बिहीबार, २० वैशाख २०८१
ताजा लोकप्रिय
देखभाल

२५ वर्ष कटिसकेपछि आउने डन्डिफोर सामान्य होइन

पिम्पलको उपचार फेसवासले हुन्छ भन्ने भ्रम छ ः प्राध्यापक डा. धर्मेन्द्र कर्ण
आइतबार, १५ पुस २०८०

काठमाडौँ । युवायुवतीहरूलाई धेरै सताउने समस्या भनेको डन्डिफोर हो । डन्डिफोरले अनुहारै कुरूप बनाइदिने हुँदा धेरैले तनाव लिने गरेको पनि पाइन्छ । 

डन्डिफोर मात्र नभएर कतिपयलाई चाया, पोतो, सुख्खा छाला, छाला चिलाउने, दुख्ने, पोल्ने, सेतो दाग देखिने समस्याहरू पनि हुन्छन् । यस्ता समस्याहरू देखिएमा सबै जना सजग हुन आवश्यक रहेको प्राध्यापक डा. धर्मेन्द्र कर्ण बताउँछन् । उमेरले आउने डन्डिफोर एकपटक आएर हराएर जान्छ तर आफैँ हराएन भने चिकित्सकको सल्लाह अनुसार डन्डिफोरको उपचार गर्नुपर्ने डा. कर्णको भनाई छ । 

डन्डिफोर हटाउने नाममा जथाभाबी औषधि प्रयोग गर्न नहुने, हातले चलाउने, फुटाउने, कोट्याउनु वा जबरजस्ती निचोर्ने काम गर्न नहुने उनी बताउँछन् । यसले गर्दा अनुहार झन् कुरूप हुन पनि सक्ने उनको जिकिर छ । यसै सन्दर्भमा प्रस्तुत छ रातोपाटीका लागि प्राध्यापक डा. धर्मेन्द्र कर्णसँग गरिएको विशेष कुराकानी :

  • अनुहारमा डन्डिफोर किन र कसरी आउँछ?

१५ देखि २५ वर्षसम्ममा जब शरीरको वृद्धि विकास हुन्छ, त्यतिबेला हाम्रो शरीरमा विभिन्न किसिमको हर्मोनको मात्रा बढ्छ । जसले गर्दा शरीरमा जहाँ सबैभन्दा बढी चिल्लोपना बढाउने ग्रन्थि हुन्छ, त्यहाँ चिल्लोपना बढ्छ । यस्ता ग्रन्थिहरू हाम्रो अनुहार, ढाड र छातीमा पाइन्छ । त्यहाँ चिल्लो निकाल्दा निकाल्दै ग्रन्थिको मुख बन्द हुन्छ, त्यसपछि त्यहाँ खटिराको रूपमा देखापर्छ । जसलाई हामी ब्ल्याक हेड, ह्वाइट हेड भन्छौँ । त्यसलाई उपचार गरिएन भने ब्याकटेरियाको इन्फेक्सन हुन्छ अनि रातो खटिरा देखापर्छ । त्यसलाई पनि उपचार गरिएन भने त्यो पिलोको रूपमा विकसित हुनसक्छ । यी सबै डन्डिफोरका चरण हुन् ।

महिलाहरूमा महिनावारी सुरु भएको उमेरदेखि लगभग २५ वर्षसम्म देखिने डन्डिफोरलाई सामान्य मानिन्छ । तर २५ वर्ष कटिसक्दा पनि डन्डिफोर आइरहेको छ भने त्यसलाई सामान्य मानिँदैन । त्यो भनेको एडल्ट हर्मोन हो । एडल्टमा देखिने डन्डिफोरलाई ‘हर्मोनल पिम्पल’ भनिन्छ । 

केही व्यक्तिलाई डन्डिफोर धेरै आउने र त्यसमा रौँ पनि उम्रिने हुन्छ । यस्ता व्यक्तिहरूलाई महिनावारीमा पनि समस्या हुन्छ । कतिपय व्यक्तिले विभिन्न रोगको औषधीहरू खाइरहेका हुन्छन् जसले डन्डिफोर बढ्नमा मद्दत गर्छ । २५ वर्ष कटिसकेपछि आउने डन्डिफोरलाई छिप्पिइसकेको डन्डिफोर भनिन्छ जसको लागि विशेष प्रकारको उपचार गर्नुपर्ने हुन्छ ।

  • महिनावारी हुँदा वा हुनुभन्दा अघि र पछि किन बढी डन्डिफोर देखिन्छ ?

डन्डिफोरको सम्बन्ध हर्मोनसँग छ । पुरुषहरूको हर्मोनको लेभल वर्षभरि एउटै लेभलमा हुन्छ तर महिलाहरूमा महिनावारीले गर्दा प्रत्येक महिनामा घटबढ भइरहन्छ जसले गर्दा महिनावारी हुँदा वा हुनुभन्दा अघि र पछि डन्डिफोर बढ्छ ।

  • डन्डिफोर पनि कुनै दुख्ने र कुनै नदुख्ने हुन्छ नि !

जुन डन्डिफोर रातो छैन, सेतो वा कालो देखिन्छ भने त्यसलाई ‘कोमिडोनल पिम्पल’ भनिन्छ । त्यस्तो डन्डिफोर दुख्दैन । तर रातो ‘ईन्फ्लामेटरी पिम्पल’ छ भने त्यो चाहिँ दुख्छ । दुख्ने खालको पिम्पलले दाग र खत छोड्छ । त्यसैले रातो खालको डन्डिफोर छ भने तुरुन्तै डाक्टरसँग परामर्श लिनु राम्रो हुन्छ ।

  • डन्डिफोर बढेर घाउ हुने वा शरीरमा सङ्क्रमण फैलने डर चाहिँ हुन्छ कि हुँदैन?

डन्डिफोर आफैँमा रोग होइन । शरीरको वृद्धि विकास राम्ररी भइरहेको छ भने डन्डिफोर आउँछ नै । डन्डिफोरलाई केयर गरियो भने दाग बस्ने, दुख्ने वा पोल्ने हुँदैन । डन्डिफोरलाई कोट्याउने, खिल निकाल्ने गर्नुभयो भने चाहिँ दुख्ने, पोल्ने र पिलो आउने सम्भावना हुन्छ । डन्डिफोर आउने बित्तिकै हामी आत्तिनु हुँदैन । औषधिको सेवनले रातो खालको डन्डिफोर पनि निको हुन्छ ।

  • पिम्पल फुटाउने वा कोट्याउनु कति उपयुक्त हुन्छ ?

कतिपय मानिसहरूले आफ्नो डन्डिफोर त फुटाउँछन् अरूको पनि फुटाउने बानी हुन्छ, जुन साधारण होइन । डन्डिफोरलाई कोट्याउनु भनेको एक किसिमको मानसिक रोग नै हो । आफ्नै शरीरलाई घाउ बनाउनु हुँदैन । पिम्पल फुटाउने वा कोट्याउने गर्नुभयो भने यसले खत बस्छ । त्यो खत सधैँका लागि बस्छ र त्यसको उपचार गर्न हजारौँ रुपैयाँ खर्च हुन्छ । 

  • यसको घरेलु उपचार पनि छ ?

पिम्पललाई फेसवासले उपचार गर्नुपर्छ भन्ने हाम्रो बुझाई छ । तर वास्तवमा फेसवासले मुख धुँदा डन्डिफोर झन् बढ्छ । 

डन्डिफोर आउने व्यक्तिले छालाको स्याहारको बारेमा बुझ्नुपर्छ । अनुहारको ख्याल राख्न सिक्नु पर्छ । अनुहारको केयर गर्नलाई सुतेर उठ्ने बित्तिकै सफा पानीले मुख धुने, यदि फेसवास प्रयोग गर्नु नै छ भने ‘माइल्ड क्लिन्जर’ वा ‘बेबी स्याम्पु’ प्रयोग गर्ने, मुख धोएर तुरुन्तै मोइस्चराइजर लगाउने, आफूलाई मिल्ने र मौसम अनुसारको सनस्क्रिन लगाउने र चिकित्सकको सल्लाह अनुसार डन्डिफोरको उपचार गर्नुपर्छ । डन्डिफोर साबुन, फेसवास, क्लिनजरले निको हुँदैन । बरु यस्तो बेला सामान्य पानीले मात्र मुख धुँदा राम्रो हुन्छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया