तेस्रोले ५ हजार नगद पुरस्कार हात पारे । खुलामासहित मिक्स रिलेमा चौथोदेखि दसौँ स्थानमा आउनेलाई नगदबाट पुरस्कृत गरिएको थियो ।
भेट्रान पुरुष ४१ देखि ५० वर्ष उमेर समूहको ५ किलोटिमर दौडमा च्यासलका राकेश महर्जन पहिलो, चापागाउँका नारायण देशार दोस्रो र काठमाडौँका मनिनकुमार महर्जन तेस्रो बने । पुरुष ५१ वर्षमाथि ५ किलोमिटर दौडमा कीर्तिपुरका धर्म महर्जनले स्वर्ण, दाङका भीमबहादुर गुरुङले रजत र काठमाडौँका रेवतबहादुर दाहालले कांस्य हात पारे । भेट्रान महिला ३५ वर्षमाथि ५ किलोमिटर दौडमा एपीएफकी कृष्णेश्वरी सिन्तकला पहिलो, थानकोटकी शर्मिला बस्नेत दोस्रो र बालाजुकी विनीता महर्जन तेस्रो स्थानमा रहे ।
विजयी खेलाडीलाई राष्ट्रिय खेलकुद परिषद् (राखेप) का उपाध्यक्ष शिव कोइराला, राखेपअन्तर्गत प्रशासन विभागका प्रमुख प्रेमबहादुर मल्ललगायतले एक कार्यक्रमबिच पुरस्कृत गरे । सो अवसरमा एथलेटिक्स परिवार नेपालले दक्षिण एसियाली खेलकुदका कीर्तिमानी म्याराथन धावक वैकुण्ठ मानन्धरलाई १ लाख ११ हजार १ सय ११ रुपैयाँ नगदसहित प्रशंसा पत्रबाट सम्मान गरेको थियो । त्यसै अवसरमा एसियाली क्रसकन्ट्री एथलेटिक्सका स्वर्ण विजेता दीपक अधिकारीलाई पनि एथलेटिक्स परिवार नेपाल र वैकुण्ठ मानन्धर खेलकुद नेपालले समान १०–१० हजार नगदसहित प्रशंसा पत्र प्रदान गरी सम्मान गरेको थियो ।
प्रतियोगितामा ६ स्पर्धा २ सय ५० खेलाडीले प्रतिस्पर्धा गरेको एथलेटिक्स परिवार नेपालका अध्यक्ष राजन खत्रीले जनाएका छन् । सबै स्पर्धामा नगद पुरस्कार राखिएको थियो । आयोजकका अनुसार जम्मा २ लाख ८० हजार नगद पुरस्कार वितरण गरियो । मिक्स रिले नेपालमै पहिलोपटक आयोजना गरिएको अध्यक्ष खत्रीले बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
७ लाख ५० हजार घुससहित सिँचाइ कार्यालय सर्लाहीका डिभिजन प्रमुख र अधिकृत पक्राउ
-
शाे बढाउँदै चलचित्र ‘गौँथली’
-
बुद्धले थप्यो नयाँ सिरिजका एटीआर विमान एटीआर–७२–६००
-
युवालाई प्रविधिसँग जोड्दै सामसङ, कोडिङ र प्रोग्रामिङ कोर्स सफलतापूर्वक सम्पन्न
-
रास्वपाद्वारा सांसद पौडेलमाथि भएको प्रहारको भत्र्सना
-
मुगुमा घरमाथि पहिरो खस्दा ३ वर्षीय बालकको मृत्यु
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण