शनिबार, १० जेठ २०८२
ताजा लोकप्रिय

भोजपुरी भाषा सिकाउँदै वीरगञ्ज महानगर

शुक्रबार, ०९ जेठ २०८२, २२ : ४४
शुक्रबार, ०९ जेठ २०८२

वीरगञ्ज  । वीरगञ्ज महानगरले यहाँका सामुदायिक विद्यालयमा भोजपुरी भाषा सिकाउने अभियान थालेको गरेको छ । वीरगञ्ज महानगर भोजपुरी प्रतिष्ठानले आज यहाँको कन्या माविका विद्यार्थीलाई लक्षित गर्दै ‘आपन भाषा आपन पहचान’ अभियान थालेको हो ।

प्रतिष्ठानका सल्लाहकार प्रमोद पाण्डेले विद्यालय तहमा अध्ययनरत विद्यार्थीलाई लक्षित गरेर भोजपुरी भाषा, संस्कृति सिकाउने, संरक्षण र प्रवर्द्धन गर्ने उद्देश्यले अभियान सञ्चालन गरिएको जानकारी दिए । 

‘विद्यालयस्तरबाट आफ्नो मातृभाषाको विकास, संरक्षण र प्रवर्द्धनमा ध्यान दिन जरुरी भएकाले ‘आपन भाषा आपन पहचान’ अभियान थालेका हौँ’, उनले भने, ‘मधेसमा भोजपुरी भाषाको संरक्षण, प्रचलन र मातृभाषाको विकासमा सबैले ध्यान दिन जरुरी भइसकेको छ ।’

प्रतिष्ठानका सदस्य मुकेश महतो नुनियाले भोजपुरी लोक चित्रकलाको महत्त्व, यसको संरक्षण र प्रवर्द्धन गर्ने उपायहरूका बारेमा जानकारी गराएका थिए । उनले विद्यार्थीलाई चित्र कोर्ने सजिलो उपायका बारेमा प्रयोगात्मक ज्ञान पनि दिए ।

कवि एवं गीतकार आमोद गुप्ताले भोजपुरी गीतमार्फत भाषा र संस्कृतिको महत्त्व र विकासका बारेमा विद्यार्थीलाई जानकारी गराए ।  श्याम सर्राफले मातृभाषाको प्रयोग गर्दा सङ्कोच नमानी यसका सकारात्मक पक्षलाई आत्मसात गर्न अनुरोध गरे ।

‘विरासतमा प्राप्त लोक धुन र लोक गीतहरूको प्रचारप्रसारमा सक्रिय भूमिका खेल्नुपर्ने जरुरी भइसकेको छ । यसले हाम्रो भाषा, पहिचान र संस्कृति संरक्षण र प्रवर्द्धनमा टेवा पुर्याउने छ’, उनले भने ।

प्रतिष्ठानकी अध्यक्ष अनिता साहले भाषा र संस्कृति जोगाउन सबैले हातेमालो गरेर अघि बढ्न जरुरी रहेको बताइन् । विद्यालय तहबाट सिकाइलाई प्राथमिकता दिएमा भातृभाषा संरक्षण र प्रवर्द्धन हुँदै जाने उनले विश्वास व्यक्त गरिन् ।

अभियान शुभारम्भ कार्यक्रममा ७० भन्दा बढी विद्यार्थीसहित सरोकार भएका व्यक्तिको सहभागिता थियो । भोजपुरी प्रतिष्ठानले आगामी दिनमा यस्ता रचनात्मक कार्यक्रमलाई निरन्तरता दिँदै जाने जनाएको छ ।
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रासस
रासस

राष्ट्रिय समाचार समिति नेपालकाे  सरकारी समाचार संस्था हाे ।

लेखकबाट थप