शनिबार, १० जेठ २०८२
ताजा लोकप्रिय

कब्जियतले दुःख दियो ? यस्ता छन् सफल आयुर्वेदिक उपचार विधि

बुधबार, २८ चैत २०७४, १० : ३५
बुधबार, २८ चैत २०७४

कब्जियत पाचन प्रक्रियामा गडबडीका कारण हुने एक रोग हो । मल निष्कासनको स्वभाविक आवृत्तिमा ढिलाई हुनु, सरल तरिकाले मल त्याग गर्न नसकी बल प्रयोग गर्नुपर्ने अवस्था आउनु वा दैनिक एकपटक पनि सजिलोसँग दिसा गर्न नसक्ने अवस्थालाई कब्जियत भनिन्छ । कब्जियत लामो समय रहिरह्यो भने मलको विषाक्त प्रभावले सम्पूर्ण शरिरलाई दुषित पार्दै पाचन प्रक्रियालाई तहसनहस बनाइदिन्छ त्यसकारण शरिर स्वस्थ रहन पाचन प्रणाली विकाररहित हुन आवश्यक छ । 
कब्जियतका कारणः
कम पानी पिउनु कब्जियतको सबैभन्दा मुख्य कारण हो । कब्जियत नयाँ वा पुरानो जे भए पनि उपचारका साथै पर्याप्त मात्रामा पानी पिउने बानी बसालौं । 

थोरै दुखाई हुँदा पनि औषधी खाइहाल्ने बानीले पनि पाचन क्रियालाई असर पुर्याउँछ । त्यसकारण चिकित्सकको सल्लाह बिना कुनै पनि औषधीको सेवन नगर्नुहोस् । 

चिसो खानेकुराको अत्यधिक सेवनले पनि बिहान पेट सफा हुन गाह्रो हुन्छ जस्तै कोल्ड ड्रिङ्क्स, आइसक्रिम, पेस्ट्री, चकलेट इत्यादि । 

फास्ट फूड र प्याक गरिएको खानेकुरामा बोसोको मात्रा धेरै हुने भएकाले यसको अत्यधिक सेवनले पाचन क्रियामा नकारात्मक असर पुर्याउने गर्दछ । कब्जियतबाट प्रभावितले यस्तो खानेकुरा खानबाट बच्नुपर्छ । 

धेरै चिया वा कफी पिउनेहरुलाई पनि कब्जियतको समस्या देखापर्छ । 

बिहान दिसा गर्न जान अल्छी गर्नु, कम खाना खाँदा मल पनि कम बन्नु र भोक नलाग्नाले पनि कब्जिय हुने गर्दछ । 

शारिरिक क्रियाकलाप नगर्नेहरुको शरिरको मेटाबोलिजम स्लो हुन थाल्छ जसका कारण खाना सही तरिकाले पच्दैन र कब्जियतजस्तो रोग लाग्न थाल्छ । 

कब्जियतको आयुर्वेदिक औषधी र घरेलु विधी
कब्जियतका लागि धेरैले चूर्णको प्रयोग गर्दछन् जुन वास्तवमा सही तरिका होइन । कब्जियतको समस्याबाट पार पाउन चाहनुहुन्छ भने सबैभन्दा पहिले यसको कारण थाहा पाएर यसबाट बच्नुपर्छ । यसका साथै तपाईं चाँडै पेट सफा गर्नका लागि घरेलु उपाय र उपचार विधी अपनाउन सक्नुहुन्छ । 

१. सुत्नुअघि राती तातो दुधमा एक चम्चा घ्यू हालेर पिउनुहोस् । दुधमा चीनीको साटो मह वा मिश्री प्रयोग गर्नुहोस् । राती यो उपाय अपनाउँदा बिहान मज्जाले पेट सफा हुन्छ । 

२. तुरुन्त पेट सफा गर्न कागती पानीले पनि सहयोग पुर्याउँछ । एक गिलास मनतातो पानीमा एउटा कागती निचोरेर पिउनुहोस् । राती सुत्नुपूर्व यसो गर्दा भोली बिहान तपाईंको पेट हल्का हुन्छ । 

३. चार चम्चा सौफ एक गिलास पानीमा उमाल्नुहोस् र पानी चिसो भएपछि त्यसलाई छानेर पिउनुहोस् । यसो गर्दा कब्जियतबाट राहत पाउनुहुनेछ । 

पुरानो कब्जियतका लागिः
२५ ग्राम किशमिशलाई रातभरी पानीमा भिजाउनुहोस् र नियमित बिहान सेवन गर्नुहोस् । जतिसुकै पुरानो कब्जियत भएपनि यसो गर्दा राहत पाइन्छ । 
 

तुरुन्त पेट सफा गर्नका लागि के खाने ?
बिहान खाली पेटमा स्याउ खाँदा यो रोगबाट चाँडै नै आराम मिल्छ । 

प्रत्येक दिन काँचो पालुङ्गोको रस दुई पटक पिउँदा केही दिनमा नै कब्जियत ठिक हुन्छ । 

कब्जियतबाट ग्रसित व्यक्तिले फलको अत्यधिक सेवन गर्नुपर्छ । मेवा, स्याउ, मौसम, नरिवल, सुन्तला, अंजिर, काँक्रो, गाजरलगायतका फलफूल खानुपर्छ ।

सागसब्जीको रस, ताजा फलफूलको रस, नरिवलको पानीले कब्जियतलाई निकै फाइदा पुर्याउँछ । 

कब्जियत ठिक गर्नका लागि आहारमा हरियो सागसब्जी र आँटाको रोटी समावेश गर्नुपर्छ । 

सुत्नुअघि तामाको भाँडामा पानी राख्नुहोस् र बिहान खाली पेटमा यो पिउनुहोस् र टहल्नका लागि निस्कनुहोस् । घर फर्किएपछि दिसा गर्न जानुहोस्, तपाईंको पेट पूर्ण रुपमा सफा हुन्छ । 
कब्जियतबाट छुटकारा पाउनका लागि प्रतिदिन तीनदेखि चार लिटर पानी पिउनुहोस् । 

कब्जियतबाट बच्ने उपायः
आफ्नो आहारमा यस्ता खाना समावेश गर्नुहोस् जसलाई पचाउन शरिरले धेरै मेहनत गर्न नपरोस् । यसका लागि खानालाई मज्जाले चपाएर खानुहोस् । 

बिहान शौचालय जान अल्छी गर्दा पनि कब्जियतको समस्या देखा पर्न थाल्छ । केही मानिसहरु हतार भइसक्दा पनि शौचालय जाँदैनन् जसका कारण दिसा पेटमा नै सुक्न थाल्छ र कब्जियत हुने गर्दछ । 
कसैलाई पुरानो कब्जियत छ भने घरेलु उपायका साथै खानपिनमा विशेष ध्यान दिनुपर्ने हुन्छ । राम्रोसँग पेट सफा भएको छैन भने तारेको भुटेको खानेकुरा नखानुहोस् । साथै मैदा, बेसन र मसालेदार भोजन पनि नखानुहोस् ।

बेलुकाको खाना सुत्नुभन्दा दुई वा तीन घण्टा अघि नै गर्नुहोस् । 

खाना खानु एक घण्टा अघि कम्तीमा एक गिलास पानी पिउनुहोस् । 

आफ्नो खानामा फाइबरयुक्त खानेकुरा समावेश गर्नुहोस् । 

खाना खाने बेला वा खाएको कम्तीमा आधा घण्टाभित्र पानी नपिउनुहोस् । 
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप