बर्ड फ्लुका बारेमा भ्रम र तथ्य
नेपालका विभिन्न जिल्लाहरूमा विगत केही महिनादेखि बर्ड फ्लुको प्रकोप देखा परिरहेको छ । पशु सेवा विभागको पछिल्लो तथ्याङ्कअनुसार नेपालका ११ जिल्लाका १४० भन्दा बढी स्थानमा बर्ड फ्लु रोग निदान भएको छ । बर्ड फ्लु नियन्त्रण गर्न नेपाल सरकारले करिब ७ लाख ५० हजार पन्छी, १० लाख ५० हजार अन्डा र २०० टन दाना नष्ट गरिसकेको छ ।
बर्ड फ्लु अर्थात् एभियन इन्फ्लुएन्जा (H5N1) कुखुरालगायत अन्य पन्छीमा लाग्ने एक प्रकारको विषाणुजन्य सरुवा रोग हो । यो रोग सङ्क्रमित पन्छी वा पन्छीजन्य उत्पादनबाट मानिसमा सर्ने जुनोटिक (Zoonotic) रोग भएकाले यसलाई विशेष महत्त्वका साथ हेरिन्छ । अहिले सामाजिक सञ्जालदेखि चियाचौतारीसम्म यस रोगलाई लिएर आमनागरिकमा धेरै किसिमका भ्रमहरू फैलिएका छन्, जसले गर्दा अनावश्यक त्रास पैदा भई रोग नदेखिएको स्थानमा समेत कुखुराको अन्डा र मासुको खपत उल्लेखनीय रूपमा घटेको पाइन्छ ।
आउनुहोस्, यस रोगका बारेमा समाजमा व्याप्त प्रमुख भ्रम र तिनका वैज्ञानिक तथ्य बुझौँ :
१. कुखुराको मासु र अन्डा नखाने
भ्रम : बर्ड फ्लु फैलिएको बेला कुखुराको मासु वा अन्डा खाएमा बर्ड फ्लु लाग्छ, त्यसैले कुखुराको मासु र अन्डा खानु हुँदैन ।
तथ्य : बर्ड फ्लुको भाइरस तापप्रति संवेदनशील हुन्छ । कुखुराको मासु र अन्डालाई ७० डिग्री सेल्सियसभन्दा माथिको तापक्रममा राम्ररी पकाएर खाएमा यो भाइरस पूर्ण रूपमा नष्ट हुन्छ । त्यसैले राम्रोसँग पकाएर खाँदा मासु र अन्डाबाट बर्ड फ्लु सर्दैन । तर बर्ड फ्लु लागेको कुखुरा पाल्ने, मासु काट्ने र मासु पकाउने मानिसहरूले आवश्यक सावधानी अपनाउनुपर्छ । कुखुरा फार्ममा काम गर्दा र मासु काट्दा अनिवार्य रूपमा पन्जा, मास्क, बुट र चस्माजस्ता व्यक्तिगत सुरक्षा सामग्रीको प्रयोग गर्नुपर्छ । मरेका वा बिरामी कुखुरालाई खाली हातले नछोई सुरक्षित रूपमा खाल्डो खनेर गाड्नुपर्छ । काँचो मासु चलाएपछि र काम सकिएपछि साबुनपानीले राम्ररी हात धुनुपर्छ । काँचो मासुलाई अन्य पाकेका खानेकुराभन्दा छुट्टै राख्नुपर्छ ।
२. यो रोग मानिसमा सजिलै सर्छ
भ्रम : कोरोना वा सामान्य रुघाखोकीजस्तै बर्ड फ्लु रोग पनि मानिसबाट मानिसमा निकै सजिलै र छिटो सर्छ ।
तथ्य : हालसम्म मानिसमा बर्ड फ्लुको सङ्क्रमण विरलै भएको पाइन्छ । यो भाइरस सङ्क्रमित जीवित वा मरेका कुखुरा, तिनको र्याल वा सुलीसँग प्रत्यक्ष सम्पर्कमा रहने व्यक्तिलाई सर्न सक्छ । हालसम्म मानिसबाट मानिसमा यो रोग सरेको तथ्याङ्क छैन ।
३. शाकाहारी मानिसहरू बर्ड फ्लु रोगबाट पूर्ण सुरक्षित छन्
भ्रम : म मासु वा अन्डा खाँदिनँ, त्यसैले मलाई बर्ड फ्लु लाग्ने सम्भावना हुँदैन ।
तथ्य : बर्ड फ्लु लाग्नुको मुख्य कारण मासु खानु मात्र होइन । यदि कुनै शाकाहारी व्यक्ति सङ्क्रमित कुखुराको ओसारपसारमा संलग्न छ वा सङ्क्रमित वातावरण (सुली, प्वाँख आदि)को प्रत्यक्ष सम्पर्कमा आउँछ भने उसलाई पनि यो रोग लाग्न सक्छ ।
४. सबै कुखुरा र पन्छीमा यो भाइरस हुन्छ
भ्रम : बर्ड फ्लु फैलिएपछि बजारमा पाइने र घरमा पालिएका सबै कुखुरा तथा पन्छीहरू सङ्क्रमित हुन्छन् ।
तथ्य : यो सङ्क्रमण केही निश्चित क्षेत्र वा फार्मका पन्छीहरूमा मात्र सीमित हुन्छ । जस्तै, हालसम्म यो रोग कोसी र बागमती प्रदेशका केही ठाउँहरूमा मात्र देखा परेको छ । व्यावसायिक फार्महरूले जैविक सुरक्षा अपनाउने र सरकारले प्रभावित क्षेत्रका कुखुरा, अन्डा र दाना नष्ट गर्ने हुनाले बजारमा सङ्क्रमित कुखुरा र अन्डा आउन सक्ने सम्भावना न्यून हुन्छ ।
५. बर्ड फ्लुको कुनै उपचार नै छैन र यो रोग लाग्नेबित्तिकै मानिसको मृत्यु हुन्छ
भ्रम : मानिसमा बर्ड फ्लु लागेपछि यसको कुनै उपचार सम्भव छैन र उसको मृत्यु निश्चित छ ।
तथ्य : मानिसमा बर्ड फ्लुको सङ्क्रमण देखिएमा सुरुवाती चरणमै चिकित्सकको सल्लाहमा एन्टिभाइरल औषधिहरूको प्रयोग गरी यो रोगबाट बच्न सकिन्छ । तर समयमा उपचार नपाएमा बर्ड फ्लु घातक हुन सक्छ । धेरैजसो मानिसमा यसको लक्षण सामान्य वा मध्यम खालको मात्र देखिन्छ र समयमै उपचार पाएमा मानिसहरू पूर्ण रूपमा निको हुन्छन् । करिब २९ वर्षदेखि हालसम्म विश्वमा बर्ड फ्लु (H5N1) लागेर मर्ने मानिसको सङ्ख्या पाँच सयभन्दा कम छ ।
६. कुखुराहरू धेरै मर्नेबित्तिकै त्यो बर्ड फ्लु नै हो
भ्रम : कुखुराहरू मर्नेबित्तिकै ती बर्ड फ्लु लागेरै मरेका हुन् ।
तथ्य : कुखुराहरू रानीखेत, गम्बोरोलगायत अन्य रोग र विषाक्तताका कारण पनि धेरै सङ्ख्यामा मर्न सक्छन् । केन्द्रीय पशुपन्छी रोग अन्वेषण प्रयोगशालामा वैज्ञानिक परीक्षण गरेपछि मात्र बर्ड फ्लु हो वा होइन भन्ने पुष्टि हुन्छ ।
७. अन्डाको बोक्राबाट भाइरस सर्दैन, त्यसैले काँचो अन्डा चलाउनु सुरक्षित छ
भ्रम : अन्डाभित्र मात्र भाइरस हुन सक्छ, बाहिरको बोक्रा छोएर केही हुँदैन ।
तथ्य : सङ्क्रमित कुखुराको सुली वा र्याल अन्डाको बोक्रामा टाँसिएको हुन सक्छ । त्यसैले, काँचो अन्डा छोएपछि वा भान्सामा प्रयोग गरेपछि साबुनपानीले अनिवार्य रूपमा हात धुनुपर्छ, नत्र सङ्क्रमण फैलन सक्छ ।
८. सबै इन्फ्लुएन्जाहरू बर्ड फ्लु नै हुन्
भ्रम : सबै प्रकारका फ्लु वा इन्फ्लुएन्जा भाइरसहरू बर्ड फ्लु नै हुन् र यी सबै पन्छीबाट मात्र फैलिन्छन् ।
तथ्य : इन्फ्लुएन्जा एउटा ठुलो भाइरसको परिवार हो, जसमा धेरै प्रकारका उपप्रजातिहरू हुन्छन् । कुखुरामा देखिने एभियन इन्फ्लुएन्जा पनि मुख्यतया दुई प्रकारको हुन्छ । कुखुरामा देखिने H5 र H7 एभियन इन्फ्लुएन्जा जुनोटिक प्रकारको हुन्छ, जसलाई बर्ड फ्लुको नामले चिनिन्छ भने H9 एभियन इन्फ्लुएन्जा मानिसमा सर्दैन । हामीलाई सामान्य मौसम परिवर्तन हुँदा लाग्ने रुघाखोकी र पन्छीमा लाग्ने बर्ड फ्लु फरक–फरक भाइरसले लगाउने रोग हुन् । त्यसैले, सबै इन्फ्लुएन्जा बर्ड फ्लु होइनन् ।
९. चिसो मौसममा मात्र बर्ड फ्लु फैलिन्छ
भ्रम : बर्ड फ्लु जाडो महिनाको रोग हो, गर्मी सुरु भएपछि यो पूर्ण रूपमा हराउँछ र जोखिम हुँदैन ।
तथ्य : चिसो मौसममा भाइरस बढी सक्रिय हुने र चराहरूको बसाइसराइ हुने हुनाले यो बेला प्रकोप बढी देखिनु स्वाभाविक हो । तथापि, नेपालमा बर्ड फ्लु प्रकोपको तथ्याङ्क हेर्दा यो रोग कुनै पनि महिनामा देखा पर्न सक्छ ।
पशु चिकित्सक, पशुपन्छी रोग अन्वेषण प्रयोगशाला, पोखरा
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
कांग्रेसले मुख्यमन्त्री कँडेलविरूद्ध अविश्वास प्रस्तावको पक्षमा मतदान गर्ने
-
साउन २९ गते कांग्रेस संस्थापन इतरपक्षले बोलायो राष्ट्रिय भेला
-
बंगलादेशमा दादुराबाट थप ६ जनाको मृत्यु
-
एनआरएनए पूर्वअध्यक्ष शर्माद्वारा भूमि प्रशासन कार्यालय चितवनको शौचालय पुनर्निर्माण गरेर हस्तान्तरण
-
एमालेका मन्त्रीहरूको राजीनामापछि अल्पमतमा बागमती सरकार
-
आन्दोलनमा ध्वस्त भएका सिंहदरबार र सर्वोच्च अदालत कसरी हुँदैछ पुनर्निर्माण ?
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण