शुक्रबार, २८ वैशाख २०८१
ताजा लोकप्रिय
खेलकुद

वर्षभर सर्वाधिक चर्चामा रहेका मेस्सीको पाँच अविस्मरणीय क्षण

आइतबार, १५ पुस २०८०, १६ : ५५
आइतबार, १५ पुस २०८०

काठमाडौँ । सम्भवतः सन् २०२३ मा विश्व खेलकुदमा सबैभन्दा बढी चर्चामा रहेका खेलाडी हुन्, अर्जेन्टिनी स्टार लियोनल मेस्सी । समकालीन विश्व फुटबलका यी महान् खेलाडी विभिन्न कारणले वर्षभरि नै चर्चामा रहे ।

३६ वर्षीय यी अर्जेन्टिनी स्ट्राइकर अप्रत्यासित निर्णय लिँदै यसै वर्ष अमेरिकी व्यावसायिक लिग खेल्न अमेरिका पुगे । उनी अमेरिकी क्लब इन्टर मियामीमा आबद्ध हुनुअघि पनि लामो समय विश्व फुटबलमा चर्चाको पात्र बनिरहे ।

फ्रान्सेली क्लब पेरिस सेन्ट जर्मन (पीएसजी) छाडेपछि धेरैले मेस्सी पुनः आफ्नो पुरानै क्लब बार्सिलोना फर्कने लख काटेका थिए । बार्सिलोनाले पनि उनलाई भित्र्याउन सक्दो प्रयास गरेको थियो । अर्कोतिर, मेस्सी साउदी अरेबियाको व्यावसायिक लिगसँग जोडिने अनुमान पनि धेरैले लगाए ।

साउदी क्लबहरूले पटक–पटक मेस्सीका प्रतिनिधिसँग छलफल पनि गरे । तर, धेरैको अनुमान विपरीत मेस्सी खासै चर्चामा नरहेको मेजर लिग सकर (एमएलएस) खेल्न अमेरिका पुगे । यसका अतिरिक्त यही वर्ष उनले कीर्तिमानी रूपमा आठौँ पटक बालोन डी’ओरको उपाधि पनि जिते ।

यसदेखि बाहेक पनि विभिन्न कारणले मेस्सी यो वर्ष सधैँ चर्चाको शिखरमा रहे । विश्व खेलकुदमा विभिन्न तिता–मिठा छापहरू छाडेर सन् २०२३ हामीसँग बिदा हुँदै गर्दा यो वर्ष अर्जेन्टिनाका यी महान् खेलाडीको खेल जीवनसँग जोडिएका प्रमुख पाँच घटनाको विषयमा यहाँ चर्चा गर्न खोजिएको छ ।

  • आठ सय गोलको कोशेढुंगा

फाइनलमा फ्रान्सलाई हराउँदै कतार विश्वकपको उपाधि चुमेपछि अर्जेन्टिनी राष्ट्रिय फुटबल टोलीले पहिलो पटक पानामासँग मैत्रीपूर्ण खेल खेलेको थियो । सन् २०२३ को मार्च अन्तिम साता घरेलु मैदानमा खेलिएको उक्त अन्तर्राष्ट्रिय मैत्रीपूर्ण खेलमा अर्जेन्टिनाले पानामालाई २–० गोलले हराएको थियो ।

8jnh6il6gp1n1cm8oi2uuct73

हजारौँ घरेलु समर्थकमाझ ब्युनस एयर्समा खेलिएको उक्त मैत्रीपूर्ण खेलमा अर्जेन्टिनाका लागि कप्तान लियोनल मेसीले पनि एक गोल गरेका थिए । अर्जेन्टिनाका लागि खेलको ७८औँ मिनेटमा थिआगो अल्माडाले पहिलो गोल गरेका थिए ।

निर्धारित समयको खेल सकिनुभन्दा एक मिनेटअघि मेस्सीले टोलीका लागि दोस्रो गोल थपेका थिए । मेसीले गरेको त्यो गोल उनले आफ्नो सक्रिय खेल जीवनमा गरेको आठ सयौँ गोल थियो । मेस्सीले ८९औँ मिनेटमा फ्रिकिकमार्फत त्यो गोल गरेका थिए ।

त्यो खेलमा पानामालाई हराएपछि अर्जेन्टिनाका समर्थकले आफ्ना खेलाडीहरूसँग विश्वकप जितेको खुसीयाली पनि मनाएका थिए । अर्जेन्टिनी टोलीले मेस्सीकै कप्तानीमा कतार विश्वकपको उपाधि चुमेको थियो ।

  • ‘डेब्यू’ खेलमै उत्कृष्ट फ्रिकिक गोल

मेस्सी फ्रान्सेली क्लब पेरिस सेन्ट जर्मन (पीएसजी) छाडेर अमेरिकी क्लब इन्टर मियामीमा आबद्ध भएका थिए । इन्टर मियामीमा आबद्ध हुनुअघि ३५ वर्षीय मेस्सीले युरोपकै चर्चित क्लबहरूबाट व्यावसायिक फुटबल खेलेका थिए ।

skysports-messi-lionel-inter_6226518

बार्सिलोनाका दुई स्टार खेलाडी मेस्सी र सर्जियो बुस्केट्सलाई सन् २०२३ को जुलाई १६ तारिखमा इन्टर मियामीमा औपचारिक रूपमा स्वागत गरिएको थियो । त्यसको केही दिनपछि नै मेस्सीले इन्टर मियामीबाट औपचारिक रूपमा ‘डेब्यू’ खेल खेलेका थिए ।

लिग्स कपअन्तर्गत खेलिएको क्रुज अजुलविरुद्धको उक्त खेलमा मेस्सी परिवर्तित खेलाडीका रूपमा मैदानभित्र प्रवेश गरेका थिए । गत जुलाईमा खेलिएको त्यो खेलमा मेस्सीले गरेको निर्णायक गोलमा इन्टर मियामी विजयी भएको थियो । मेस्सीले फ्रिकिकमार्फत गरेको त्यो गोल निकै उत्कृष्ट थियो । उनले गरेको त्यो गोलले लामो समयसम्म चर्चा पाएको थियो ।

  • मियामीलाई ऐतिहासिक उपाधि

मेस्सीको सक्रिय खेलजीवनभन्दा पनि छोटो इतिहास बोकेको क्लब हो, इन्टर मियामी । मेस्सीले अर्जेन्टिनी राष्ट्रिय टोलीबाट खेल्न थालेको १८ वर्ष पुगिसकेको छ । उनले सिनियर टोलीबाट व्यावसायिक लिग खेल्न थालेको त १९ वर्ष पुरा भइसकेको छ ।

Lionel_Messi_Inter_Miami_2023_(6)

तर, इन्टर मियामीको स्थापना नै सन् २०१८ को जनवरी २९ तारिखमा भएको हो । मेस्सी आबद्ध हुनुअघि इन्टर मियामीले कुनै प्रतियोगिताको उपाधि चुम्नु त टाढाको कुरा कुनै प्रतियोगितामा महत्त्वपूर्ण जितसम्म हात पार्न सकेको थिएन ।

तर, आफू क्लबमा आबद्ध भएको पहिलो सिजन नै मेस्सीले आफ्नो कप्तानीमा इन्टर मियामीलाई लिग्स कपको उपाधि चुमाएर व्यापक चर्चा बटुले । उनले इन्टर मियामीमात्र होइन, अमेरिकी ब्यवसायीक फुटबललाई नै विश्वब्यापी रूपमा चर्चाको शिखरमा पुर्‍याए । इन्टर मियामीलाई लिग्स कपको उपाधि दिलाउने क्रममा उनले पाँच खेलमा आठ गोल गरेका थिए ।

  • अर्जेन्टिनासँग ब्राजिलको ऐतिहासिक हार

विश्व क्रिकेटमा भारत र पाकिस्तानबिचको खेलले जति महत्त्व पाउने गरेको छ त्योभन्दा ठुलो महत्त्व विश्व फुटबलमा अर्जेन्टिना र ब्राजिलबिचको खेलले पाउने गरेको छ । पछिल्लो पटक गत नोभेम्बरमा अर्जेन्टिना र ब्राजिलबिच विश्वकप फुटबलको छनोट खेल भएको थियो ।

0d999f7c67d7c2d77154610b5a8cdfc1f08872ed06a96304dabeac706f589b38-1040x572

उक्त खेलमा अर्जेन्टिनाले ब्राजिललाई १–० गोलले हराएको थियो । उक्त खेल ब्राजिलको रियो दि जेनेरियोस्थित माराकाना रंगशालामा खेलिएको थियो । ब्राजिलका लागि अर्जेन्टिनासँगको त्यो हार निकै निराशाजनक थियो ।

त्यसअघि आफ्नो घरेलु मैदानमा खेलिएको विश्वकप फुटबलको छनोट खेलमा ब्राजिलको टोली कहिल्यै पराजित भएको थिएन । ब्राजिलविरुद्धको त्यो खेलमा मेस्सीले उत्कृष्ट प्रदर्शन गरेका थिए । यद्यपि, सोही खेलपछि मेस्सीको मांसपेशी सम्बन्धी समस्या पनि बल्झिएको थियो ।

  • आठौँ पटक बालोन डी’ओर अवार्ड

मेस्सीले सन् २०२३ मै अर्को महत्त्वपूर्ण कीर्तिमान पनि बनाए । आफ्नै कीर्तिमान तोडेर उनले आठौँ पटक बालोन डी’ओर अवार्ड जिते । गत वर्ष कतारमा भएको विश्वकपमा अर्जेन्टिनालाई उपाधि जिताउन नेतृत्वदायी भूमिका निर्वाह गरेका मेस्सीलाई पेरिसमा आयोजित समारोहमा बालोन डी’ओर अवार्ड  प्रदान गरिएको थियो ।

Lionel_Messi_Ballon_d_Or_2023

मेस्सीले म्यानचेस्टर सिटीका फरवार्ड अर्लिङ हल्यान्डलाई पछि पार्दै कीर्तिमानी बालोन डी’ओर अवार्ड जित्न सफल भएका थिए । सन् २०२३ को बालोन डी’ओर अवार्डमा फ्रान्सका स्ट्राइकर किलियान एमबाप्पे तेस्रो भएका थिए ।

मेस्सीले अब अरू खेलाडीभन्दा तीनवटा बढी बालोन डी’ओर अवार्ड जितेका छन् । उनीपछि समकालीन विश्व फुटबलका अर्का महान् खेलाडी क्रिस्टियानो रोनाल्डोले पाँच पटक बालोन डी’ओर अवार्ड जितेका छन् । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप