अमिताभ बच्चनको स्पष्टीकरण, ‘म बिरामी छैन, मेरो पोस्टलाई गलत बुझियो’
सारांश
- अमिताभ बच्चनले आफ्नो नयाँ ब्लगमार्फत आफू न त आईसीयूमा रहेको न त कुनै सर्जरी नै भएको स्पष्ट पारेका छन्।
- उनले आफ्ना शब्दहरूलाई मानिसहरूले गलत रूपमा बुझेको र उनी अर्जेन्टिनाको हार तथा लियोनेल मेसीको मानसिक अवस्थाको उदाहरण दिइरहेको बताएका छन्।
- बिग बीले उपचारपछिको अवस्थालाई च्याम्पियनको हारसँग तुलना गर्दै शरीरलाई नयाँ अवस्थामा ढाल्नु सबैभन्दा कठिन हुने बताएका छन्।
मुम्बई । मंगलबार अमिताभ बच्चनले एउटा पोस्ट सेयर गर्दै लेखेका थिए, ‘अस्पतालमा, एउटा सर्जरीपछि र आईसीयूमा, अनुभवी डाक्टर र मेडिकल स्टाफको रेखदेखमा, अनि अस्पतालबाट डिस्चार्ज र घर वापसी।’
यो पोस्ट सार्वजनिक भएपछि बिग बी सर्जरीपछि अस्पतालबाट डिस्चार्ज भएको अड्कलबाजी गर्न थालिएको थियो। तर, उनले आफ्नो नयाँ ब्लगमार्फत आफू न त आईसीयूमा रहेको न त कुनै सर्जरी नै भएको स्पष्ट पारेका छन्। आफ्ना शब्दहरूलाई मानिसहरूले गलत रूपमा बुझेको उनले बताएका छन्।
आफ्नो नयाँ ब्लगमा सफाइ दिँदै अमिताभले लेखेका छन्, ‘म बिल्कुल ठिक छु। मेरो पोस्टलाई गलत बुझियो। म त केवल एउटा उदाहरण दिइरहेको थिएँ। ठुलो सर्जरी वा आईसीयूमा बसेपछि जब घर फर्किएर आफ्नो कमजोर वा क्षति पुगेको अवस्थाको सामना गर्नुपर्छ, त्यो समय सबैभन्दा गाह्रो हुन्छ भन्ने मेरो भनाइ थियो। ठीक त्यसैगरी, जब कुनै च्याम्पियन हार्छ, तब उसका लागि सबैभन्दा कठिन लडाइँ आफ्नै भित्री भावनाहरूसँग हुन्छ। मेरो इशारा अर्जेन्टिनाको हार र त्यस समय लियोनेल मेसीको मानसिक अवस्थातर्फ थियो, जसले एउटा च्याम्पियन भएर पनि हारको सामना गर्नुपरेको थियो। तर मानिसहरूले यो कुरा मैले आफ्नै बारेमा भनिरहेको ठाने।’
उनले अगाडि लेखेका छन्, ‘मानिसहरूले यसलाई गलत बुझे। समयक्रमसँगै नयाँ च्याम्पियन आउनेछ भन्ने कुरा हरेक च्याम्पियनले स्वीकार गर्नुपर्छ। अब आफ्नो ठाउँ अरू कसैले लिइसकेको छ भन्ने मान्न कुनै पनि च्याम्पियनका लागि सजिलो हुँदैन। तर जिन्दगीको नियम नै यही हो र यो सधैं भइरहनेछ।’
अन्त्यमा बिग बीले लेखेका छन्, ‘मानौँ, कुनै बिरामी वा समस्याको उपचारका लागि अस्पताल जानुपर्यो। जब अस्पताल गइन्छ, त्यतिबेला शरीर सामान्य अवस्थामा हुन्छ। सर्जरी वा उपचारपछि बिरामी त ठिक हुन्छ, तर त्यसपछि बदलिएको शरीरसँग जिउनु र आफूलाई फेरि सम्हाल्नु सबैभन्दा गाह्रो चरण हुन्छ।’
उपचारपछिको अवस्थाबारे उल्लेख गर्दै उनले थपेका छन्, ‘उपचारपछि शरीर पहिले जस्तो नरहन सक्छ। त्यसको काम गर्ने तरिका बदलिन सक्छ। यो परिवर्तनलाई स्वीकार गर्नु सजिलो हुँदैन। तर हाम्रो शरीर अद्भुत छ। यसले आफूलाई परिस्थितिअनुसार ढाल्छ र फेरि काम गर्न सिक्छ। सायद पहिले जस्तो नहोला, तर पनि यो अगाडि बढ्छ। हारिसकेको च्याम्पियनको मनस्थिति पनि केही यस्तै हुन्छ।’
अमिताभ बच्चनले मंगलबार मध्यराति सामाजिक सञ्जालमा लेखेका थिए, ‘खेल समाप्त भयो, तर काम चलिरहेको छ।’
त्यसको केही बेरपछि उनले ब्लगमा लेखेका थिए, ‘अस्पतालमा, एउटा सर्जरीपछि र आईसीयूमा, अनुभवी डाक्टर र मेडिकल स्टाफको रेखदेखमा, अनि अस्पतालबाट डिस्चार्ज र घर वापसी। यो घर वापसीको समय सबैभन्दा कठिन हुन्छ। शारीरिक, मानसिक र दैनिक जीवनका हिसाबले पनि। यदि तपाईं एउटा सम्मानित च्याम्पियन हुनुहुन्थ्यो र एक दिन हार सामुन्ने आइपुग्यो भने, त्यो जीवनको सबैभन्दा कठिन समय हुन्छ।’
यसअघि मे महिनामा पनि अमिताभ अस्पताल भर्ना भएको खबर आएको थियो। पत्रकार विक्की ललवानीले मे १९ मा आफ्नो युट्युब च्यानलमार्फत अमिताभ मे १६ मा मुम्बईको नानावटी अस्पतालमा भर्ना भएको दाबी गरेका थिए।
तर, परिवारको नजिकको स्रोतसँग बुझ्दा अमिताभ प्रत्येक महिना गरिने नियमित स्वास्थ्य परीक्षणका लागि मे १६ मा नानावटी अस्पताल गएको र लगत्तै घर फर्किएको पुष्टि भएको थियो।
अस्पताल भर्ना भएको खबर फैलाइएकै बिच अमिताभले मे २० मा आफ्नो आधिकारिक एक्स अकाउन्टबाट राति १२:०३ बजे ‘पिलोरी बडुम्बा’ भन्दै अनौठो पोस्ट गरेका थिए।
८३ वर्षीय बिग बीको ७५ प्रतिशत कलेजो खराब भइसकेको छ र उनी २५ प्रतिशत कलेजोका भरमा मात्र बचिरहेका छन्। चलचित्र ‘कुली’ को सुटिङका क्रममा भएको दुर्घटनापछि डाक्टरहरूले उनलाई क्लिनिकली मृत घोषणा गर्नेसम्मको अवस्था आएको थियो।
सन् १९८२ जुलाई २६ मा चलचित्र ‘कुली’ को एक्सन सिन सुटिङका क्रममा सहकलाकार पुनीत इस्सरले हानेको मुक्का लागेर अमिताभ टेबलमा ठोक्किएका थिए। बडी डबलले गर्नुपर्ने उक्त भिडन्तको दृश्य अमिताभ आफैँले खिचाएका थिए।
मुक्का जोडले लागेका कारण टेबलको तिखो कुना अमिताभको पेटमा गाडिएको थियो। बाहिर रगत नदेखिए पनि अमिताभ असह्य पीडामा थिए। अस्पताल लगिए पनि डाक्टरहरूले सही कारण पत्ता लगाउन सकेनन्।
दुई दिनसम्म पेनकिलरको भरमा बसेका अमिताभको दुखाइ कम नभएपछि उनलाई बेन्गलुरुको सेन्ट फिलोमेना अस्पतालमा भर्ना गरियो। एक्सरे गर्दा डायाफ्राममुनि ग्यास देखिएपछि अमिताभको आन्द्रा फुटेको र समयमा उपचार नहुँदा संक्रमण फैलिसकेको पत्ता लाग्यो। चौथो दिन वरिष्ठ सर्जन एच. एस. भाटियाले तुरुन्तै अपरेसन गर्न सुझाव दिए।
अपरेसनअघि अमिताभलाई १०२ डिग्री ज्वरो आएको थियो र मुटुको धडकन प्रतिमिनेट १८० पुगेको थियो। भित्र आन्द्रा फुटेको यस्तो अवस्थामा ३-४ घण्टा बाच्न पनि गाह्रो हुने भए पनि अमिताभ चार दिनसम्म त्यो पीडासँग जुधिरहेका थिए।
चौथो दिन उनी कोमामा गए। दुईवटा अपरेसनपछि उनलाई दुई महिनासम्म अस्पतालमै राखिएको थियो।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सवारी दुर्घटनामा ५ जनाको मृत्यु
-
धान रोपेपछि गोडमेलमा व्यस्त भक्तपुरका किसान, तस्बिरहरू
-
दार्चुलाबाट डा.गोविन्द केसीले भने– माग सम्बोधन नभए भोलिबाट अनसन बस्छु
-
लोकसेवाको पदपूर्तिमै अंकुश लगाउने निर्णयविरुद्ध सडकमा उत्रिए विद्यार्थी
-
चिकित्सा शिक्षा आयोगको निर्देशकका लागि १२ जना सर्टलिस्टमा
-
निर्माणाधीन घरमा दुई जनाको शव फेला
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण