शनिबार, १५ वैशाख २०८१
ताजा लोकप्रिय
दुर्घटना

लुम्बिनी प्रदेश : हरेक दिन ४ वटा सवारी दुर्घटना, १ जनाको मृत्यु

सबैभन्दा धेरै दुर्घटना हुने जिल्लामा रुपन्देही
बिहीबार, १९ पुस २०८०, ०९ : ५७
बिहीबार, १९ पुस २०८०

बुटवल । सिद्धार्थ राजमार्गअन्तर्गत बुटवलको मिलनचोकमा मंगलबार दिउँसो बसको ठक्करबाट भारत उत्तर प्रदेश महाराजगन्जका ४७ वर्षीय दिनेश सिंहको मृत्यु भयो । बुटवलबाट भैरहवातर्फ जाँदै गरेको लु १ ख ३३७४ नम्बरको बसले साइकलयात्री सिंहलाई ठक्कर दिँदा घटनास्थलमै मृत्यु भएको नेपाल प्रहरी राजमार्ग सुरक्षा तथा ट्राफिक व्यवस्थापन कार्यालय बुटवलले जनाएको छ ।

त्यस्तै सोमबार दिउँसो दाङको तुलसीपुरबाट घोराहीतर्फ जाँदै गरेको भे १ ख ३६९७ नं. को बसले दुधरास विद्यालयको कक्षा ३ मा अध्ययनरत ८ वर्षीय उत्तम चौधरीलाई ठक्कर दिँदा उनको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय दाङले जनाएको छ ।

यसअघि गत मङ्सिर ३० मा दाङको घोराही–तुलसीपुर सडकको झारबैरामा टिप्परको ठक्करबाट मोटरसाइलकमा सवार प्युठान झिम्रुकका विशाल जिसी र सागर केसीको मृत्यु भएको थिए ।  केही दिनअघि रुपन्देहीमा तिलोत्तमा नगरपालिकास्थित ड्राइभर टोलमा ट्रकको ठक्करबाट मोटरसाइकलमा सवार स्थानीय सहकारी अभियन्ता माधवलाल देवकोटा र यादा क्षेत्रीको मृत्यु भएको थियो । 

माथिका घटनाका चालक र सवारीलाई प्रहरीले नियन्त्रणमा लिएर अनुसन्धान सुरु गरिसकेको छ । 

लुम्बिनी प्रदेशका १२ वटा जिल्लामा दैनिक जसो सवारी दुर्घटना हुने गरेका छन् । प्रहरीको तथ्याङ्क हेर्दा लुम्बिनी प्रदेशमा एक दिनमा औसतमा ४ वटाभन्दा धेरै सवारी दुर्घटना हुने गरेका छन् भने हरेक दिन कम्तीमा एक जनाले ज्यान गुमाउँछन् ।

राजमार्ग सुरक्षा तथा ट्राफिक व्यवस्थापन कार्यालय बुटवलका अनुसार पछिल्लो पाँच महिनाको तथ्याङ्क अनुसार लुम्बिनीमा सरदर ३० दिनमा ३३ जनाको दरले ज्यान गुमाएका छन् । दैनिक ५ जना यात्रु चोटपटक लागेर अस्पताल पुग्ने गरेको छन् । 

दुर्घटनामा ज्यान गुमाएका र घाइतेका परिवारले त्यसपछि भोग्नुपर्ने मानसिक र आर्थिक समस्यालाई केलाउने हो भने स्थिति झन् भयावह बनेको छ ।

लुम्बिनी प्रदेशमा चालु आर्थिक वर्षका पाँच महिनामा(साउन–मङ्सिरसम्म) मात्रै ६८३ वटा सवारी दुर्घटना भएका छन् । पाँच महिनामा १ सय ६८ जनाले ज्यान गुमाएका छन् भने ७ सय २५ जना घाइते भएका छन् । घाइतेमध्ये ४५५ जना गम्भीर अवस्थाका घाइते हुन् । 

गत आर्थिक वर्षमा १ हजार २ वटा सवारी दुर्घटनामा ४६२ जनाको ज्यान गएको थियो । सबैभन्दा धेरै दुर्घटना हुने जिल्लामा रुपन्देही रहेको छ । त्यसपछि दाङ र तेस्रोमा कपिलवस्तु जिल्ला रहेको छ । पहाडी जिल्लाहरूमा तुलनात्मकता रूपमा कम दुर्घटना भएको राजमार्ग सुरक्षा तथा ट्राफिक व्यवस्थापन कार्यालय बुटवलका प्रमुख एसपी कृष्ण प्रसाईंले बताए । 

मोटरसाइकल धेरै दुर्घटना : पाँच महिनामा ४ सयभन्दा धेरै  

लुम्बिनी प्रदेशमा सबैभन्दा धेरै मोटरसाइकल दुर्घटना भएका छन् । पाँच महिनामा ४१४ वटा मोटरसाइकल दुर्घटनामा पर्दा ५१ वटा जिप/कार, ४८ वटा बस, ३२ वटा ट्रक/ट्याङ्कर दुर्घटना भएका छन् । त्यसैगरी ३२ वटा ट्याक्टर, ५५ वटा साइकल तथा साना सवारी, २३ वटा टेम्पो, १२ वटा माइक्रो १२ र १० वटा टिप्पर दुर्घटना भएका छन् । 

प्रहरीको अनुसार खाली, फराकिलो र सुविधा सम्पन्न सडकमा सामान्य गतिमा गुडिरहेको मोटरसाइकललाई तीव्र गतिमा हुइँकिएको सवारीले ठक्कर दिने गरेका घटनाहरू धेरै रहेका छन् । टिप्पर, ट्रक र बसले पछाडिबाट हानेर धेरै मोटरसाइकल दुर्घटनामा परेका छन् । यस्तै कम उमेर युवाहरूले मोटरसाइकल तीव्र गतिमा हाँक्दा पनि दुर्घटना भएका छन् ।

राजमार्ग सुरक्षा तथा ट्राफिक व्यवस्थापन कार्यालय बुटवलका प्रमुख एसपी कृष्ण प्रसाईंले सवारी दुर्घटनाका विभिन्न कारणहरू रहे पनि अधिकांश सवारी दुर्घटना चालककै लापरबाहीले भएको प्रहरी अनुसन्धानले देखाएको बताए । उनका अनुसार ‘तीव्र गति, रङ साइडबाट ओभरटेक, ट्राफिक नियम उल्लङ्घन, मापसेजस्ता चालकका लापरबाहीले दुर्घटना धेरै भएका छन् । कतिपय अवस्था सडक कारणले पनि दुर्घटना भएको छन् । स्तरहीन सडक, छाडा चौपाया, जथाभाबी पार्किङ आदिले पनि दुर्घटनाको जोखिम बढाएको उनले बताए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

तेजेन्द्र के.सी.
तेजेन्द्र के.सी.

केसी रातोपाटीका प्रदेश नम्बर ५ का संयोजक हुन् । 

लेखकबाट थप