सोमबार, ०७ जेठ २०८१
ताजा लोकप्रिय

पूर्व आईजीपी शाहको सम्झनामा बालकुमारीसँग मिल्दोजुल्दो कैलालीको त्यो घटना

तत्कालीन मन्त्री रामचन्द्र पौडेलले नमान्दा गएको थियो दुई जनाको ज्यान
मङ्गलबार, १७ पुस २०८०, १७ : ४०
मङ्गलबार, १७ पुस २०८०

काठमाडौँ । रोजगार अनुमति प्रणाली (ईपिएस) मार्फत कोरियामा काम गर्न जान खोज्नेहरू सुरक्षाकर्मीको दमनमा मारिनु दुःख भएको भन्दै ललितपुरको बालकुमारीमा भएको घट्नाको चौतर्फी आलोचना भइरहेको छ । बालकुमारी घटनाको एउटा कारकका रुपमा भौतिक पूर्वाधार तथा यातायात मन्त्री प्रकाश ज्वालालाई चित्रित गरिएको छ । घटनास्थलमा बा.२ झ ५८६१ नम्बरको गाडीमा मन्त्री ज्वालालाई देखेपछि प्रदर्शनकारी थप उत्तेजित भएको विष्लेषण गरिएको छ ।

बालकुमारीसँग मिल्दोजुल्दो घटना पूर्व आईजीपी रवीन्द्र प्रताप शाहले सम्झिएका छन् । उनले ‘भीआईपी’को ढिपीका कारण अनाहकमा सर्वसाधारणको ज्यान जाने कुरा सामाजिक सञ्जाल ‘फेसबुक’मा लामो स्ट्याटस लेखेर स्मरण गराएका छन् ।

ललितपुरको बालकुमारीमा पुस १३ मा भएको प्रदर्शनमा दुई जना युवक मारिए । प्रहरीले प्रहार गरेको गोली अछामका वीरेन्द्र शाहको पेटमा लागेको छ । दैलेख घर भएका सुजन रावतको छातीमा नीलडाम भेटिएको छ । सुजनलाई गोली नलागेको तर, भागदौडमा मृत्यु भएको हुनसक्ने सुरक्षा अधिकारीहरू बताउँछन् ।

बालकुमारीमा मन्त्री ज्वाला गएजस्तै ३ दशक अघि तत्कालीन स्थानीय विकासमन्त्री रामचन्द्र पौडेलको जिद्धीका कारण कैलाकीको लम्कीमा दुई जना आन्दोलनकारीको मृत्यु भएको कुरा शाहले खुलाएका हुन् । उनी कैलालीका डिएसपी थिए । २०४६ को जनआन्दोलनले प्रजातन्त्र पुनर्बहाली गरेपछि २०४९–०५० तिर रामचन्द्र पौडेल स्थानीय विकासमन्त्री भए ।

चैत अन्तिम साता जनमोर्चाले जनआन्दोलन दिवस मनाउन नेपाल बन्द आयोजना गरेको थियो । रामचन्द्र पौडेल धनगढीमा थिए । चैत २४ मा नेपाल बन्दकै बिचमा पौडेलको नेपालगञ्ज विमानस्थलमा जानुपर्ने कार्यक्रम तय भयो । पौडेललाई आफू र प्रमुख जिल्ला अधिकारीले भेटेर भोलिपल्ट नेपालगञ्ज जान आग्रह गरेको तर, नमानेको पूर्व आईजीपी शाहले बताएका छन् । उनले भनेका छन्–‘बाटोमा अप्रिय घटना हुनसक्छ भोलि सबेरै नेपालगञ्ज लाग्न पाए हुन्थ्यो भनी अनुरोध गरियो ।’

पौडेलको भनाई उद्धृत गर्दै शाहले लेखेका छन्–‘भोली क्याबिनेट छ, म आज जसरी पनि नेपालगञ्ज पुग्नैपर्छ, बाँकी कुरा तपाईंहरु मिलाउनुस् ।’

पौडेलले भनेपछि प्रजिअ र रवीन्द्र प्रताप शाह मन्त्रीलाई लिएर हिँडे । लम्कीमा आन्दोलनकारीले पर्खाल लगाएर बाटो अवरुद्ध गरेका थिए । पर्खाल हटाउँदा आन्दोलनकारी र प्रहरीको बिचमा झडप सुरु भयो । फिल्डमा सँगै रहेका प्रजिअले गोली चलाउन आदेश गरे । आन्दोलनकारीले चारैतिरबाट ढुङ्गा हानिरहे । प्रमुख जिल्ला अधिकारीको गाडीको सिसा फुट्यो । प्रजिअले भने–‘अरू उपाय छैन, ठोक्नुस् ।’

दुई जना आन्दोलनकारीलाई प्रहरीले चलाएको गोली लाग्यो । ती दुई जनालाई सँगै गाडीमा राखेर डिएसपी र सिडिओले मन्त्रीको सवारी चलाए । दुई जनाको मृत्यु भयो । कैलालीको चिसापानी पुगेर पौडेलले सोधे–‘हत्तेरी, साह्रै नमज्जाको घटना भयो, कत्ति जना मरे ?’

सो घटना बालकुमारीसँग मिल्दोजुल्दो छ । शाहले लेखेको छन्–‘यस्ता घटनाबाट अरूले सिके त हो, तर हामीमा अहम् छ ज्ञानमा पूर्ण छौँ । आफू सिक्दैनौँ अरूलाई मात्र सिकाउन खोज्छौँ ।’ 

Rabindra PratapSTATUS 9.17 (2080)

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप